- वेदबहादुर खड्का-
सन् १९७० देखि पाकिस्तानमा घडियाल लोप भएको भनिएकोमा हालसालै सतलज नदीमा पुनः घडियाल गोही भेटिएको छ। १४ मे २०२३ मा सतलज नदीमा घडियाल गोही फेला परेको हो।
५३ वर्षपछि सतलजमा घडियाल गोही देखेर त्यहाँका अनुसन्धानकर्ता चकित पारेका छन्। समाचार अपत्यारिलो लागे पनि सामाजिक सञ्जालमा फोटो/भिडियो देखेपछि नपत्याउने कुरै भएन।
पाकिस्तान सरकारले पनि यसबारे पुष्टि गरिसकेको छ। पाकिस्तान वन्यजन्तु विभागको टोली घडियाल भेटिएको सतलज नदीमा पुगेपछि पाकिस्तान राष्ट्रिय समाचार च्यानललगायत सामाजिक सञ्जालमा यो विषयले व्यापक चर्चा पाएको छ।
माझीको जालमा माछा फसेजस्तैः घडियाल फसेको हुँदा मार्नु हुँदैन भनेर माझीले सतलज नदीमै जालबाट छुटाएर छोडिदिएका थिए। भिडियोमा देखिएअनुसार घडियाल जवान/अर्धवयस्क (६/७ वर्षजस्तो) उमेरको देखिन्छ।
राप्ती नदीमा घाम तापिरहेका घडियाल गोही।
कुनै जमानामा दक्षिण एसियाको नेपाल, भारत, पाकिस्तान, बंगलादेश र भुटानका नदीमा पाइने विश्वकै दूर्लभ घडियाल गोही हाल आएर नेपाल र भारतका नदीहरुमा मात्र खुम्चन पुगेका छन्। लोप भएको ठाउँमा एउटामात्र जवान घडियाल गोही देखिनु आफै आश्चर्यको विषय हो।
कसरी पुग्यो सतलजमा?
मानवीय रेखदेखमा जन्मी हुर्केर उमेर पुगेका यस्तै घडियाल गोहीलाई प्राकृतिक वातावरण नदीमा बाँच्न सक्षम हुन्छन् भनेर छोडिन्छ। प्राकृतिक वातावरण उसलाई नौलो लाग्न सक्छ र आफूलाई चाहिने उपयुक्त बासस्थान आफैले खोज्नुपर्ने हुन्छ।
आफूलाई चाहिने आहारा (माछा) भएको स्थानमा शान्तसँग बस्न खोज्छ र त्यस स्थानमा बारम्बार मान्छेले वातावरण खलबलाई माछा मार्न हस्तक्षेप गरे, घडियालले भनेजस्तो बासस्थान बनाएर बस्ने वातावरण भेट्टाएन, र आफू दैनिक घुम्ने स्थानीय परिभ्रमण क्षेत्र कायम भइनसकेको अवस्थामा रहेछ भने बौलाहा जस्तै छटपटी, आत्तिएको पाराले रन्केर पानीमा दौडँदा कहाँ पुग्छन्, भन्न सकिन्न। यसलाई पनि छटपटीले त्यस्तै भएको हुनुपर्छ।
जस्तैः शालिन्दा चितवन राष्ट्रिय निकुञ्जवाट एक सयभन्दा बढी घडियाल नदीमा छोड्ने गरिन्छ। जसमध्ये २०७६ चैत ४ कसरास्थित राप्ती नदीमा छोडिएको घडियाल छोडेको ६१औं दिन भारतको पश्चिम बंगालको रानी नगर घाँटचाकादास्थित हुग्ली नदीमा मार्किङ नम्बर ६८७ नम्बर घडियाल र सोही लटको १४० दिनपछि महानन्द (नेपालतर्फ मेची नदी भनिन्छ) नदीमा मार्किङ नम्बर ६६६ घडियाल माझीको जालमा फसेका अवस्थामा भेटिएका थिए।
भारतको पश्चिम बंगालमा भेटिएको नेपालको घडियाल। फोटो सौजन्य : सुव्रात कुमार वेहरा (वाइल्डलाइफ ट्रस्ट अफ इन्डिया)
वाइल्डलाइफ ट्रस्ट अफ इन्डिया (डब्लुटीआइ) अधिकारीका अनुसार उद्धारपछि घडियाललाई सम्बन्धित नदीमै छोडिएको र हाल त्यस भेगमा उद्धार गरेकै साइजका एक दर्जन जति घडियाल रहेका छन्। गुगल म्यापको अध्ययन गरेर हेर्दा एकहजार पाँचसय किमी टाढा राप्ती नारायणी गण्डकगंगा नदी हुँदै उक्त क्षेत्रमा पुगेका देखिन्छ।
स्कुट मार्किङको आधारले मात्र घडियाल नेपालबाट छोडेको हो भन्न सकिएको हो नत्र भने भन्ने आधार रहँदैन थियो होला। नेपालको घडियाल के पाकिस्तान पुग्दैन भनेर भन्न सकिन्छ र?
पाकिस्तानमा देखिएको घडियाल नेपाल या भारतको प्रजनन केन्द्रबाटै छोडिएको हुनुपर्छ किनभने मानवीय रेखदेखमा हुर्केकाले प्राकृतिक वासस्थान जस्तै परिभ्रमण अर्थात् आफू घुम्ने स्थानीय क्षेत्र (होम रेन्ज) स्थापना गर्नु पर्ने हुन्छ। नगरेको अवस्थामा भने टाढासम्म पुग्ने हुन्छ।
प्राकृतिक अवस्थामा जन्मी हुर्केकाले आफ्नो परिभ्रमण अर्थात आफू घुम्ने स्थानीय क्षेत्र (होम रेन्ज) बच्चा अवस्थादेखि नै स्थापना गरिसकेका हुन्छन्। आफू दैनिक घुम्ने स्थानीय परिभ्रमण क्षेत्र कायम गरीसकेका घडियाल त्यसरी अत्तालिएर एक्लै दौड्दैनन।
चितवन राष्ट्रिय, प्रजनन केन्द्रबाट घडियाललाई छोड्दा मार्किङ चिन्ह लगाएर छोडिन्छ। त्यस्तो चिन्ह फेला पर्यो भने नेपालबाट छोडेको घडियाल हुनसक्छ तर यसै भनिहाल्ने अवस्था भने छैन।
पश्चिम बंगाल हुग्ली नदीमा माझीको जालमा फसेको मार्किङ नं ६८७ को जीवित घडियाल। फोटो सौजन्य : सुव्रात कुमार वेहरा/डब्लुटीआई।
तर पाकिस्तानको गोहीमा मार्किङ भने फोटोमा प्रष्टसँग देखिएको छैन। नेपालको घडियाल हो भन्ने आधार नभए पनि पाकिस्तान नपुगेको भन्न सकिन्न।
पाकिस्तानी अधिकारीहरु गोहीबारे अध्ययन गर्न नेपाल आउन रुची देखाएका छन्। यसको लागि नेपाली सरकारी अधिकारीहरुले पहल गर्नुपर्ने आवश्यकता देख्छु।
स्कुट मार्किङ भनेको के हो?
गोहीको पुच्छर झट्ट हेर्दा आराको दाँतीहरु जस्तो बनावट भएको हुन्छ जसलाई प्राविधिक भाषामा स्कुट भनिन्छ। स्कुट नरम छालाले बनेको भए पनि यसले पानीभित्र शत्रुलाई फलामे आराजस्तै गरी झट्काउने काम गर्दछ।
शरीरलाई कुन दिशातर्फ मोडेर लैजाने भन्ने कुरा गाडीको गियर/स्टिेरिङको जस्तै यसले काम गर्दछ भने घण्टौंसम्म हलचल नगरी पानीमा तैरिन र पौडन समेत मद्दत गर्दछ। पछिल्लो समयमा घडियाल अनुगमनको लागि सजिलो होस भनेर प्रजनन केन्द्रबाट नदीमा घडियाल छोड्नु अगाडि स्कुट काटी मार्किङ गरिन्छ।
तर सामान्य मान्छेले देख्दा पुच्छरका दाँती काटेकोजस्तो देखिन्छ जुन वैज्ञानिक तवरले मार्किङ नम्बर गरिएको हुन्छ। यस्तो मार्किङ भरपर्दो र गोहीको जीवनभर कहिल्यै हराएर जाँदैन।
तर पछि मार्किङ गरेर काटेको ठाँउबाट स्कुट पलाएर आए पनि मार्किङ नगरिएको स्कुटको तुलनामा छोटो नै देखिँन्छ। जसले अनुसन्धानकर्तालाई पहिचान गर्न सजिलो हुन्छ।
स्कूट पनि काटी गरिएको मार्किङ।
सेटलाइट र भीएचएफ जडान र स्कूट पनि काटी मार्किङ गरिन्छ। सेटलाइट र भीएचएफ नहुँदा केवल स्कूटमात्र काटी मार्किङ गरिन्छ। थप अध्ययन अनुसन्धानमा यन्त्रहरु (सेटलाइट ट्याग र भीएचएफ)जडान गरिन्छ, नत्र पुच्छरमा रहेका आराका दाँती काटिन्छ।
घडियाल कुन मितिमा प्राकृतिक बासस्थानमा छोडेको, छोड्दाको अवस्थामा कति तौल र लम्बाई थियो र घडियाल कुन सालमा कोरलिएको हो भन्ने यर्थात विवरणसहित कम्प्यूटरमा रेर्कड राखेरमात्र घडियाललाई प्राकृतिक बासस्थानमा लगेर छोडिन्छ। जसले अध्ययन अनुसन्धान गर्न सजिलो हुन्छ।
प्रजनन केन्द्र व्यवस्थापन गर्न कठिन
प्राकृतिक वातावरणमा घडियालको संख्या बढाउने उद्देश्यले स्थापित घडियाल प्रजनन केन्द्र सञ्चालन गर्न अर्थिक अभावले नेपाल सरकारलाई धौ-धौ परेको अवस्था छ। मानवीय रेखदेखमा प्रजनन गराइएका घडियाललाई तिनीहरुको उपयुक्त प्राकृतिक बासस्थानमा(नदी)मा छाडिएका अधिकांश घडियाल भारत छिर्ने गर्छन्।
त्यसैले प्रजनन केन्द्र सञ्चालन गर्दा लागेको लगानी भारतलाई पनि समावेश गर्न सके दक्षिण एसियामा रहेका नदीहरुमा घडियालको प्रचुरता, सुनिश्चितता र दिगो संरक्षणमा टेवा पुग्ने थियो कि? घडियाल भारत गए भन्ने चिन्ता लिई रहनु पर्दैन, गएका पनि फर्केर आउने सम्भावना रहन्छ।
गंगा नदीका माछा वर्षा याममा नेपालका पहाडका खोंचसम्म पुगेर बच्चा कोरल्छन्। बच्चा काढी सकेपछि यदी बाटोमा माझीको जालबाट उम्किन सफल भएजति माछाका माउबच्चा गंगा नदीमा फर्कन्छन्/पुग्छन्।
(सन्दर्भ : विश्व वातावरण दिवस)
-चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत खड्का घडियाल गोही विज्ञ हुन्।