
काठमाडौं : बजेटपछि लगातार बढ्न थालेको सुनको मूल्य आइतवार घटेको छ। गत साता भन्सार दर वृद्धि भएपछि मूल्य निरन्तर बढिरहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि स्थानीय बजारमा मूल्य ओरालो लागेको हो। आइतवार तोलामा १ हजार ७ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक लाख ११ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।
अघिल्लो दिनका तुलनामा ८ सय रुपैयाँ बढ्दा गत शुक्रवार प्रतितोला एक लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ। आइतवार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँ छ। बिहीवारका तुलनामा २५ रुपैयाँ बढ्दा शुक्रवार प्रतितोला १४ सय ३५ रुपैयाँले कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९४८.१९ डलरमा कारोबार भइरहेको छ। यसैगरी चाँदी २३.६२ प्रतिऔंस छ।
शुक्रवार सुन प्रतिऔंस १९७९.६७ डलर र चाँदी २३.९२ डलर थियो।