PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

अन्नदाता बनिरहेको अन्नपूर्णको संरक्षणमा जलवायु परिवर्तन प्रमुख समस्या



पहिलोपोस्ट

अन्नदाता बनिरहेको अन्नपूर्णको संरक्षणमा जलवायु परिवर्तन प्रमुख समस्या

पोखरा : अन्नपूर्ण हिमाल सफल आरोहणका लागि चुनौतिपूर्ण मानिन्छ। यसलाई ‘जेठो हिमाल’ भनेर पनि चिनिन्छ। कारण आठ हजारभन्दा माथिको हिमालको प्रथम सफल आरोहण अन्नपूर्णकै भएको थियो।

१९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्णको सफल आरोहण गरेका थिए। त्यसको दुई वर्षपछि एडमन्ड हिलारी र तेजिङले सगरमाथाको सफल आरोहण गरेका हुन्।

यो सफलतापछि नेपालमा हिमाल आरोहणका लागि पर्यटकीय गतिविधि बढेको मानिन्छ। तर पनि अन्नपूर्णमा आरोहणको पर्यटकीय गतिविधि प्राय हुँदैनन्।

अन्नपूर्ण आरोहणको सफलता दर पनि कम छ। अग्लो चुचुरोमा आजसम्म हजारौँभन्दा बढी मानिसले सफल आरोहण गरिसक्दा अन्नपूर्णमा ५ सय हाराहारी मानिसले आरोहण गरेका छन्।

सन् २०२१ सम्म तथ्यांक हेर्दा अन्नपूर्णमा जम्मा ३ सय ९ जनाले सफल आरोहण गरेका छन्। अप्रत्याशित मौसम, हिमपहिरोको जोखिम र यसको बनावट लगायतका कारण अन्नपूर्ण आरोहणको सफलता दर अन्य हिमालको भन्दा कम छ।

परिवर्तन भइरहने मौसमले आरोहणमा थपिदिने प्राविधिक चुनौतीका कारणपनि दक्ष पर्वतारोही मात्र अन्नपूर्ण चढ्ने प्रयास गर्छन्।

यहीँ चुनौतीका कारण गण्डकीले अन्नपूर्णमा आरोहीलाई भित्र्याउन सकेको छैन। उसो त उत्कृष्ट गन्तव्यमध्येको एक पर्ने अन्नपूर्ण पदमार्गमा पर्यटक नपुग्ने होइनन्। तर पनि यसको प्रचार र सुविधा तथा सहजतामा गण्डकी प्रदेश सरकार चुकिरहेको छ।

यसलाई प्रदेशवासीको दैनिक जीविकासँग जोड्न नसकेको ठान्छन् पर्वतारोहण संघ गण्डकीका अध्यक्ष शेषकान्त शर्मा।

‘गण्डकी प्रदेशको समृद्धिको आधार बन्नुपर्ने थियो। मनास्लु, लाप्राकमा ३ सय जना बढी पथप्रर्दशक छन्। तर यो क्षेत्र चर्चामा आउन सकेन। प्रदेशको जनजीविकासँग जोड्न सकेनौँ कि!,’अध्यक्ष शेषकान्तले भने।

अन्नपूर्णको सफल आरोहण भएको शनिवार ७३औँ वर्ष पूरा भयो। यहीँ अवसरमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले ‘पर्वतीय पर्यटनमा पर्वतारोहणका चुनौतीहरू’विषयमा अन्तरक्रिया कार्यक्रम राखेको थियो।

सोही कार्यक्रममा बोल्दै पर्वतारोहण संघका अध्यक्ष निमानेरु शेर्पाले अबको पुस्ता आरोहण सुधारमा लाग्नुपर्ने धारण राखे।

‘यो पर्वतारोहण एक्कासी भएको व्यवसाय होइन। हिसाबकिताक राख्ने हो भने चौथौ पुस्ता कुदिरहेका छौँ। कतिले हिमाल चढेर नेपाललाई चिनाउनु भएको छ। चार पुस्ताको योगदान छ। अब चाहिँ कसरी सुधार हुन्छ भनेर लाग्नुपर्छ हामी लाग्नुपर्छ,’उनले भने।

पर्वतीय पर्यटनका लागि जलवायु परिवर्तन प्रमुख समस्या हो। जलवायु परिवर्तनका कारण हिमाल पग्लिरहेका छन्। अन्नदाता बनिरहेको हिमाललाई न्याय दिनुपर्ने बताउँछिन् पर्यटन व्यवसाय लक्की कार्की।

‘अन्नपूर्ण हिमालले जति दिएको छ। यसलाई हामीले टाउकोमा लगाएको छ। यो मुकुटलाई कसरी संरक्षण गर्ने? क्लाइमेट चेन्जले पर्यटन व्यवसाय धरायसमा पर्छन्। अन्नपूर्ण मात्र होइन। सबै हिमाललाई न्याय दिने काम गर्नुपर्छ। क्लाइमेट जस्टिसको लागि काम गरौँ,’उनले भनिन्।

गण्डकीको समृद्धि रहेको अन्नपूर्णलाई संरक्षण गर्नुपर्ने बताउँछन् पर्यटन परिषद् अध्यक्ष पोम नारायण श्रेष्ठ पनि। अन्नदाता रहेको अन्नपूर्णको विस्तार र संरक्षणमा ध्यान दिने बताउँछिन् गण्डकीकी सामाजिक विकासमन्त्री सुशीला सिमखडा।

‘यस क्षेत्र, पोखरालाई चिनाउने जुन आरोहण छ यो हाम्रो गहना हो। गौरवलाई कसरी संरक्षण गर्न सक्छौँ। यसको विस्तार र विकास गर्न सक्छौँ। यो हाम्रो अन्नदातापनि हो। यसमा हामी काम गर्नु आवश्यक छ,’उनले भनिन्।

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell