PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मेस्सी 'बढी पैसा'मा लोभिएर साउदी जालान् कि फर्किएलान् पुरानै क्लब?



मुकुन्द घिमिरे

मेस्सी 'बढी पैसा'मा लोभिएर साउदी जालान् कि फर्किएलान् पुरानै क्लब?
फोटो : Stephanie Lecocq/Reuters

अघिल्लो साता पेरिस सेन्ट जर्मेन (पीएसजी) ११ औँ पटक फ्रेन्च लिग वानको च्याम्पियन बन्यो। शनिवार रातिमात्र च्याम्पियन बनिसकेको पीएसजी मिडटेबलको क्लेरमेन्टसँग पराजित भयो। यो खेल अर्जेन्टिनी कप्तान लियोनल मेस्सी र स्पेनिस लेजेन्ड सर्जियो रामोसका लागि पीएसजीको जर्सीमा सायद अन्तिम थियो। यसको कारण भनेको एक त मेस्सीको करार पेरिसमा सकिँदैछ भने पीएसजीसँग मेस्सीको सम्बन्ध जमेको छैन। मेस्सीलाई धन्यवाद दिँदै पीएसजीका अध्यक्ष नासर-अल-खेलाइफीले उज्वल भविष्यका लागि शुभकामना दिइसकेका छन्।

पेरिससँगको मेस्सीको सम्झौता यही जुनमा सकिँदैछ। योसँगै फुटबल वृत्तमा चासोका रुपमा हेरिएको छ : मेस्सीको अबको गन्तव्य कहाँ होला?

सीएनएनसँगको पछिल्लो अन्तर्वार्तामा ३५ वर्षे मेस्सीले खेलमा अझै मजा लिइरहेको र अझै केही वर्ष खेल्ने बताएका थिए। मात्र छ महिनाअघि कतारमा सम्पन्न विश्वकपमा उत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल जितेका मेस्सीले लिगमा १६ गोल र १६ असिस्ट गरेका थिए।

पछिल्लो समय मेस्सीको भविष्यलाई लिएर दुई वटा मुख्य अनुमान लगाइएको छ। पहिलो, उनी साउदी प्रो लिगमा जानेछन् या बार्सिलोना फर्कनेछन्। त्यसपछिको तेस्रो सम्भावित गन्तव्यका रुपमा अमेरिकी मेजर सकर लिगको क्लब इन्टर मियामी पनि उस्तै चर्चामा छ।

मेस्सीलाई पेरिसले भित्र्याउनुको मुख्य लक्ष्य थियो : च्याम्पियन्स लिग जिताउने। यसमा मेस्सी असफल रहे पनि पेरिसलाई लिग वानको च्याम्पियन बनाउन मेस्सीको महत्वपूर्ण योगदान रह्यो।

पेरिसमा पहिलो सिजनमा उनी चोटसँग जुधिरहे। यद्यपि, उनले खेलेको खेलमा भने प्रदर्शन उत्कृष्ट रह्यो। दोस्रो सिजनमा नेइमार जुनियर र किलियन एम्बाप्पेसँग कम्बिनेस मिल्दा राम्रो खेल जमेको थियो।

२०२२ को विश्वकपमा मनमोहक प्रदर्शन गर्दै च्याम्पियन बनेका मेस्सीले लिगमा भने उस्तो प्रमाणित गर्न सकेनन्। मार्चमा स्टार खेलाडीले भरिएको पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ मा जर्मन क्लब बायर्न म्युनिखसँग पराजित हुँदै बाहिरिएको थियो।

त्यसपछि त मेस्सी पीएसजीको निलम्बनमै परे। ट्रेनिङ सेसन छाडेर साउदी अरेबियामा एउटा 'प्रोमोसनल' कार्यक्रममा पुगेपछि उनी निलम्बनमा परेका थिए। समर्थकको दुर्व्यवहारमा समेत परेका मेस्सीका अगाडि तेर्सिएको प्रश्न हो : अबको बाटो कता?

 

बार्सिलोना फिर्ता?

क्याटलान क्लब बार्सिलोनामा किशोर छँदा पुगेका मेस्सीले फुटबलको सुपरस्टार त्यहीँ छँदा बनेका थिए। १७ वर्षमा बार्सिलोनामा करियर सुरुवात गरेका मेस्सीले ७७८ वटा खेल खेलेका थिए।

'क्याम्प नाउ'मा छँदा उनले के जितेनन्? १० ला लिगा तथा ४ च्याम्पियन्स लिग ट्रफीसहित ३५ ट्रफी टोलीलाई जिताउन सफल रहे।

२०२१ मा बार्सिलोना छाड्दा उनको आँखा आँशुले भरिएको थियो। बार्सिलोनाका लेजेन्ड जाभी हर्नान्डेज हाल बार्सिलोनाका प्रशिक्षक छन्। ४ वर्षपछि यही सिजन बार्सिलोना लिग च्याम्पियन बनेको छ।

'मेस्सी फर्किएर आएको खण्डमा हाम्रो फुटबलको स्तरमा माथि लैजान धेरै मद्दत हुन्छ भन्नेमा म विश्वस्त छु,' हर्नान्डेजले भनेका छन्। यसबारेमा क्लबका अध्यक्षसँग कुरा गर्ने बताइसकेका छन् हर्नान्डेजले।

'सन् २०१० ताका जस्तो बार्सामा 'ट्यालेन्ट' छैन। मेस्सीले टिममा के ल्याउन सक्छन्? उनले ट्यालेन्ट ल्याउनेछन्। फाइन पास, सेट पिस, गोल... उनी अर्कै स्तरका खेलाडी हुन्,' उनले भनेका छन्।

अर्जेन्टिनी फुटबलको विज्ञ रहेकी मार्सेला मोरा अराउजो मेस्सी बार्सिलोनामा फर्कनु उनको करियरमा 'फिटिङ इन्ड' हुने मान्छिन्।

'फुटबलरहरुका बच्चाको जीवनशैली प्रायः कूटनीतिज्ञका बच्चाहरू जस्तै हुन्छ। उनीहरूले आफ्नो बाल्यकालको धेरै समय संसारभर यात्रामा बिताउँछन्। तर, किशोरावस्थाको अन्त्यमा उनीहरूले भन्न सक्छन् र आफू खुशी भएको ठाउँमा हुन चाहन्छन्। र आरामदायी र राम्रो जीवन जिउन चाहन्छन्। साउदी अरेबिया यस सन्दर्भमा फरक हुन सक्छ,' उनी तर्क गर्छिन्, 'मलाई लाग्छ पारिवारिक जीवन, दैनिक जीवन, आहार, साथीहरू, भाषामा ध्यान दिने हो भने बार्सिलोना नै राम्रो गन्तव्य बन्छ। यसमा प्रश्न नै छैन।'

बार्सिलोनाले पनि मेस्सीप्रति आफ्नो भावना लुकाउने कुनै प्रयास गरेको छैन, तर मेस्सीको अनुबन्धनलाई वास्तविकता बनाउनलाई पर्दा पछाडि धेरै काम गर्नुपर्नेछ।

 

साउदीमा पैसाको बाढी

साउदी अरेबियाले आफ्नो प्रतिष्ठा निर्माण गर्न र साउदी 'प्रो लिग'को गुणस्तर सुधार गर्ने प्रयासमा जुटेको छ। यसमा विश्वका धुरन्धर खेलाडीलाई आकर्षित गर्न कटिबद्ध देखिन्छ, जसको पछिल्लो उदाहरण हुन् पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डो।

यस वर्षको सुरुमा मेस्सीका चिर प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा विश्वकै कीर्तिमानी मूल्यमा पुगे। अल नासरको राइभल अल हिलाल रोनाल्डोकै 'राइभल' मेस्सीलाई त्यो भन्दा कीर्तिमानी मूल्य तिरेर भित्र्याउन उद्यत छ। मेस्सी त्यसै पनि 'पर्यटन'लगायतका क्षेत्रमा व्यवसायिक रुपमा साउदीसँग जोडिइसकेका छन्

'मान्छेले निर्णयलाई जहिले पनि पैसाले प्रभावित गर्छ,' मेस्सीको साउदी जाने चर्चा चलिरहँदा मोराले भनेकी छिन्। अघिल्लो सिजन चलिरहँदा नै मेस्सी र साउदी बिच 'डिल डन' भइसकेको दाबी समचार संस्था एएफपीले श्रोतलाई उदृत गर्दै जनाएको थियो। यद्यपि, मेस्सीको टिमले भने यसलाई गलत भएको र अझै गन्तव्य कुन हो भन्ने टुंगो नलागेको जनाएको थियो।

रोनाल्डोले मैदानमा र मैदानबाहिर संघर्ष गरिरहँदा मेस्सीलाई साउदी जान भने सोच्न बाध्य बनाउनेछ। रोनाल्डोले साउदी छाड्न चाहेको चर्चा यसअघि नै सुरु भइसकेको छ।

जुन ३० पछि 'फ्रि एजेन्ट' बन्न लागेका मेस्सीलाई ३७५ मिलियन अमेरिकी डलरमा अल हिलाले अनुबन्धनको प्रयास गरिरहेको फोर्ब्सले जनाएको छ। अलहिलालले भने जुन ६ मा मेस्सी अनुबन्धन गरेर घोषणा गर्नेगरी तयारी बढाएको जनाएको छ।

 

एमएलएस, प्रिमियर लिग या अर्जेन्टिना?

बार्सा या साउदीबाहेक पनि मेस्सीका लागि विकल्पहरु खुला छन्। भलै यसमा सम्भावना कम होस्। मेस्सी अमेरिकी लिग एमएलएसमा डेभिड बेकहमको क्लब इन्टर मियामी जाने सम्भावनाको चर्चा पनि छ। मेस्सीका समर्थक बेकहमले सन् २०१९ मा मेस्सीलाई कुनै समयमा आफ्नो क्लबमा अनुबन्ध गर्न चाहेको बताएका थिए। २०२२ मा यूकेको अखबर द टाइम्सले मेस्सी र इन्टर मियामी करारका लागि नजिक रहेको दाबी गर्दै लेख लेखेको थियो।

मेस्सीसँग अर्को विकल्प अर्जेन्टिना फर्कने पनि छ। मेस्सीले नेवेल ओल्ड बोइजमा बार्सिलोना जानुअघि रहेका थिए। मोरा भने मेस्सी अर्जेन्टिनी क्लबमा फर्कने अपेक्षा नरहेको बताउँछिन्। मेस्सीले साह्रै सानो उमेरमा त्यो क्लब छाडेकाले क्लब र उनीबिच त्यस्तो भावनात्मक सम्बन्ध कायम नरहेको तर्क गर्छिन्।

त्यसबाहेक प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटी जाने पनि सम्भावना रहन्छ। बार्सिलोनामा मेस्सी करियरको उत्कृष्ट लयमा रहँदा प्रशिक्षक रहेका पेप ग्वार्डिओला हाल सिटीका प्रशिक्षक छन्। यसले मेस्सीको निर्णयमा प्रभावित पार्न सक्छ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell