PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अघिल्लो शताब्दीबाट सुरु भएको इब्राहिमोभिचको सुनौलो फुटबल करियर



पहिलोपोस्ट

अघिल्लो शताब्दीबाट सुरु भएको इब्राहिमोभिचको सुनौलो फुटबल करियर
Photo: Getty Images

ज्लाटन इब्राहिमोभिचले फुटबलबाट सन्न्यास लिएका छन्। इटालीको क्लब एसी मिलानका इब्राहिमोभिचले ४१ वर्षको उमेरमा फुटबलबाट सन्न्यास लिएका हुन्।

‘फुटबलबाट बिदा भएँ तर तपाईँहरुबाट भने होइन,’ स्विडेनका इब्राहिमोभिचले सिजनको अन्तिम खेलमा आइतवार फ्यानहरुमाझ भनेका छन्।

इब्राहिमोभिचले यसअघि नै एसी मिलान छोड्नै घोषणा गरिसकेका थिए।

उनले आफ्नो करियरमा पीएसजी, म्यानचेस्टर युनाइटेड, एसी मिलान र इन्टर मिलानलगायत क्लबको लागि ५११ गोल गरे। उनले चार देशमा 'लिग टाइटल'समेत जिताए।

इब्राहिमोभिचले एसी मिलानको लागि दोस्रोपटक सन् २०२० देखि खेल्न सुरु गरेका हुन्। क्लबलाई २०११ मा स्कडेट्टो जिताउन मद्दत गरेका उनले गत सिजनमा पुनः जित दिलाएका हुन्।

तर सो क्रममा उनले चार पटकमात्रै खेल्ने अवसर पाए। यो टर्ममा उनले ‘सिरी-ए’तर्फ एक खेल खेलेका थिए। जसमा उनले एक गोल गरे। बारम्बारको ‘इन्जुरी’का कारण उनी मैदानमा उत्रिन सकेनन्। यसै महिना क्लबसँगको उनको सम्झौता सकिन लागेको थियो।

‘मसँग व्यक्त गर्न थुप्रै भावना आएका छन्। फोर्जा मिलान एण्ड गुडबाइ,’ भावुक बनेका ज्लाटनले आँसु रोक्दै भने, ‘पहिलोपटक म यहाँ आउँदा तपाईँहरुले खुसी दिनुभयो अनि दोस्रो पटक आउँदा माया।’

उनले अघि भने, ‘तपाईँहरुले मलाई खुला मनले स्वागत गर्नुभयो, आफ्नै घरमा आएको जस्तो महसुस गराउनुभयो। म जीवनभर 'मिलानिस्टा' रहनेछु।’

Photo: Marco Luzzani


अघिल्लो शताब्दीमा सुरु भएको करियरमा इब्राहिमोभिचले हालसम्म ३४ ट्रफी जितेका छन्, जसमध्ये १४ वटा लिग टाइटल रहेका छन्। साथै, उनी ११ पटक ब्यालोन डी'ओरको लागि छनोटसमेत भएका थिए।

१२२ खेलमा ६२ गोल गरेर स्विडेनमा सर्वाधिक गोलकर्तासमेत रहेका उनले अन्तर्राष्ट्रिय फुटबलबाट समेत सन्न्यास लिएका छन्। उनले २०१६ को युरो कपपछि राष्ट्रिय टोलीबाट सन्न्यास लिएको भएपनि २०२१ मा पुनः विश्वकप छनोटको लागि पुनरागमन गरेका थिए। तर उनको टोली विश्वकपमा भने छनोट हुन सकेन।

इब्राहिमोभिचको सुनौलो करियर

इब्राहिमोभिचले आफ्नो व्यावसायिक करियर सन् १९९९ मा स्थानीय माल्मो एफएफबाट सुरु गरेका थिए। त्यहाँबाट उनी सन् २००१ मा तीन वर्षको सम्झौतामा आयाक्स पुगे। जहाँ उनले तीनवटा लिग उपाधि जितेका थिए।

सन् २००४ मा उनी युभेन्टसको लागि खेल्न इटाली पुगे। जहाँ उनले दुई लिग टाइटल जिते। तर ‘क्याल्सियोपोली प्रकरण’का कारण ती दुवै टाइटल क्लबबाट खोसिएको थियो।

पछि उनले अर्को क्लब इन्टर मिलानमा गएर तीन ‘सिरी-ए’ टाइटल जिते। त्यसपछि २००९ मा उनी बार्सिलोना गएका थिए।

क्याटालान क्लबमा उनले एक सिजनमात्र बिताए। 'लोन'मा एसी मिलानमा जानुअघि उनले बार्सिलोनाबाट ला लिगा जितेका थिए। उनको त्यो ‘ट्रान्सफर’ सन् २०११ मा स्थायी बनेको थियो।

तर त्यसको एक वर्षपछि उनले फ्रेन्च क्लब पीएसजीसँग ‘साइन’ गरे। जहाँ उनले १२२ खेलमा १२३ गोल गरे भने चार ‘लिग वान’ ट्रफीसमेत जित्न सफल भए।

सन् २०१६ को जुलाइमा उनी दुई वर्षे सम्झौतामा म्यान्चेस्टर युनाइटेड पुगे। त्यस्तै उनी २०१८ मा एलए ग्यालेक्सीको लागि खेल्न क्यालिफोर्नियासमेत पुगे। त्यहाँ दुई सिजन खेलेपछि उनी पुनः एसी मिलानमा फर्किएका थिए। -बीबीसीमा प्रकाशित सामग्रीको भावानुवाद



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell