बैंकक: अन्तर्राष्ट्रिय तामाङ परिषदको पाचौं सम्मेलन थाइल्याण्डको बैंकक सहरस्थित हुहाइनमा सुरु भएको छ। सम्मेलनमा १७ मुलुकका १९ सदस्य संस्थाहरुको तर्फबाट प्रतिनिधिहरुको सहभागिता रहेको छ।
विश्वभरी छरिएर रहेका तामाङलाई एकताको सुत्रमा बाधिराख्न यो सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामाले जानकारी दिए। विश्वका विभिन्न देशमा क्रियाशिल रहेका तामाङ संघ संगठनहरुलाई समन्वय गरी संसारभरि छरिएर रहेका तामाङ जातिहरुका बीच भातृत्व, सद्भाव र सहकार्यको संस्कृतिलाई विकास गर्दै तामाङ समाजको हक हित र समुन्नतिका लागि संगठित गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय तामाङ परिषद् गठन भएको उनले बताए।
तामाङ जातिको भाषा,लिपि,धर्म,संस्कृति आदिको संरक्षण र सम्बद्र्धन, सामाजिक एवंम् आर्थिक समुन्नति, साझा हकहित र विकास, आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक उन्नयन, वातावरण तथा दिगो विकासमा ठोस योगदान, नागरिक तथा मानव अधिकारको प्रवर्द्धन, तामाङ समाजमा सशक्तिकरण र जागृति फैलाउन, मैत्रीत्व, भातृत्व, सद्धभाव र सहकार्यको संस्कृति फैलाउन विश्वका तामाङ संघ संस्थाहरुबीच आवश्यक समन्वयसमेत तामाङ परिषदले गर्ने संस्थापक अध्यक्ष परशुराम तामाङको भनाइ छ।
तामाङ समाज थाइल्याण्डको व्यवस्थापनमा सुरु भएको सम्मेलन २ दिनसम्म चल्ने छ। सम्मेलनले विधान संशोधनलगायत विश्व कार्ययोजना र समसामायिक प्रस्तावहरु समेत पारित गर्ने छ।
संशोधित विधानअनुसार नयाँ बन्ने कार्यसमिति निर्माण हुने छ। अहिले सम्मको अभ्यास अनुसार कार्यक्रम आयोजक राष्ट्र नै संस्थाको अध्यक्ष हुने छ। यसअघि भारतको अध्यक्ष रहेकोमा अव थाइल्याण्डको अध्यक्ष रहनेछ।
सम्मेलनमा थाइल्याण्ड, नेपाल‚ जापान‚ म्यानमारका प्रतिनिधिहरू नेपाल, भारत‚ अमेरिका‚ कोरिया‚ हङकङ‚ बहराइन‚ युएई‚ पोर्चुगल‚ रोमनिया, माल्टा, थाइल्याण्ड, बर्मा, जापान, बेल्जियम, मलेसिया, कतार र इटालिका तामाङहरुको सहभागिता रहेको छ। परिषदको सन् २००२ डिसेम्बरमा पहिलो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना भएको थियो। विषेश गरेर सम्मेलन नेपाल र भारतमा मात्र हुँदै आएकोमा पहिलो पटक तेस्रो मुलुकमा आयोजना भएको हो।