PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

के सिग्नलमा गडबडी हुँदा ओडिशामा रेल दुर्घटना भएको हो? सीबीआइलाई अनुसन्धानको जिम्मेवारी दिने तयारी



पहिलोपोस्ट

के सिग्नलमा गडबडी हुँदा ओडिशामा रेल दुर्घटना भएको हो? सीबीआइलाई अनुसन्धानको जिम्मेवारी दिने तयारी
Photo : Dibyangshu Sarkar/AFP/Getty Images

ओडिशामा भएको रेल दुर्घटनाको अनुसन्धानको जिम्मेवारी केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआइ)लाई दिन सिफारिस गरिएको छ। २७५ जनाको मृत्यु हुने गरि भएको सो दुर्घटनाको कारण पत्ता लगाउन र दोषीलाई कारवाहीको दायरामा ल्याउन रेल बोर्डले सो सिफारिस गरेको हो। भारतीय अधिकारीहरुले आइतबार २८८ जनाको मृत्यु भएको बताए पनि पछि मृतकको संख्या घटाएका थिए। यो दुर्घटनामा करिब एक हजार मानिस घाइते भएको र एक सयजनाको अवस्था गम्भीर रहेको बताइएको छ। 

शनिवार दुईवटा यात्रुबाहक र एउटा मालबाहक रेल एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो। भारतीय मिडियाका अनुसार प्रारम्भिक अनुसन्धानमा ‘सिग्नलमा गडबडी’ हुँदा यो दुर्घटना भएको अनुमान गरिएको छ। यो दुर्घटना ‘षड्यन्त्र’ पनि हुन सक्ने बारे बोर्डले अस्वीकार गरेको छैन।

तर, रेलवे सिग्नल व्यवस्थाका प्रमुख कार्यकारी निर्देशक सन्दीप माथुरले भने सिग्नल दिँदा कुनै गल्ती नभएको दाबी गरेका छन्। यद्यपि, उनले दुर्घटनाको कारण पनि पत्ता लगाउनै पर्नेमा जोड दिएका छन्। यो दुर्घटनाका बारेमा गृहमन्त्रालयमा पनि पटकपटक बैठक बसिरहेको छ।

रेल दुर्घटनापछि अहिले केन्द्र सरकारको आलोचना भइरहेको छ। विशेषगरि विपक्षीले रेल मन्त्री अश्विनी वैष्णवको राजीनामा माग गरिरहेका छन्। पछिल्लो १० वर्षमा १५ जना रेल मन्त्री भारतले पाइसकेको र रेल दुर्घटनामा कमी नआएको भन्दै राजनीतिक नेतृत्वसँग प्रश्न पनि गरिएको छ। नरेन्द्र मोदी सरकारले रेल दुर्घटना रोक्ने उद्देश्यले ‘कवज’ प्रणाली लागू गरेको जनाएको थियो। तर, यो दुर्घटना भएको स्थलमा सो प्रणाली लागू नभएको पाइएको छ। त्यसकारण पनि मोदी सरकारको आलोचना भइरहेको हो। रेल अधिकारीहरुले भने कवजले पनि सो दुर्घटनालाई रोक्ने अवस्था नरहेको तर्क गरिरहेका छन्। 

यसबिच मोदी आफै दुर्घटनास्थल पुगेका थिए। तर, दुर्घटना स्थल पुग्दा उनका समर्थकले ‘मोदी मोदी’को नारा लगाएका थिए। यस हर्कतलाई विपक्षीहरुले ‘अक्षम्य’ भन्दै विरोध गरिरहेका छन्। यस्तै, रेल मन्त्री राजन पनि बिना हेल्मेट दुर्घटना भएको रेलका डिब्बा भित्र गएको भिडियो सार्वजनिक भएको छ। यसलाई लिएर पनि सामाजिक संजालमा विरोध भइरहेको छ। केही भिडियोमा भने उनले हेल्मेट लगाएको देखिन्छ।

दुर्घटनामा मृत्यु भएका सयौं व्यक्तिको पहिचान खुल्न सकेको छैन। केन्द्र सरकार र राज्य सरकारहरुले मृतक र घाइतेहरुका लागि राहत प्याकेजको घोषणा गरेका छन्। तर, पीडित परिवारहरु भने आफ्ना आफन्तको शव पहिचान कुरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell