PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

वाग्मती प्रदेश सरकारले फजुल खर्च हुने काम गर्दैन : मुख्यमन्त्री जम्मकट्टेल



पहिलोपोस्ट

वाग्मती प्रदेश सरकारले फजुल खर्च हुने काम गर्दैन : मुख्यमन्त्री जम्मकट्टेल

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सरकराले फजुल खर्च गर्ने खालका कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको छलफलमा सांसदहरुले उठाएको प्रश्नहरुको सत्तापक्षको समर्थन सहित रचनात्मक सुझाव र प्रतिपक्षको आलोचनात्मक सुझावहरु आएको भन्दै वाग्मती प्रदेश सरकारले विवाद हुने काम नगर्ने दावी गरे।

नीति तथा कार्यक्रम उत्कृष्ट भएको दावी गर्दै मुख्यमन्त्री जम्मकट्टेलले अघिल्लो वर्षहरुको नीति तथा कार्यक्रम भन्दा सबै भन्दा उत्कृष्ट भएको दावी गरेका हुन्।

मुख्यमन्त्री जम्मकट्टेलले तीन तहको सरकारबीचको समन्वयलाई जोड दिएर नीति तथा कार्यक्रम ल्याएको भन्दै हचुवाको आयोजना भन्दा पनि नीति नै बनाएर ल्याउने तयारी गरेको बताए।

‘सबै आयोजनाहरुलाई हामि प्रदेशको गौरवको आयोजना भन्न सकिदैनौं। अब यस्को नीति बनिसकेपछि यस्मा प्रष्टै लेखिएको छ मापदण्ड तर्जुमा गरिने छ भन्ने कुरा,’ मुख्यमन्त्रीले भने, ‘त्यसको लागत कति र त्यसले आर्थिक राजनीतिक क्षेत्रमा पार्ने सामाजिक क्षेत्रमा पार्ने प्रभावहरुलाई हेरेरमात्रै प्रदेश गौरवको आयोजनाहरु स्वीकृत गर्छौ।’

मुख्यमन्त्री जम्मकट्टेलले राजश्वको दायराहरुलाई फराकिलो बनाउने कुरा नीति तथा कार्यक्रममा प्रष्टसँग बोलिएको भन्दै स्वास्थ्यका क्षेत्रमा सबै हिसाबले सुदृढ गर्ने नीति प्रदेश सरकारले अगाडि सारेको बताए। उनले ‘एक विद्यालय एक नर्स ’ कार्यक्रम सबै माध्यमिक विद्यालय कार्यान्वयन गर्ने कार्यक्रम पनि ल्याएको बताए।

उनले विशेषगरी सामुदायिक विद्यालयसँग सम्बन्धित नीति बनाउनेगरी सरकार अगाडि बढेको भन्दै त्यसको निम्ति समिति बनेको जानकारी दिए। मुख्यमन्त्री जम्मकट्टेलले कृषिको उत्पादन बढाउनको निम्ति सबै किसानहरु उत्पादनमा सहभागी हुने वातावरण सिर्जना गर्नुका साथै बजारीकरण गर्ने खालका कार्यक्रम समेटिएको दावी गरे।

उनले श्रम, रोजगार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात क्षेत्रको कार्यक्रम धेरै भएको भन्दै श्रमको क्षेत्रमा नयाँ कार्यक्रमहरु बजेटमा ल्याउने र विद्युतीय गाडी दर्ताको प्रकृया अगाडि बढेको उल्लेख गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell