PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

तराईमा 'हिट वेभ', काठमाडौं पनि हपहपी : तातो हावा र लूबाट कसरी बच्‍ने?



पहिलोपोस्ट

तराईमा 'हिट वेभ', काठमाडौं पनि हपहपी : तातो हावा र लूबाट कसरी बच्‍ने?
Map : Meteorological Forecasting Division

काठमाडौं : करिब एक सातादेखि अधिकांश स्थानमा तापक्रम बढिरहेको छ। मध्य तराईमा ‘हिट वेभ’ को चेतावनी दिइएको छ। गर्मी बढ्दा स्वास्थ्यको जोखिम बढ्ने र ‘लू’ लाग्‍ने हुँदा तराईका जिल्लाहरुका विद्यालय नै बन्द गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले तातो हावा र ‘लू’ लाग्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन भनेको छ।

‘देशभरको अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ। आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्दै जाने देखिन्छ,' महाशाखाले भनेको छ, 'तसर्थ, देशका तराई भू-भागहरूमा आगामी  पाँच दिन सम्म तातो हावा तथा लू (हिट वेभ) लाग्न सक्ने सम्भावना रहेकोले सो बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। साथै पहाडी भू-भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहनु हुन अनुरोध छ।'

तराईमात्र होइन, काठमाडौंमा समेत तातो हावा चल्न थालेको छ। काठमाडौं उपत्यका लगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक बृद्धि भइरहेको र देशको तराई भू-भागमा, मुख्यतयाः मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको छ।

महाशाखाले तातो हावा तथा लू बाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने,  चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्‍न विभिन्न उपाय अपनाउन सुझाएको छ।

तातो हावा तथा लूबाट बच्‍न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नबस्ने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell