PahiloPost

Jun 13, 2024 | ३१ जेठ २०८१

मरुभूमि जस्तै रहेको पश्चिम चितवनको मेघौली सिँचाइका कारण बन्यो हराभरा



पहिलोपोस्ट

मरुभूमि जस्तै रहेको पश्चिम चितवनको मेघौली सिँचाइका कारण बन्यो हराभरा
फोटो : रासस

चितवन : पश्चिम चितवनको मेघौलीको उच्च भाग विगत तीन वर्षअघिसम्म मरुभूमिजस्तै थियो। दिउँसोमा यहाँका बारीमा रुखो र फुस्रो धुलो उड्ने यस क्षेत्रका कृषकले हरियाली देख्न कि त निकुञ्ज जानुपर्थ्यो भने कि त बर्खानै कुर्नुपर्ने हुन्थ्यो।

वर्षमा दुई खेती तोरी र तिल मात्रै लगाएर गुजारा गर्दै आएका भरतपुर महानगरपालिका-२७ बुद्धनगरका किसानहरु अहिले डिप ट्युबेलबाट सिँचाइ सुरु भएसँगै निकै उत्साहित भएका छन्। आर्थिक वर्ष २०७७/०७८ बाट जिल्लामा सञ्चालन गरिएको चितवन भूमिगत संयोजनात्मक सिँचाइ आयोजनाले काम गर्न थालेपछि भने यहाँका किसान हर्षित बनेका हुन्।

भरतपुर महानगरपालिका-२७ बुद्धनगरको नमूना कृषि तथा सिँचाइ उपभोक्ता समितिका अध्यक्ष टीकाराम अधिकारी आफू विसं २०२२ देखि बसोबास गर्दै आएको भए पनि सिँचाइको समस्या समाधानका लागि यसअघि खासै कसैले ध्यान नदिएको बताए।

उनले विगत सम्झँदै भने, ‘बोरिङबाट पानी आउँदा हाम्रो आँखाबाट हर्षका आँसु झरेका थिए। अहिले हामी बाह्रै महिना सिँचाइको व्यवस्था भएसँगै विभिन्न बाली लगाउँदै आएका छौँ।’

तीन वर्ष पहिला तोरी र तिल मात्रै खेती हुने भए पनि अहिले मौसमअनुसारको खेती र नगदे बालीतर्फ यहाँका कृषक केन्द्रित भएको उनले बताए।

उनले भने, ‘अहिले यस क्षेत्रमा सबै ठाउँमा सिँचाइको व्यवस्था छ। पहिला छाक टार्न समस्या हुने गरेको भए पनि अहिले एक सिजनमा मात्रै एक लाख रुपैयाँसम्म कमाइ हुने गरेको छ।’

अहिले सबैको बारीमा तरकारी र मकै देख्न सकिन्छ। स्थानीय गौरीमायाँ पौडेलले पहिले एक बिघा क्षेत्रफलमा काम गर्दा छाक टार्नसमेत कठिन हुने गरेको जनाउँदै अहिले भने त्यस्तो समस्या नरहेको बताइन्।

उनले भनिन्, ‘सिँचाइको व्यवस्था भएसँगै हामीलाई त्यस्तो समस्या छैन।’

उनका अनुसार यस क्षेत्रका किसान बिघौँ बिघा क्षेत्रफल भाडामा लिएर खेती गर्द थालेका छन्। स्थानीय धर्मपुर डिप ट्युबेल उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर क्षेत्रीले अहिलेको सिजनमा मकै र घाँस बेचेर मात्रै करिब एक लाख रुपैयाँ हाराहारीमा कमाइ भएको जानकारी दिए।

उनले पहिले खेती किसानीबाट घर चलउन नसकेपछि मेला मजदुरी गरेर घर छाक टार्ने गरेको स्मरण गरे।

उनले भने, ‘सिँचाइको व्यवस्था भएसँगै अब मैले पहिलाको काम छोडेर कृषि कर्ममा लागेको छु।’

यस क्षेत्रमा विदेशबाट फर्केकाले जग्गा भाडामा लिएर तरकारी र अन्य खेती गर्न थालेको उनले बताए।

सिँचाइको अभाव र अशिक्षाका कारणले समेत वैदेशिक यात्रामा गएका नेत्रप्रसाद भूसाल अहिले बिहानदेखि बेलुकासम्म तरकारी बारीमा नै तल्लीन छन्। उनी स्वदेश फर्किएको चार वर्ष भयो।

यहाँ सिँचाइको व्यवस्था भएपछि उनी पुनः विदेश जाने मनलाई परिवर्तन गर्दै जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन्। उनका अनुसार यो क्षेत्र पहिला मरुभूमिजस्तै हो। अहिले सिँचाइको व्यवस्था भएसँगै हराभरा भएको छ।

उनले भने, ‘अब विदेश जाने सोच परिवर्तन भइसक्यो। यही केही गर्ने हो।’

यस क्षेत्रमा किसान बर्सातमा पर्ने आकाशे पानीको भरमा खेती गर्नुपर्दा पर्याप्त पानीको अभावमा दुःख पाएका थिए। सिँचाइका लागि पर्याप्त पानी नहुँदा गाई बाख्रा, कुखुरा पालेर जीविकोपार्जन गर्दै आएको टेलिटावर बोरिङका अध्यक्ष बलबहादुर गुरुङको भनाइ छ।

आफूहरुले विसं २०५७ मा राप्ती नदीबाट पानी ल्याउनका लागि प्रयास गरेको भए पनि त्यो असफल भएपछि यस क्षेत्र आकासे पानीको भरमा मात्रै सिँचाइ गर्नुपरेको उनी बताउँछन्। राप्ती नदीबाट इनार खेर लिफ्टिङबाट पानी ल्याउने प्रयत्न गरे पनि पछि इनार बर्सातको समयमा पुरिएर त्यो योजना असफल भएको उनले बताए।

त्यसपछि यहाँका जनता सधैँ तोरी र तिलको भरमा बस्नुपर्ने बाध्यता रहेको भए पनि अब भने त्यो समस्या नरहेको उनको भनाइ छ। त्यस क्षेत्रमा मात्र आठ वटा डिप ट्युबेल जडान गरिएको छ। एउटा ट्युबेलले ३५ बिघा क्षेत्रमा सिञ्चित गर्दछ।

महानगर प्रमुख रेनु दाहालले सो क्षेत्र सुक्खाग्रस्त भएपछि सिँचाइको व्यवस्था गरिएको जानकारी दिइन्। उनले भनिन्, ‘पहिलो कार्यकालमा हामीले सुरु गरेका योजनाले प्रतिफल दिन थालेका छन्।’

चितवन भूमिगत संयोजनात्मक सिँचाइ आयोजनाले जिल्लाका तीन हजार दुई सय ६० बिघा क्षेत्रफलमा सिँचाइ पुर्‍याएको छ। चितवन र मकवानपुर क्षेत्रमा गरी यस कार्यालयले हालसम्म तीन हजार छ सय १० बिघा क्षेत्रफलमा सिँचाइको व्यवस्था गरेको कार्यालयका संयोजक देवकुमार स्याङ्वोले जानकारी दिए।

चितवनको छ वटा पालिका र मकवानपुरका तीन पालिकामा अहिले कार्यक्रम लागू भइरहेको छ। यस क्रममा चितवनमा तीन सय ६० स्थानमा स्यालो ट्युबेल र ५२ वटा डिप ट्युबेल स्थापना गरी सञ्चालनमा ल्याइएको उनले बताए।

मकवानपुरमा १० डिप ट्युबेल सञ्चालनमा ल्याइएको छ। यस आयोजना १० हजार पाँच सय हेक्टर क्षेत्रफल सिँचाइ गर्ने योजनाका साथ स्थापना भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell