पोखरा : उमेरले ८५ काट्यो। नरसुब्बा गुरुङ बिहे गरेर घान्द्रुक आएकै ६० वर्ष बित्यो। तनबीस लामो कालखण्डमा नरसुब्बाले गाउँमा परिवर्तन देखिन्। बसाइँसराइँ देखिन्। गाउँको दु:ख भोगिन्। समयले कोल्टे फेरेको साक्षी बनिन्। मेलापातमा उकाली ओराली गरिन्। विगतका ती दिन सम्झदा नरसुब्बालाई अझै पनि गह्रौं लाग्छ।
खेती किसानी घान्द्रुकवासीको दैनिकी थियो त्यसबेला। कहिले कसो गाउँमा पर्यटक झुल्किए पनि होटल थिएनन्। पर्यटनमा भन्दा मेलापातमै रमाउँथे गाउँले। विसं २०२० सालमा नरसुब्बा घान्द्रुक आएपछि मात्र हो होटल सञ्चालनमा आएको।
पहिलोपटक घान्द्रुक आएको सम्झिँदै उनले भनिन्, ‘खेती थियो। जौ थियो। घान्द्रुकमा धान पाउँदैन भनेको त यस्तो धान पाउने ठाउँ रै'छ। पहेँलै थियो। पछि के रै'छ भनेको त गहुँ र जहुँ रै'छ। तोरी छरेको र'छ। सबै खेती थियो। गाईभैँसी भेँडा। एउटैले दुई तीन सय भेडा पाल्थे। म आएपछि हो होटल गर्न थालेको।’
समयसँग फेरिन थाले दृश्यहरु। घान्द्रुकको मौलिकताले पर्यटकलाई तानिरहेको थियो। बिस्तारै बढ्न थाल्यो पर्यटकको चाप। अन्नपूर्ण संरक्षण क्षेत्रको प्रोजेक्टले अरु फाइदा थप्यो। खेती किसानी गर्ने गाउँले पर्यटन व्यवसायी हुन थाले।
त्यसपछि भने धेरथोर बसाइँसराइँ रोकियो। कोही पोखरा झरे। कोही लाहुर। गाउँमा रहेका चाहिँ पर्यटनमै लागे- कहिलेकसो आउने पर्यटकलाई पर्खिएर। घान्द्रुकका ढुंगे घरले पर्यटक आर्कषित हुन थाले। हिमाली प्रकृतिमा रमाउन चाहनेका लागि प्रस्थानविन्दु हो घान्द्रुक।
पर्यटनले गाउँमा विकास ल्यायो। अन्नपूर्ण रुटमा पर्ने घान्द्रुक पदयात्राका लागि मुख्य विन्दु नै हो। जहाँ मोटरबाटो पुगेको पनि धेरै भएको छैन। केहीवर्ष अघिमात्र घान्द्रुकसम्मै सडक सञ्जाल जोडियो। पदमार्गमा पुर्याइएको सडकको पक्ष र विपक्षमा उभिए मानिसहरु। पर्यटकको चाप घट्ने अड्कलबाजी चल्यो। तर, व्यवसायीले अनुभव गरेका छन्- सडकको सुविधापछि गाउँमा बढेको आन्तरिक पर्यटकको चाप।
पर्यटकको चापसँगै घान्द्रुकको मौलिकता हराउँदै छ। आकर्षणको केन्द्रमा रहेका ढुंगे घर क्रंकिटमा परिणात हुँदैछन्। जे भइरहेको छ त्यसलाई नरसुब्बा फरक ढङ्गले हेर्छिन्।
‘अहिले त स्वर्ग जस्तो भयो। दु:ख थियो। अहिलेका भाग्यमानी। यस्तो सुख सुविधा पाउने!’, उनले विगतलाई सम्झिँदै तुलना गरिन्, 'ढुंगे घर थियो तर सानसानो। यस्तो ढलान घर हुन्छ भन्ने कसलाई थाह थियो र?’
घान्द्रुकका घर शहरतिरको जस्तै भएकोमा उनी खुशी सुनिइन्। ‘अहिलेका भाग्यमानी - यस्तो देख्न पाउने। भारी बोकेर हिँड्न पर्ने थियो। पहिले बाटो थिएन,’ उनले भनिन्।
पर्यटकको चापसँगै ठडिन लागेको ढलान घर देखेर धेरैले भन्छन्— घान्द्रुकको मौलिकता हरायो। पर्यटकका प्रश्नले गाउँलेलाई पनि सोच्न बनाएको घान्द्रुकका व्यवसायी किसम गुरुङ स्वीकार्छन्।
‘लाहुरे’ संस्कृतिमा भिज्न रुचाउँछ घान्द्रुक। गाउँका प्राय लाहुरे। कोही पोखरा त कोही विदेश। गाउँमा युवा छैनन्। गाउँका काठे र ढुङ्गे घरमा मानिस नबसे किरा लाग्ने। मर्मत गर्न उत्तिकै खर्चिलो।
‘त्यस बेलाको राम्रो थियो। पुराना घर भत्काएर नयाँ घर बनाउँदा दु:ख लाग्छ नि’, किसम भन्छन्, ‘बुबा आमा बस्नुहुन्थ्यो, आगो बाल्नुहुन्थ्यो। काठमा किरा लाग्थेन। अहिले ढुंगाले छाउने घरमा किराले खाने समस्या आएको छ। आगो नबालेपछि किरा लाग्दो रहेछ।’
उनका अनुसार छानोमात्र मर्मत गर्न सामान्यतया १२/१५ लाख खर्च हुन्छ। ‘त्यसका आयु धेरै भए २५ वर्ष। फेरि हाल्नुपर्छ,’ उनी भन्छन्।
कंक्रिटको घर छिटो र सस्तोमा तयार हुने। सोचे अुनसार बनाए पर्यटक चाहे जति अटाउने पनि सकिने।
किसम आफैँ पनि गाउँ छोडेर हिँडेका थिए एकफेर। पछि उनलाई लाग्यो- बाहिर भाँडा माझ्नुभन्दा घरमै माझौँ। त्यतिन्जेल गाउँमा पाहुना सत्कार आफैँमा व्यवसाय बनिसकेको थिएन। किसम चाहन्थे व्यवसायिक होस्।
पूरै २५ वर्ष भयो किसम गाउँमा बसेर घान्द्रुक कटेज सञ्चालन गर्न थालेको। यहाँ पुग्ने प्राय पर्यटकको रोजाँइमा पर्छ उनको कटेज। घान्द्रुकको मौलिकता झल्काउने गरी किसमले २६ वर्ष अगाडि बनाएको घर छ जसलाई आज पनि उस्तैगरी सम्हालेर राखेका छन् उनले।
‘२६ वर्ष अघि बनाएको घर हो। मैले यसलाई पछि फरक पनि बनाउन सक्थेँ। आफ्नो मौलिकता जोगाउनुपर्छ भनेर राखेको हुँ’, उनले भने, ‘अहिले यसखाले मौलिकता जोगाउनुपर्नेमा सबैको एकमत छ तर खोई चाँजोपाँजो मिलिराखेको छैन।’
यसै विषयलाई लिएर गाउँपालिकामा सल्लाह नगरेका होइनन् उनले। उनलाई थाहा छ विविध कारण र समस्या। उनलाई लाग्छ गाउँपालिकाको निर्देशन भए मानिसहरु नियममा बस्थे कि? त्यसका लागि उनी उदाहरण दिन्छन् – भक्तपुर र बन्दीपुरको।
ध्रुव गुरुङले घान्द्रुकमा होटल सञ्चालन थालेको ४० वर्ष भइसक्यो। भेडा पाल्ने उनी गाउँमा पर्यटकको आगमन बढ्न थालेपछि पुरानो व्यवसाय छाडेर यसतर्फ तानिए।
अहिले घान्द्रुक नयाँ र पुरानो गाउँमा विभाजित भइसकेको छ। मुख्य घान्द्रुकको पछाडि लुकेर बसेको छ गैरी गाउँ। यहाँ मौलिक घर जस्ताका तस्तै छन्। ध्रुव पनि आग्रह गर्छन् घर मर्मत गर्दा त्यसको मौलिकता नबिगारिउन्। तर, आउने आन्तरिक पर्यटकले बढी सुविधा खोज्छन्। पर्यटककै सुविधा पूरा गर्न घान्द्रुकले मुहार फेरिरहेको छ।
‘जब बाटो आयो घान्द्रुकमा पर्यटक धेरै आए। सुत्ने कोठा पनि पाएनन्। सुविधा खोज्न थाले। काठ महँगो पर्यो, ब्लक छिटोछरितो भयो’, उनले सुनाए, ‘हामीलाई पीर छ। गाउँपालिकामा पनि कुरा राखेका छौँ। बाहिर ढुंगाले छाउनुहोस् भनेर सुझाउँछौं पनि। अस्तित्व हरायो भने कथा जस्तै हुन्छ यो ठाउँ।’