PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

पाल्पामा जीप दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर



पहिलोपोस्ट

पाल्पामा जीप दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर

रामपुर (पाल्पा) : पाल्पाको रैना देवीछहरा गाउँपालिका-८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। अहिले मृतक सबैको पहिचान खुलेको छ। दुर्घटनामा ११ जना घाइते भएका छन्।

रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जीप आइतवार साँझ सो स्थानामा दुर्घटना भएको हो। दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका-१ पडेना बस्ने चीप चालक २६ वर्षीय रमेश विक, पाणिनी-१ का ५५ वर्षीया श्यामकला परियार, पाणिनी-२ पोखराथोकका २५ वर्षीया सीता गौतम र सोही स्थानका दुई वर्षीय बालक संयोग गौतम रहेका छन्। संयोगको उपचारको क्रममा र अन्यको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ। घाइते पाँच जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा, दुई जनाको चौराहा अस्पताल बुटवल र चार जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जीप सडकदेखि करिब ७० मिटर तल खसेको छ। दुर्घटनासम्बन्धी अहिले अनुसन्धान भइरहेको प्रनाउ थापाले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell