PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

बौद्ध धर्मसम्बन्धी तीन पुस्तक सार्वजनिक



पहिलोपोस्ट

बौद्ध धर्मसम्बन्धी तीन पुस्तक सार्वजनिक

काठमाडौं : बौद्ध धर्मसँग सम्बन्धित तीन पुस्तक एकसाथ सार्वजनिक गरिएको छ। ‘ञ्युङने साधना लाभ तथा अनुभूति वर्णन’, ‘पारमितायानको मार्ग साधना’ र ‘समग्र धर्मपाल संक्षिप्त बलिविधि’ नामक पुस्तक शनिबार एक समारोहबीच पूर्वयुवा तथा खेलकुदमन्त्री दावा तामाङले सार्वजनिक गरेका हुन्।

जोङ्सर बौद्ध महाविद्यालयको महाउपाध्यय (खेन्छेन) कुन्गावाङ्छ्युक रिन्पोछेले भोटभाषा (सम्भोटा) मा लेखेको ञ्युङने (साधना लाभा तथा अनुभूति वर्णन) र पारमितायानको मार्ग साधना तथा विद्याधर ग्युर्मेदोर्जेले लेखेको समग्र धर्मपाल संक्षिप्त बलिविधि स्तुतिगान नामक पुस्तक नेपाली भाषामा अनुवाद गरी प्रकाशनमा ल्याइएको छ। यी पुस्तकको प्रकाशन बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप केन्द्रले गरेको हो। अनुवाद जेचुन साङ्गे खाण्डो रिन्पोछे, खेन्पो पाल्साङ नोर्बु बोम्जन लामालगायतले गरेका छन्।

ञ्युङनेले साधना विधि प्रस्टयाउनुका साथै दुर्लभ मानवजीवनलाई कुशल कर्म सञ्चयमा खर्चिंदै बोधिचित्तोत्पादको मार्गप्रशस्त गर्न सघाउ पुर्‍याउने प्रकाशकको भनाइ छ। बोधिचित्त अभ्यासको प्रसंगसँगै ‘स्व’ र ‘पर’को भावनाबारे सरल व्याख्या रहेको समग्र धर्मपाल संक्षिप्त बलि विधिमा बुद्धरत्न, धर्मरत्न र संघरत्नको संक्षिप्त चिनारी समेटिएको छ। यसैगरी समग्र धर्मपाल सङ्क्षिप्त बलिविधिमा बाहिरी भित्री र गुह्य लगायतका विपत्ति, विघ्न, बाधाहरूका समनविधि बारे सरल व्याख्या रहेको छ। प्रकाशित पुस्तकहरूमाथि अभियन्ता तथा बौध्ददर्शनका अध्येता बुद्धि तामाङ साथै राजनीतिक विश्लेषक एवं पूर्वीय दर्शनका अध्येता बुद्धछिरिङ मोक्तानले टिप्पणी गरे। कार्यक्रममा एआइजी टेकबहादुर तामाङ लगायत प्रकाशित पुस्तकहरूलाई छपाउन आर्थिक सहयोग गर्नुभएका दान दाताहरूलाई सम्मान समेत गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell