PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

आफ्नै नेतृत्वमा गुट बनाउने गगनको संकेत : कांग्रेसलाई घोप्टाएर तल फर्काउनुपर्ने भयो



नेत्र तामाङ

आफ्नै नेतृत्वमा गुट बनाउने गगनको संकेत : कांग्रेसलाई घोप्टाएर तल फर्काउनुपर्ने भयो

काठमाडौं : दोस्रो पटक कांग्रेसको नेतृत्वमा आएका शेरबहादुर देउवा पार्टीमा पुन सुस्ताउन थालेका छन्। गत भदौबाट केन्द्रीय समितिकै बैठक बस्न सकेको छैन। विभिन्न निर्णय गर्दा विधानले नचिन्ने पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकबाटै हुन थालेको छ। अझ महत्वपूर्ण निर्णयहरुमा पदाधिकारीलाई समेत कुनै जानकारी नदिइ गर्ने गरेको महामन्त्री गगन थापाले आरोप लगाए।

पछिल्लो केही दिनमा कांग्रेस सहभागी रहेको सरकारले केही महत्वपूर्ण निर्णयहरु गर्‍यो। तीमध्ये रेशम चौधरीको सजाय माफी प्रकरण, संसद विकास कोष ब्युँताउने निर्णय, प्रदेशमा मन्त्रालय फुटाएर भागबण्डा पुर्‍याउने र नागरिकताको विधेयक प्रमाणीकरणको विषय विवादमा आए। ती विषयमा सभापति देउवाले एकल निर्णय गरेको महामन्त्री थापाको आरोप रह्यो। 'केही दिनभित्र सरकारले गम्भीर जनचासोको विषयमा महत्वपूर्ण निर्णय गर्‍यो। एउटा आममाफीको विषयमा, अर्को नागरिकता विधेयक प्रमाणीकरणको विषय, संसद विकास कोषबारे अर्को। अर्को प्रदेशको सरकारमा कांग्रेसको सहभागिता बढाउन मन्त्रालय पनि तोडफोड गर्ने विषयमा। एउटा निर्णय सरकारले गर्‍यो भर्खर संसद विकास कोषको बारेमा। यी सबै विषयका सन्दर्भमा नेपाली कांग्रेसको पार्टी सभापतिले एक्लै गर्नुभएको निर्णय हो। यो निर्णय मैले तपाईहरुले भन्दा पछि सुनेको हुँ। यो परीपाटी गएको एक डेढ वर्षदेखि चल्दै आएको छ,' थापाले शुक्रवार काठमाडौंको थापागाउँस्थित नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा दुखेसो पोखे।

यतिमात्र हैन, पार्टीमा विधानअनुसार विभागहरु गठन हुन सकेको छैन। महाधिवेशन सकिएको ६ महिनाभित्र पार्टीका विभागहरु गठन हुनुपर्ने प्रावधान छन्। तर भर्खैर सभापति देउवाले प्रचार विभागको प्रमुख मीन विश्वकर्मालाई तोकेका छन्। यतिमात्र हैन कांग्रेसले आफ्नो कोषाध्यक्षसमेत चयन गर्न सकेको छैन। भ्रातृ संगठनको अवस्था लथालिंग छ।

नेपाली कांग्रेसमा पार्टीको केन्द्रीय समिति बोलाउनेदेखि विभाग गठन गर्ने विषयमा महामन्त्रीले सभापतिलाई सहयोग गर्न सक्ने व्यवस्था छ। तर सभापतिले सदर नगरेसम्म यो सम्भव पनि देखिन्न। केन्द्रीय समिति नडाकिएको र विभाग गठन नगरेको विषयमा आफूलाई पटकपटक प्रश्न आउने उल्लेख गर्दै थापाले यसमा सभापतिकै 'दादागिरी' हाबी भइरहेको बताए। 'केन्द्रीय समिति सभापतिले बोलाउने हो। विभाग बनाउने काम पनि सभापतिको हो,' गगनले भने। प्रेस युनियनका अध्यक्ष शिव लम्साललाई उदाहरण दिँदै गगनले भने, 'म सोध्छु शिव लम्सालले प्रेस युनियनको केन्द्रीय समिति बोलाउने हो कि महासचिव दिलिप पौडेलले?'

देउवाको दादागिरी सहन्नौं

कांग्रेस अहिले सीमित व्यक्तिको घेरावारमा खुम्चिएको गगनको गुनासो थियो। देउवा कोटरीबाट कांग्रेस चल्न थालेको र यस्तै परम्परा भोलि पनि रहने डर देखिएको उनले बताए। 'पार्टीको पद्धित नै हामीले यस्तो बनायौ कि पार्टी झन्झन थोरै मान्छेको बीचमा। हेर्नुस् त पार्टीको सभापतिले कुनै पनि विषयमा छलफल नगरे पनि हुने,' थापाले भने, 'पार्टीको केन्द्रीय समिति महिनौसम्म नबोलाए पनि हुने। भोलि म भए पनि त्यही हुने भयो नि त। परम्परा यस्तै छ भन्ने भयो नि।'

कांग्रेस अहिले देउवाको प्राइभेट कम्पनीजस्तै भएकोसमेत गगनको आरोप रह्यो। कांग्रेस सबैको पार्टी भएकोले सक्कियो भन्दै नभाग्नसमेत आग्रह गरे। 'यो भाग्ने बेला हैन। कसैको प्राइभेट कम्पनी हैन यो। कुनै पात्र बिग्र्यो भने त्यो पात्रलाई दोष दिएर बस्ने बेला पनि होइन यो। पात्र बिग्रिए बदल्ने हो नि। यो बदलिन्छ,' महामन्त्री थापाले भने, 'गणेशमानको पार्टी हो यो। बीपी कोइरालाको पार्टो हो यो। हाम्रो कांग्रेस हामी बदलेर छाड्छौ। बदलेको कांग्रेसले देश बनाउने हाम्रो संकल्प हो।'

पार्टीमा नवधनाढ्यको कब्जामा जान थालेको उल्लेख गर्दै उनले पार्टीको एक एक रुपैयाँ पनि सार्वजनिक नगरे ढाकारामहरु देखिरहने बताए। 'नवधनाढ्यहरुले हेर्नुस् त खल्तीमा धन हुनेहरुले टिकट पनि लगे। केन्द्रीय सदस्य पनि लगे। त्यस्तो नगर्न संसद विकास कोषजस्ता कार्यक्रम खारेज गरौं। प्राप्त मतको आधारमा राज्यको कोषबाट पार्टी सञचालन गर्न पाउने,' गगनले भने, 'त्योबाहेक अरुबाट केही पैसा लिन नपाउने। पार्टीको एक एक आम्दानी सार्वजनिक गर्ने। त्यसबाट कुनै ढाकाराम आउँदैन। कुनै टीकाराम आउँदैन। टीकाराम नआए अर्को आउँछ। यो कुरा कांग्रेसले बदल्ने हो। कांग्रेस नबदलिकन देश बदलिँदैन। कांग्रेस नबदलीकन निर्वाचन व्यवस्था बदलिन्न।'

कांग्रेसमा अहिले केन्द्रीकृत प्रणालीको दबदबा रहेको र 'दाइ दाइ' भन्दै पुकार गर्नुपर्ने परम्परा रहेकोप्रति व्यंग्यसमेत कसे गगनले। उनले अब कांग्रेसलाई खर्लप्पै तल फर्काउनुपर्ने अवस्था देखिएको सुनाए। 'सयौं मान्छे कांग्रेसबाट वडाध्यक्ष भएका छन्। हाम्रो पार्टी अहिले तलबाट माथितिर फर्केका छन्। त्यो भन्दा माथिको दाइलाई हेर्दा। महामन्त्रीले पनि दाइ दाइ भन्दै हेर्छौ। तलदेखि माथिसम्म दाइ दाइ दाइ। सबै माथि फर्केको छ,' गगनले भने, 'अब यसलाई खर्लप्प फर्काएर तल फर्काउनुपर्छ। अब माथि फर्काएर हेर्नै नपरोस् न। माथि फर्केको पार्टीलाई घोप्टाएर तल फर्काउनुपर्ने अवस्था भयो।'

कांग्रेसले मजाले चुनाव जितेको छ, भोटको चिन्ता नगरौं

उपनिर्वाचनपछि कांग्रेसमा कि सच्चिने कि सक्किने भन्ने ह्वीम नै चल्यो। कांग्रेस संकटमा परेको कांग्रेस नेताहरु निर्धक्क बताउँछन्। यही शैलीमा जाने हो भने २०८४ को निर्वाचनमा कांग्रेसले मतदातासमेत नपाउने कांग्रेसकै नेताले बताएका छन्। तर गगन भने यो भनाइमा सत्यता नभएको बताउँछन्। 'वडा तह, स्थानीय तह, प्रदेश तह, संघमा पनि कांग्रेसले जितेको छ। कही हाम्रो साथी मुख्यमन्त्री बन्नुभएको छ। कही मुख्यमन्त्री बन्न ढोकामा पुग्नुभएको छ। कही हाम्रो साथी मन्त्री हुनुहुन्छ। कही हाम्रो सांसद मन्त्री बन्न खुट्टा उचालेर बस्नुभएको छ। वरिपरी दुबैतिर कुहिनो ठोक्कियो भने कांग्रेसको मन्त्री जय नेपाल भन्दै जुरुक्क उठ्ला भन्ने छ,' थापाले भने, 'अर्थात अहिले संघको पनि हामी ठुलो पार्टी। प्रदेशको पनि ठुलो। स्थानीय तहमा पनि सबैभन्दा धेरै ठाउँमा जितेर आजको दिनमा नेपालमा सबैभन्दा ठूलो पार्टी हो नेपाली काँग्रेस। चुनाव भर्खर सकिएको छ। २०८४ को चुनावको चिन्ता साथीहरुले गर्नुभयो। चार वर्षपछि चुनाव आउँदैछ। अहिलेको चुनाव हामीले मज्जाले जितेका छौ।'

तर कांग्रेस पहिलो पार्टी भएर पनि अबको निर्वाचनमा हार्छु भन्ने चिन्ता उठ्नु स्वभाविक भएको उनले बताए। 'तर चार वर्षपछिको चुनाव हार्छौ भन्ने कुराले हामी चिन्तित भएका छौ। यो चिन्ता ठीक हो। सबैतिर यो प्रश्न उठेको छ। यो प्रश्न किन उठ्यो? यसको उत्तर खोज्न जरुरी छ। यसको उत्तर ग्राउन्डको साथीहरुले थाहा छ। गाउँको साथीहरुले थाहा छ। भुइँको साथीहरुलाई थाहा छ,' थापाले भने।

कांग्रेस बलियो पार्टी भए पनि कतिपय अवस्थामा आफ्नो वाचा पुरा नगर्दा कमजोर भएको उनको बुझाइ छ। 'कांग्रेस पार्टी भनेकै वर्तमानमा जे छ त्यो समस्याको म हल गर्छ। यसले मलाई राम्रो भविष्य दिन्छ। सर्वसाधारणले बुझ्ने भाषामा। कांग्रेसलाई यसरी चिनिएको रहेछ। तर आजको दिनमा कुशासन, बेथिति, भ्रष्टाचार र नेपालको लामो राजनीतिक आन्दोलनमा जुन वाचा गर्‍यो। जुन परिवर्तन आउँछ भनेर वाचा गर्‍यो त्यो नआएको अवस्था। कांग्रेसको ग्याप भनेको यो समस्याको हल कांग्रेसले गर्न सकेको छैन,' गगनले भने। यस्तो अवस्थामा पनि कांग्रेसले मत पाएको उनको दाबी रह्यो। आफ्नो वाचा पुरा गरेर जनताको विश्वास जित्नुपर्ने काम कांग्रेसले थाल्नुपर्ने गगनले सुनाए। 'आजको समस्या हल नगरेपछि भविष्यको आश गर्ने कुरा त छँदै छैन। भोट पाएको तर विश्वास गुमाएको अवस्था हो कांग्रेसको। त्यसैले भोटको चिन्ता नगरौं। विश्वासको चिन्ता गरौं,' उनले भने, 'विश्वास पाए भोट त्यसै पाइन्छ। भोट फलोज् विश्वास। विश्वासमा लिन नेपाली कांग्रेसलाई बदल्ने हो। कांग्रेस नबदलीकन विश्वास फर्केर ल्याउन सकिन्न। काम गर्ने प्रत्येक मान्छे बदलिनुपर्‍यो। सबैभन्दा पहिले कांग्रेस बदल्छु भनेर म हिँडेको छु। सबभन्दा पहिले म बदल्नुपर्छ।'

आफ्नै गुट बनाउने तयारी

सभापति देउवा अघिल्लो कार्यकालकै लयमा फर्कन लागेको भन्दै अहिले पार्टीमा संस्थापनइतरले रुपान्तरण अभियान नै चलाएको छ। पार्टी रुपान्तर अभियानमा डा शेखर कोइराला नेतृत्वका नेताहरु समेटिँदा गगन भने यस अभियानबारे चुपचाप छन्। पार्टी वृत्तमा थापा आफ्नै नेतृत्वमा नयाँ गुट निर्माणको तयारीमा लागेको बताइन्छ। १४ औं महाधिवेशनमा शेखर गुटबाटै महामन्त्री जितेका थापा मन्त्रिपरिषद्मा आफ्नो समूहबाट कोही पनि नपरेपछि रुष्ट छन्। प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषदमा ९ जना कांग्रेसबाट मन्त्री बन्दा शेखर समूहबाट उपसभापित धनराज गुरुङ र डिगबहादुर लिम्बुमात्र अटे। गगनले आफ्नो समूहबाट प्रदीप पौडेल वा जीवन परियारलाई मन्त्री बनाउने प्रयास नगरेका हैनन्।

तर शेखरले स्पेस नदिएपछि गगन आफ्नै नेतृत्वमा गुट बनाउन लागेको देखिन्छ।

गगन आफैले पनि शुक्रवार यसको छनक दिएका छन्। पार्टीमा अब दुई गुट हुने र एउटा गुटको लिड आफूले गर्ने संकेत गगनले गरेका हुन्। गुटकै कारण पार्टी कमजोर बनेको उल्लेख गर्दै परम्परागत गुट भने भत्काउनुपर्ने गगनको धारणा रह्यो। 'नेपाली कांग्रेसका प्रत्येक सदस्य कुनै न कुनै गुटसँग आवद्ध छौ। यो गुटसँग आवद्ध हुने कुरा कसैले राम्रो या नराम्रो भन्ने हैन बाइ डिजाइन। तल सीमित सदस्यता बाँडेर चुनाव गर्छौ। त्यसमा समूह बन्छ। माथिदेखि तलसम्म गुट बन्छ। गुटकै आधारमा कमिटि बन्छ। अनि विस्तारै पार्टीभन्दा पनि गुट महत्वपूर्ण हुन्छ र गुट गिरोहमा बदलिन्छ। म पार्टीको महामन्त्री भन्दा पनि मेरो लागि गुट ठुलो हुन्छ,' गगनले भने, 'गुटबाट म चुनाव जितें। मैले गुटलाई जोगाउनुपर्ने हुन्छ। उम्मेदवार कसले छान्छ गुटले। गुटको प्रमुखले। दाइ भए भाइ छान्छ। आमा भए छोरा छान्छ। आफैलाई छान्ने हो। त्यसलाई अब भत्काउनुपर्छ। गुट भत्काउनुपर्छ। देशभरका साथीहरुमा म यसबारे बुझ्न जान खोजेको। तहतहमा कांग्रेसको उम्मेदवार दाइहरुले छान्ने हैन। २०८४ को उम्मेदवार अब पार्टीको आम साथीहरुले छान्ने हो। अब मलाइ कुनै गुटले उम्मेदवार बनाउने छैनन्। त्यसपछि म गुट भत्काउन लाग्छु।'

यी गुट भत्काएर दुई गुटको कांग्रेस बन्ने गगनले बताए। 'अब कांग्रेस बदल्नु छ। बदल्नु भनेको गुटहरु भत्काउनुछ। जम्मा दुई वटा गुट राख्नुछ। काँग्रेसमा अब दुईवटा गुट हुन्छ। काँग्रेस बदल्ने एउटा गुट, बदल्न रोक्ने अर्को गुट,' गगनले भने, 'बदल्ने गुटलाई बलियो बनाउँदै जाउ। बदल्न रोक्ने गुटलाई कमजोर बनाउँदै जाउँ। बदलेमा मन बदलेका मान्छेहरु मत बदलेका मान्छेहरु फर्केर कांग्रेसमै आउँछन्।' यसअघि गगनले कांग्रेस बदल्न आफू लाग्ने बताएका थिए। 'आजको समस्या हल गर्न नसकेर विश्वास गुमाएको मात्र हो काँग्रेसले। भोट पाएको तर विश्वास गुमाएको पार्टी। विश्वास पुनर्स्थापनाका लागि काँग्रेसलाई बदल्ने हो। म काँग्रेस बदल्ने भनेर लाग्दा म आफै बदलिनुपर्छ,' गगनले नयाँ गुट चलाउने तयारीबारे आफ्नो भनाई यसरी पोखे।

संसदीय दलको नेतामा सभापति देउवासँग पराजित भएसँगै थापा आफ्नै गुट निर्माणतिर लागेको बताइन्छ। ‘आफ्नै गुटको मत नआएपछि थापा शेखरसँग रुष्ट देखिएको त्यतिबेलादेखि नै हो,’ गगननिकट एक नेताले भने।

शेखर र गगनको टकरावका कारण अहिले संस्थापनइतर समूह कमजोर बनेको छ। देउवाले नौ महिनायता केन्द्रीय समिति नबोलाउँदासमेत संस्थापनइतरका नेताहरु चुइक्क बोल्न सकेका छैनन्। यही मेसोमा संस्थापनइतरले कांग्रेस रुपान्तर अभियान सुरु गरेको छ। यस अभियानमा न त शेखर देखिएका छन् न त गगन नै। मधेस प्रदेश र बागमती प्रदेशमा रुपान्तर भेला सक्दा देउवाको नेतृत्वमा पार्टी रुपान्तरण हुन नसक्ने निष्कर्ष निस्केको छ। यस अभियानमा केन्द्रीय सदस्य मधु आचार्य, रञ्जित कर्ण, गुरु घिमिरे, प्रा.डा. गोविन्द पोखरेललगायत देखिएका छन्। गगन पक्षले आफ्नो टिमबाट साथ नरहेको भने पनि शेखर समूहले यसबारे मुख खोलेका छैनन्।

महामन्त्री थापाले पार्टीमा देउवाको एकल निर्णय पटकपटक सहेको उल्लेख गर्दै अब सहन नसक्ने बताए। यतिमात्र हैन, गगनले पार्टीमा नयाँ भूमिकाका लागि नेताहरुलाई तयारी अवस्थामा रहनसमेत आग्रह गर्न भ्याए। 'मैले अहिलेसम्म मान्दै आएँ। मैले सहँदै आएँ। पार्टी सभापति बहुमतमा हुनुहुन्छ। सभापतिले कुनै न कुनै मिलाउनुहोला। अब मैले बदल्ने भनेको नसहने हो। जुन कुराले पार्टीको अहित गरिरहेको छ। पार्टीको आधारभूत मान्यतासँग बाझिने गरी गरिएका जुन निर्णयहरु छन्। ती निर्णयको भारी बोक्ने क्रमलाई रोक्ने हो। लडेर रोक्ने हो, जुधेर रोक्ने हो। यसलाई रोक्नुपर्नेछ। अब काम गर्ने तरिकालाई बदल्छु। पार्टीका नयाँ साथीहरुलाई नयाँ भूमिका लागि तयार रहनुपर्छ भन्ने म ठान्दछु,' गगनले भने।

थापालाई ककसको साथ?

गगनलाई यसपटक अर्का महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले साथ दिने देखिन्छ। अर्का केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पनि गगनका साथमा छन्। अरु नेताहरु भने गगनको पक्षमा खुलेका छैनन्। गुट निर्माणमा लागे पनि यो रुपान्तरणको अभियानमात्र भएको गगन पक्षधर नेताको दाबी रह्यो। ‘कांग्रेस सकिएकै गुटले हो। त्यसैले पहिले पार्टी जोगाउन हाम्रो अभियान हो,’ ती नेताले भने।

कांग्रेसमा गिरिजाप्रसाद कोइरालाले निर्माण गरेको कोइराला गुट र कृष्णप्रसाद भट्टराईले निर्माण गरेको अर्को गुट यथावत् रहेको छ। कोइराला गुटको नेतृत्व सुशील कोइराला हुँदै अहिले डा. शेखरले सम्हालेका छन्। यो गुटलाई रामचन्द्र पौडेलले नेतृत्व गर्न खोजे पनि नसकेपछि अहिले उनी शितलनिवासमा साइड लागेका छन्। यता कृष्णप्रसाद भट्टाई गुटको नेतृत्व भने देउवाले सम्हालेका छन्।

यो बीचमा कृष्णप्रसाद सिटौलाले थर्ड पोलका रुपमा आफूलाई उभ्याएका थिए। युवा नेताहरुलाई काखी च्याप्दै महाधिवेशनमा चर्चामा आउने सिटौलालाई एकपछि अर्को नेताले छाडेपछि उनी अहिले गुपचुप छन्। १३औं महाधिवेशनमा गगनलाई उचाई दिएका थिए सिटौलाले। १४औं महाधिवेशनमा गगन शेखर गुटतिर लागे। त्यसको झोंकमा प्रदीप पौडेललाई काखी च्यापेका सिटौला अहिले फेरि रित्तिएका छन्। महामन्त्रीमा हारेका पौडेललाई देउवाले काठमाडौं ५ बाट जिताएर मन्त्री बनाउने तयारी गरेका थिए। तर, पौडेल आफै सिटौला गुट छाडेर गगनको लाइनमा उभिए। यो सँगै प्रदीपलाई देउवाको किचेन टिममा प्रवेश दिइएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell