PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रधानमन्त्रीले भारतबाटै राष्ट्रपतिमाथि दोष थुपारेकोमा बास्कोटाको आपत्ति, गेरु अवतारमा टिप्पणी : नारायण पोखरेलले कतैबाट हेर्दै होलान्!



पहिलोपोस्ट

प्रधानमन्त्रीले भारतबाटै राष्ट्रपतिमाथि दोष थुपारेकोमा बास्कोटाको आपत्ति, गेरु अवतारमा टिप्पणी : नारायण पोखरेलले कतैबाट हेर्दै होलान्!

काठमाडौं : पूर्वमन्त्री गोकुल बास्कोटाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपति रामचन्द्र पौडेलमाथि थोष थुपारेकोमा आपत्ति जनाएका छन्। विदेशी भूमिमा पुगेर राष्ट्रपतिको निर्णयमाथि बोल्नु कुटनीतिक हिसाबले ठीक नभएको बास्कोटाको भनाइ थियो।

प्रचण्ड सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधवार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्। विधेयक प्रमाणीकरण हुनसाथ प्रधानमन्त्री प्रचण्डको टोली चारदिने भारत भ्रमणमा निस्किएका थिए। काठमाडौं भने नागरिकता प्रमाणीकरणको विषयले तातिरह्यो। नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले यसको विरोधमा जुलुस प्रदर्शन गर्दा सत्ताधारी पार्टीले भने स्वागत गर्‍यो राष्ट्रपतिको कदमको। प्रधानमन्त्रीको टोली शनिवार काठमाडौं फर्किसकेका छन्। भारत भ्रमणको क्रममा प्रधानमन्त्रीले राष्ट्रपतितिर दोष लगाउनु ठीक नभएको सांसद बास्कोटाको तर्क रह्यो। 'म त सल्लाह गर्दैथिएँ। राष्ट्रपति पौडेलले भनेर फेरि भन्या छ भारतबाटै प्रधानमन्त्री प्रचण्डले। फेरि प्रश्न उठेको छ। विदेशी भूमिमा बसेर राष्ट्रपतिले मलाई झुक्यायो भन्नु नट अ जोक,' बास्कोटाले पहिलोपोस्टसँग भने, 'डिप्लोमेटिकल्ली पनि यो ठीक भएन। प्रचण्डले त्यहाँ बसेर भन्नु।'

यसबारे सरकारले तुरुन्तै एक्सन लिनुपर्ने धारणा उनको थियो। 'त्यसको एक्सन लिनुपर्‍यो सरकारले। कि त सरकारले महाभियोग लगाउनुपर्‍यो।'

प्रमाणीकरणमा पौडेलको भयंकर गल्ती

नागरिकता प्रमाणीकरणमा राष्ट्रपति पौडेलबाट गल्ती भएको बास्कोटाको ठहर छ। 'प्रधानमन्त्रीले संसदमा जानकारी दिनुपर्छ। उहाँ त हाम्रो प्रश्न त सोध्न नपाउने गरी जवाफ नदिई टाप ठोक्नुभएको। किन रहेछ भने नागरिकता विधेयक पास नगरेको भए प्लेनै रोकिने रहेछ। स्पष्टीकरण नदिइ जानुभयो,' उनले भने।

राष्ट्रपति पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरण गर्दा संविधान मिचिएको बास्कोटाले दाबी गरे। 'भयंकर गलत भएको छ प्रक्रियाको हिसाबबाट,' उनले भने, 'यस्तो गर्न संविधानले दिँदैन। संविधान मिच्नुभएको छ उहाँले।'

नयाँ सांसद छल्ने काम राष्ट्रपतिबाट भएको सांसद बास्कोटाको तर्क रह्यो। 'राष्ट्रपतिले भयंकर गल्ती गर्नुभएको छ। प्रमाणीकरण गर्नुभएको छ। जुन सभाबाट भएको हो त्यहाँबाट प्रमाणीकरण गर्नुपर्छ। यो सबै अवधिमा पास नभएपछि संसदले चिन्दैन,' उनले भने, 'सरकारको विषय पनि हैन कानुन बनाउने। कानुन बनाउने काम संसदको हो। संसदले बनाएको कानुन सभामुखले प्रमाणीकरण गर्ने हो। त्यो कानुनमा राष्ट्रपतिले छाप लाउन सक्छ राम्रो भए पनि नराम्रो भए पनि। यसको विरोध राम्रैसँग हुन्छ।'

गेरु वस्त्रबारे टिप्पणी : नारायण पोखरेलले स्वर्गबाट हेरिरहेको होला

प्रधानमन्त्री प्रचण्ड उज्जैन पुगेर गेरुबस्त्र धारणा गर्नु संशयपूर्ण रहेको बास्कोटाको दाबी रह्यो। 'हिजो रातै रातो। आज गेरु रंग। क्या चेन्ज आएछ। जीवनको रंग सिद्धान्तको रंग। हिडन केही पाक्दैछ। भारतमा जे हुँदैछ त्यसको रिफ्लेक्सन यता हुन्छ,' बास्कोटाले भने।

सांसद बास्कोटाले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा कुनै विषयमा ब्रेक थ्रु नभएको बताए। चार पटक भारत पुग्नु कुनै ब्रेक थ्रु नभएको बरु बस्त्र फेरिनु संशयपूर्ण रहेको उल्लेख गरे। 'भारत भ्रमणले केही पनि ब्रेक थ्रु गरेको छैन। प्रचण्ड चार पटक जानु ब्रेक थ्रु हैन,' उनले भने, 'पण्डित नारायण पोखरेल ज्युँदो थियो भने केही सम्झिन्थे कि। सायद स्वर्गबाट हेरिरहेका होला। ब्रेक थ्रु एउटा त्यो भयो।'

पण्डित नारायणप्रसाद पोखरेलको १७ वर्षअघि अर्थात् २०६२ साल वैशाख २३ गते रुपन्देहीमा हत्या भएको थियो। पोखरेलको हत्या माओवादीमाथि लाग्दै आएको छ। यद्यपि यसको पुष्टि अझै हुन सकेको छैन। उनै पोखरेलका छोरा दीनबन्धुसँग प्रचण्डले २०७९ जेठमा टीका लगाएको फोटो भाइरल भएको थियो।

विद्युतसम्बन्धी सम्झौताका विषय पुरानै भएको र नयाँ केही नभएको बास्कोटाको तर्क रह्यो। 'अब भारतले बनाएको किन्ने कि। हामीले बनाएको किन्ने कि विदेशीले पनि बनाएको हामीले उसलाई सप्लाई गर्न पाउने किटान छैन,' बास्कोटाले भने, 'शारदा र पञ्चेश्वरको विषयमा पनि केही किटान छैन। यो उहीबेला देखि गर्ने भन्ने कुरा हो। सबै आश्वासन बोकेर आउनुभएको छ। सेड्युल केही पनि छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell