PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गर्मीको मार : रुपन्देहीका स्थानीय तहले एक महिनासम्म बन्द गर्ने भए विद्यालय



पहिलोपोस्ट

गर्मीको मार : रुपन्देहीका स्थानीय तहले एक महिनासम्म बन्द गर्ने भए विद्यालय

बुटवल : तराई क्षेत्रमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ। यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ।

पठनपाठन गर्न समस्या भएपछि रुपन्देहीका दुई स्थानीय तहले सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। तिलोत्तमा नगरपालिकाले नगरभित्रका विद्यालयहरुमा झण्डै एक महिना गर्मी बिदा दिएको छ।

नगर कार्यपालिकाको आइतवार बसेको बैठकले तापक्रम निरन्तर बढ्दै गइरहेको र यसले विद्यालय आउने बालबालिकालाई प्रत्यक्ष असर पारेको भन्दै गर्मी बिदा दिने निर्णय गरेको हो। कार्यपालिकाको बैठकले जेठ २२ देखि असार १७ गतेसम्म बिदा दिने निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए। वार्षिक बिदाबाट समायोजन हुनेगरी बिदा दिइएको उनले बताए।

यस्तै, शुद्धोधन गाउँपालिकाले पनि गर्मीकै कारण पाँच दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख चन्द्रकान्त शर्माले जानकारी दिए। उनका अनुसार जेठ २२ देखि २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको हो।

गर्मी बढेपछि बुटवल उपमहानगरपालिकाका अधिकांश विद्यालयहरुमा पनि गर्मी  बिदा दिइएको छ। पछिल्लो एक सातायता तराईका जिल्लामा गर्मी ह्वात्तै बढेको छ।

सर्वसाधारण अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन छाडेका छन्। गर्मीबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।

यसैबिच, नेपाल अभिभावक महासंघ, लुम्बिनी प्रदेश समितिले तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको अवस्थामा विद्यालयको पठनपाठनमा प्रत्यक्ष असर गरेको र विद्यार्थीहरुलाई विद्यालय आवतजावत गर्न तथा कक्षा कोठामा बसेर अध्ययन गर्न कठिनाई भएको हुँदा केही समय विद्यालय बन्द गर्न आग्रह गरेको छ।

महासंघका अध्यक्ष हेम थापाले विज्ञप्ति जारी गर्दै केही दिनयता तराईका जिल्लाहरुमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको र बढ्ने क्रम रहेको हुँदा उच्च तापक्रममा स-साना बालबालिकाहरुलाई घरबाट विद्यालय जान र विद्यालयबाट घर फर्कन समस्या भइरहेको, विद्यालय गएपनि नियमित शिक्षण सिकाई क्रियाकलापमा सामेल हुन असहज भइरहेकोले स्थानीय निकाय शिक्षा विकास तथा समन्वय इकाइ, विद्यालय सञ्चालक तथा सरोकारवाला संस्थाहरुको ध्यानाकर्षण गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell