
बुटवल : पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१४ पर्सावलमा श्रीमान्को हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय हशिवुन निशा रहेको प्रहरीले जनाएको छ।
गत बिहीवार राति भारतीय नागरिकसँग मिलेर २९ वर्षीय श्रीमान् अब्दुल नसिम खाँको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार मोबाइलको डाटा केबलले घाँटी कसेर हत्या गरेपछि खेतमा गाडिएको अवस्थामा शव फेला परेको थियोे।
हत्या गर्न सहयोग गर्ने भारतीय नागरिक र हशिवुन भारतमा सँगै पढेका साथी रहेको प्रहरीले जनाएको छ। उनीहरू विगत दुई वर्षदेखि सम्पर्कमा रहेका थिए।
आफ्नाे सम्बन्धका बारेमा श्रीमान्ले थाहा पाएपछि हशिवुनले हत्याको योजना बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ। हत्यापछि हशिवुनले आफ्ना श्रीमान् बिहीवार रातिदेखि हराएको भन्दै खोजीका लागि प्रहरीमा उजुरी दिएकी थिइन्।
तर अनुसन्धान गर्दै जाँदा आफैँले श्रीमान्को हत्या गरेर प्रहरीमा उजुरी दिन आएको तथ्य खुलेको हो। उनले श्रीमानले आफूलाई बारम्बार घरेलु हिंसा गर्ने, बालबच्चाको हेरचाह नगर्ने गरेपछि साथीलाई बोलाएर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेकी छन्।
प्रहरीले हत्यामा संलग्न भारतीय नागरिकको नाम खुलाएको छैन। फरार रहेका उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
हत्या आरोपमा उनीहरूमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए।