PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नीति तथा कार्यक्रम तयार पार्दा प्रतिपक्षलाई बेवास्ता गरियो : वाग्मतीका एमाले सांसद थपलिया



पहिलोपोस्ट

नीति तथा कार्यक्रम तयार पार्दा प्रतिपक्षलाई बेवास्ता गरियो : वाग्मतीका एमाले सांसद थपलिया

हेटौंडा : वाग्मती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता जगन्नाथ थपलियाले नीति तथा कार्यक्रम तयार पार्दा प्रतिपक्षलाई पूर्णरुपमा बेवास्ता गरिएको आरोप लगाएका छन्।

शुक्रवार प्रदेशसभामा नीति तथा कार्यक्रममाथि भएको छलफलका क्रममा बोल्दै उनले प्रदेशले आफ्नै मौलिकतामा नीति तथा कार्यक्रम तयार गर्ने भन्दा पनि संघीय सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई नै काँटछाँट गरी कर्मकाण्डी रुपमा प्रस्तुत गरिएको बताए। सवल, सुशासनयुक्त, आत्मनिर्भर र प्रविधिमैत्री प्रदेश बनाउने संकल्पका साथ आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम तर्जुमा गरिएको भनियता पनि त्यसको प्राप्ति र कार्यान्वयन कसरी हुने भन्ने कुरामा स्पष्टता नभएको उनले बताए।

उनले दुग्ध किसानहरुको प्रवर्द्धन गर्नुको सट्टा संघीय सरकारले राष्ट्रिय दुग्ध विकास बोर्डलाई खारेज गरेर विस्तारै दुधमा आत्मनिर्भर हुँदै गरेको अवस्थालाई अवरोध पुर्‍याउने काम गरेको बताए।

‘हामीलाई आशंका छ कि संघीय सरकारको यस कदमलाई पछ्याउँदै वाग्मती प्रदेश सरकारले पनि प्रदेश दुग्ध विकास बोर्डलगायत अन्य निर्देशनालयहरु पनि खारेज गर्दै त छैन? दुग्ध किसानहरुको आगामी दिनमा कसरी संरक्षण र प्रवर्द्धन गर्ने भन्ने स्पष्ट नीति तथा कार्यक्रम देखिएको छैन’, उनले भने, ‘यसमा प्रदेश सरकारको धारणाबारे जिज्ञासा राख्न चाहन्छु।’

उनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य विज्ञान विश्वविद्यालयको रुपमा विकास गर्नुपर्नेमा कुनै ठोस नीति अवलम्बन नगरिएको समेत आरोप लगाए। विकासको मोडलमा अगाडि बढ्दै समृद्ध नेपाल बनाउने राष्ट्रिय आकांक्षालाई पूरा गर्दै समाजवादतर्फ उन्मुख हुनुपर्नेमा विकास खर्च न्यून हुनुले एमालेलाई चिन्तित बनाएको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell