PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

निर्णायक खेलमा ३ विकेटको जित निकाल्दै मलेसियाविरुद्धको सिरिज नेपाललाई



पहिलोपोस्ट

निर्णायक खेलमा ३ विकेटको जित निकाल्दै मलेसियाविरुद्धको सिरिज नेपाललाई
Photo: Malaysian Cricket Association

काठमाडौं : नेपालले मलेसियाविरुद्धको द्विपक्षीय टी २० सिरिज जितेको छ। आइतवार सम्पन्न खेलमा मलेसियामाथि ३ विकेटको जित निकालेसँगै नेपालले ३-२ ले सिरिज जितेको हो।

मलेसियास्थित वाइएसडी ओभल स्टेडियममा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो। मलेसियाका लागि वान जुलिया वान रोस्दीले सर्वाधिक ४७ रन बनाउँदा विनिफ्रेड एन्नीले २४ तथा माहिरा इज्जाती इस्माइलले २० रन बनाइन्।

बलिङतर्फ नेपालकी कविता जोशीले २ विकेट लिँदा ईश्वरी बिस्टले १ विकेट लिइन्।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९.२ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। नेपालका लागि सीता रानामगरले सर्वाधिक ३४ रन बनाउँदा रुबिना क्षेत्रीले २३ तथा अप्सरी बेगमले अविजित १५ र ज्योति पाण्डेले अविजित ११ रन बनाइन्।

बलिङतर्फ मलेसियाकी एइना हमिजाले सर्वाधिक २ विकेट लिँदा माहिरा इज्जाती, विनिफ्रेड एन्नी, एइसा एलिसा र नूर दानिया समदले समान १ विकेट लिए।

निर्णायक खेल जितेसँग नेपालले सिरिज जित्न सफल भएको हो।

सिरिजको पहिलो खेलमा ५ विकेटले हार ब्यहोरेको नेपालले दोस्रो र तेस्रो खेलमा पुनरागमन गर्दै क्रमश ७ विकेट र २७ रनको जित निकालेको थियो। चौथो खेलमा भने मलेसियाले ४ विकेटको जित निकालेसँग सिरिज २-२ को रोचक अवस्थामा पुगेको थियो। पाँचौँ तथा निर्णायक खेलमा आज नेपालले ३ विकेटको जित निकालेसँगै नेपाल च्याम्पियन बनेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell