PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विधान संशोधन गर्दै अन्तर्राष्ट्रिय तामाङ परिषद्मा नयाँ कार्यसमिति, कार्यकारी अधिकार महासचिवलाई



पहिलोपोस्ट

विधान संशोधन गर्दै अन्तर्राष्ट्रिय तामाङ परिषद्मा नयाँ कार्यसमिति, कार्यकारी अधिकार महासचिवलाई

बैंकक : अन्तर्राष्ट्रिय तामाङ परिषद्(आइटिसी)को पाँचौ सम्मेलनबाट चम्पाडोल्मा लामा अध्यक्षमा चयन भएकी छन्। आयोजक राष्ट्र पदेन अध्यक्ष रहने नियमाअनुसार थाइल्यान्डकी चम्पाडोल्मा अध्यक्ष चयन भएकी हुन्।

यसैगरी महासचिवमा टासी लामा चयन भएका छन्। नेपालका टासी यसअघि वरिष्ठ उपाध्यक्ष रहेका थिए। यसपटक आइटिसीको विधानमा संशोधनसमेत गरिएको छ। योसँगै महासचिवलाई कार्यकारी अधिकार प्राप्त भएको छ। 'यसपटक विधान संशोधन भयो, सोहीअनुसार महासचिवलाई कार्यकारी अधिकार दिइएको छ,' महासचिवमा निर्वाचित लामाले भने, 'योसँग यसपटकबाट आइटिसी महासचिव प्रणालीमा गएको हो।' अन्तर्राष्ट्रिय मान्यताअनुसार महासचिवलाई कार्यकारी अधिकार दिइएको बताइएको छ। यसअघि नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङ आइटिसीका महासचिव रहेका थिए।

आइटीसीले विधान संशोधनसँगै यसपटकदेखि उपाध्यक्ष पद हटाइएको छ। परिषद्को उपमहासचिवमा अमेरिकाका लक्यान लामा राष्ट्रिय सचिवमा भारतका आरपी तामाङ, सम्बन्ध सचिवमा दक्षिण कोरियाबाट, शुभराज तामाङ, महिला सचिवमा रोमानियाबाट बुधुमाया तामाङ र कोषाध्यक्षमा जापानका हवलचन्द्र लामा चयन भएका छन्। जेठ २० गतेबाट थाइल्यान्डको राजधानी बैंकक सहरस्थित हुहाइनमा भएको दुइ दिने सम्मेलनमा १७ मुलुकका १९ सदस्य संस्थाहरुको तर्फबाट प्रतिनिधिहरुको सहभागिता रहेको थियो। पदाधिकारी रहेकाबाहेक अरु मुलुकका एक एक जना सदस्य रहने व्यवस्था रहेको छ।

सम्मेलनले विधान संशोधनलगायत विश्व कार्ययोजना र समसामायिक प्रस्तावहरु समेत पारित गरेको आयोजकले जनायो। सम्मेलनमा थाइल्याण्ड, नेपाल‚ जापान‚ म्यानमारका प्रतिनिधिहरू नेपाल, भारत‚ अमेरिका‚ कोरिया‚ हङकङ‚ बहराइन‚ युएई‚ पोर्चुगल‚ रोमनिया, माल्टा, थाइल्याण्ड, बर्मा, जापान, बेल्जियम, मलेसिया, कतार र इटालीका तामाङहरुको सहभागिता रहेको थियो। सन् २००२ डिसेम्बरमा आइटिसीले  पहिलो सम्मेलन आयोजना गरेको थियो। यसअघि सम्मेलन नेपाल र भारतमा मात्र हुँदै आएकोमा पहिलोपटक तेस्रो मुलुकमा आयोजना भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell