PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पुलिस जित्दा चर्च ब्वाइज खुसी : मछिन्द्रका अफिसियल रेफ्रीविरुद्ध जाइलागे, समर्थकविरुद्ध खेलाडी



मुकुन्द घिमिरे

पुलिस जित्दा चर्च ब्वाइज खुसी : मछिन्द्रका अफिसियल रेफ्रीविरुद्ध जाइलागे, समर्थकविरुद्ध खेलाडी
फोटो : ANFA

काठमाडौं :  शहीद स्मारक 'ए' डिभिजन लिगअन्तर्गत आइतवारको खेलमा नेपाल पुलिससँग मछिन्द्र क्लबले हार व्योहर्‍यो। उपाधि होडमा शीर्ष स्थानको चर्च ब्वाइजलाई पछ्याइरहेको मछिन्द्र पुलिससँग हार्दा चर्च ब्वाइजले भने राहतको सास फेरेको छ। मछिन्द्रको हारले उपाधि होडमा सहज बनाउने हुँदा चर्च ब्वाइजका समर्थकसमेत रंगशाला पुगेका थिए पुलिसलाई हौस्याउन।

उसो त खेलमा साविक विजेता मछिन्द्रले अग्रता बनाएको थियो। च्यासल मैदानमा भएको खेलको २५ औँ मिनेटमा अफीज ओलावालेले गोल गर्दा मछिन्द्र पहिलो हाफमा १-० गोल अन्तरले अघि रह्यो। दोस्रो हाफमा मोसेस ग्याबा ट्वुमले दुई गोल फर्काउँदै खेलमा पुलिसलाई पुनरागमन गराउन सफल भए। खेलको ७५ र ८३ औँ मिनेटमा गोल गरेका उनले दोस्रो गोल गरेपछि जर्सी खोलेर सेलिब्रेट गर्दा पहेँलो कार्ड पाए।

 

खेल सकिएपछि झगडा

खेल सकिएपछि भने मछिन्द्रका खेलाडी र अफिसियल आक्रामक देखिए। दोस्रो हाफमा एउटा स्पस्ट 'पेनाल्टी'लाई रेफ्रीले नदिएको भन्दै मछिन्द्रका ओलावाले अफीजलगायतका खेलाडी रेफ्रीसँग विवादमा उत्रिए भने अफिसियल झम्टिन। पुलिसका अफिसियलले आफ्ना खेलाडीलाई झगडाबाट जोगाउँदै लग्दा मछिन्द्रको बेन्च तातेको थियो। राष्ट्रिय टोलीका समेत म्यानेजर रहेका अनिल श्रेष्ठलगायतका मछिन्द्रका अफिसियलहरु झगडामा उत्रिए। अझ बेन्चका खेलाडीले भने मुख छाड्दै समर्थकहरुसँग पनि झगडा गर्न भ्याए।

 

मछिन्द्रको आरोप : रेफ्रीको घिनलाग्दो निर्णय

मछिन्द्र क्लबका प्रशिक्षक किशोरकुमार केसीले रेफ्रीको निर्णयले आफूहरुमाथि अन्याय भएको दाबी गरे।

'राम्रो खेल्दाखेल्दै पनि रेफ्रीको निर्णय चाहीँ घिनलाग्दो नै देखियो। शतप्रतिशत पेनाल्टी हुँदा पनि दिँदैन,' मछिन्द्रका प्रशिक्षक केसीले भने, 'फेयर खेलाउँदैन भने त राम्रो भएन नि। पक्कापक्की फेयर भएको भए आजको खेल हाम्रो पक्षमा हुन सक्थ्यो।'

रेफ्री प्रज्वल क्षेत्रीका केही महत्वपूर्ण निर्णयमा असन्तुष्ट केसीले खेल पछिको माहोल बिग्रनुमा पनि रेफ्रीकै निर्णय जिम्मेवार भएको आरोप लगाए।

'खेलपछि भएकै त्यही हो। पेनाल्टी दिएन। ओलावाले तातेको पनि त्यसैमा हो। म्यानेजर तातेको पनि त्यही भएर हो। यो त अलिकति भिडियो हेर्दा पनि थाह हुन्छ,' केसीले भने।

पुलिसका प्रशिक्षक चेतनाथ घिमिरे पनि केसीको भनाइमा सहमत देखिए।  

 

चर्च ब्वाइजलाई फाइदा

दोस्रो स्थानको मछिन्द्र पराजित भएसँग उपाधि होडमा रहेको चर्च ब्वाइजलाई ठूलो फाइदा पुगेको छ। दुई खेल बाँकी रहँदा चर्च ब्वाइजले एकमात्र जित निकाल्न सके पनि च्याम्पियन बन्नेछ भने मछिन्द्रलाई दुबै खेल जित्नुपर्ने दबाव हुनेछ। मछिन्द्रले दुबै जित निकाले पनि चर्चले एक जितमात्रै निकालेको खण्डमा पनि चर्च नै साविक विजेतालाई पछि पार्दै च्याम्पियन बन्नेछ।  

'हामी अझै जीवितै छौँ भन्नु पर्‍यो। जीवितै छौँ तर जे पनि हुन सक्छ भन्नुपर्‍यो,' हार ब्यहोरेपछि मछिन्द्रका प्रशिक्षक केसीले भने। दोस्रो स्थानको मछिन्द्रलाई हराएको पुलिसले भने तेस्रो स्थानको जावलाखेल युथ क्लबसँग अंक बराबरी गरेको छ। जावलाखेल र पुलिसको समान ३७ अंक छ।

 

रेलिगेसन नजिक खुमलटार

आइतवार नै सम्पन्न अर्को खेलमा तालिकाको पुछारमा रहेको खुमलटारले पराजय ब्यहोरेको छ। एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले खुमलटारमाथि ३-० गोलको जित निकालेको हो। १६ औँ मिनेटमा निशान खड्काको गोलमा अग्रता बनाएको संकटाका लागि दोस्रो गोल आयुस घलानले ३८ औँ मिनेटमा गरे। त्यस्तै ७८ औँ मिनेटमा चन्दन दासले गोल थप्दा संकटाले ३-० को सहज जित निकालेर आफूलाई रेलिगेसनको जोखिमबाट केही माथि उठाएको छ। तर, खुमलटार भने रेलिगेशनको तीब्र जोखिममा परेको छ।

खुमलटारले २४ खेलबाट २४ अंक जोड्दै तालिकाको पुछारमा छ भने ३० अंक जोडेको संकटा तालिकाको ११ औँ स्थानमा उक्लिएको छ।

 

मिड टेबलमा न्युरोड र शेर्पाले अंक बाँडे

आइतवार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा न्युरोड टिम(एनआरटी) र हिमालयन शेर्पा क्लबले अंक बाँडे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको पनि दिवस उराउको गोलमा ५२ औँ मिनेटमा शेर्पाले अग्रता बनाएको थियो। ३ मिनेटभित्रै दिपेश आलेले जवाफी गोल फर्काउँदा खेल १-१ गोलको बराबरीमा रोकियो।

योसँगै २४ खेलबाट हिमालयन शेर्पा ३१ अंक जोडेर तालिकाको सातौं स्थानमा छ भने एनआरटी ३० अंक जोडेर तालिकाको १० औँ स्थानमा छ। ८ औँ देखि ११ औँ स्थानसम्म रहेका त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, न्युरोड टिम र संकटा क्लबको समान ३० अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell