PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पाल्पा जीप दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो



पहिलोपोस्ट

पाल्पा जीप दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो

बुटवल : पाल्पाको रैना देवीछहरा गाउँपालिका-८ सत्यवतीस्थित किउरेछेडाँमा आइतवार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। ११ जना घाइते भएका छन्।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा चालकसहित ३ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका-१ का जीप चालक २६ वर्षीय रमेश विक, सोही स्थानकी ५५ वर्षीया श्यामकला परियार, पाणिनी-२ पोखराथोककी २५ वर्षीया सीता गौतम, सोही स्थानका २ वर्षीय बालक संयोग गौतम र ३७ वर्षीय विजय पोखरेल रहेका छन्। संयोग र विजयको उपचारको क्रममा र अन्यको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। सीता र संयोग आमाछोरा हुन्।

रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणिनीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप आइतवार साँझ दुर्घटना भएको थियो। घाइतेमध्ये ५ जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा, २ जनाको चौराहा अस्पताल बुटवल र ४ जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए।

जीप सडकदेखि करीब ७० मिटर तल खसेको छ। जीप उकालोमा ब्याक भएर दुर्घटना भएको स्थानीयले बताएका छन्।

जीपमा क्षमताभन्दा धेरै लोड भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। दुर्घटनापछि अर्घाखाँचीको पाणिनी र पोखराथोक गाउँ शोकमग्न बनेको छ।

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक थापाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell