PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गेरुवस्त्रबारे प्रचण्डको प्रष्टीकरण : कतिपयलाई यस्तै वस्त्र लगाएर कमन्डलु नै लिएर हिँडे पनि हुन्थ्यो भन्ने लाग्या होला



पहिलोपोस्ट

गेरुवस्त्रबारे प्रचण्डको प्रष्टीकरण : कतिपयलाई यस्तै वस्त्र लगाएर कमन्डलु नै लिएर हिँडे पनि हुन्थ्यो भन्ने लाग्या होला

काठमाडौं : चार दिने भ्रमण पुरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोली स्वदेश फर्केका छन्। बुधवार पाँचमन्त्रीसहित प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका थिए। यसपटकको भारत भ्रमण निकै नै परिणाममुखी भएको प्रधानमन्त्री प्रचण्डले बताए। त्रिभुवन विमानस्थलमा भारत भ्रमणबारे जानकारी दिँदै प्रचण्डले भने, 'सीमासम्बन्धी पनि विषेश कुराकानी भएको छ। यसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा भएको छ। भारतीय प्रधानमन्त्रीबाट सीमासम्बन्धी सकारात्मक सम्बोधन भएको छ। यो भ्रमण परिणाममुखी भयो।'

दाहालले यसपटकको भ्रमण आफूले सोचेको कुराहरुसमेत पुरा भएको दाबी गरे। 'यसपटक मोदीजीसँग खुला मनले कुरा भयो। मैले सोचेको कुराहरु पुरा भएको छ। यो आफैमा महत्वपूर्ण हो,' प्रधानमन्त्री दाहालले भने।

प्रेस मिटमा प्रधानमन्त्री दाहालले सात वटा विषयमा सम्झौता भएको उल्लेख गर्दै विगत चार वर्षदेखि हुन नसकेको पारवाहन सन्धिसमेत भएको बताए।

गेरुवस्त्रबारे प्रचण्डको प्रष्टीकरण यस्तो

प्रधानमन्त्री दाहालले आफूले लगाएको गेरुवस्त्रबारे चर्चा भएको भन्दै यसको प्रष्टीकरणसमेत दिए। 'उज्जेन गएर नयाँ बस्त्र पहिरेको कुरा रह्यो। नयाँ अवतार हैन। यो पुरानै अवतार हो। केही नयाँ ठान्नुपर्दैन यसलाई म मुस्लिम कम्युनिटीमा गएर मुस्लिम टोपी लगाएको देख्नुभएको छ होला नि,' दाहालले भने, 'क्रिस्चियनको गिर्जाघरमा प्रार्थना गरेको देख्नुभएको छ होला न। बुद्धिस्टको लुम्बिनीमा गएर त्यतिकै सहभागी भएको छु। अनि हिन्दुकोमा चै जान नहुने र अरुकोमा जान हुने भन्ने हुन्छ र?'

दाहालले आफू कम्युनिस्टमात्र नभएर प्रधानमन्त्री भएकोसमेत बताए। 'म मनैले धर्मनिरपेक्षतावादी हुँ। यो भनेको धर्मविरोधी होइन नि। सबै धर्मलाई सामान व्यवहार गरोस् राज्यले लाखापाखा नगरोस् भन्ने हो,' उनले भने, 'इन्दोर जाने। अनि उज्वेनमा पनि। महाकालेश्वर। महाकाल कालको पनि काल। धार्मिक पर्यटन विकास हुन्छ। हेर्न पूजा गर्न त्यहाँ मान्छे जान्छन्। म त कम्युनिस्टमात्र हैन नि। प्रधानमन्त्री पनि हो नि।'

आफ्नो सुरक्षाकर्मीले गेरुवस्त्र लगाउन नपाए हुन्थ्यो भनेर प्रयास गरेपनि प्रोटोकलले नदिएको प्रचण्डको भनाइ थियो। 'सेकुरिटीले सकेसम्म गेरुवस्त्र नलगाउन प्रयास गरेका थिए। तर प्रोटोकल नै रहेछ। नलाएको भए धेरैको मन चिसो हुन्थ्यो नि,' उनले भने, 'कतिपयलाई गेरु वस्त्र लगाएर कमन्डलु लगाएर हिँडे पनि हुन्थ्यो भन्ने लाग्यो होला। तर म हिड्ने वाला छैन। यसलाई सांस्कृतिक रुपमा बुझ्नदिनुपर्‍यो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell