PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पुरानै ढर्रामा पार्टी चल्न नहुने गगनको भनाइ : क्रियाशीलले नै कांग्रेसलाई मत हाल्दैनन्



पहिलोपोस्ट

पुरानै ढर्रामा पार्टी चल्न नहुने गगनको भनाइ : क्रियाशीलले नै कांग्रेसलाई मत हाल्दैनन्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गुटका कारण कांग्रेस उम्मेदवारले हार्नुपर्ने अवस्था आएको बताएका छन्। प्रशिक्षण विभाग लुम्बिनीको आयोजनामा दाङको लमहीमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा महामन्त्री थापाले उक्त भनाइ राखेका हुन्। 'हाम्रो पार्टीमा तलदेखि माथिसम्म गुट छ। वडाको क्रियाशील बनाउनेदेखि महाधिवेशनसम्म गुट हुन्छ,' थापाले भने, 'हाम्रो कल्चर नै यस्तो। टिकट बाँड्दा त्यो देखिन्छ। एउटाले नपाएपछि अर्को हराउन लाग्छ। त्यसपछि बरु अर्कोले मत हाल्छ, क्रियाशीलले मत हाल्दैन।'

यसका लागि कांग्रेस बदलिनुपर्ने उनको भनाइ रह्यो। कांग्रेस पुरानै ढर्रामा चलाउनुपर्ने कतिपयलाई लाग्न सक्ने उल्लेख गर्दै यसो गरेमा ठूलो भूल हुने थापाले बताए। 'वर्षौदेखि यसरी चल्दै आएको छ भन्ने कतिलाई लाग्दोरहेछ। नेपाली समाज यति धेरै बदलिसक्यो,' थापाले भने, 'हिजोकै चालबाट चल्दैन। चल्छ भन्ने सोचे ठुलो भुल हुनेछ।'

कांग्रेसलाई बदल्न प्रत्येक कांग्रेसी बदलिनुपर्ने आवश्यकता गगनले औंल्याए। 'यसलाई कसरी बदल्ने? अब छलफल गरौं। पार्टीको टिकट किन माथिको मान्छेले दिने? अब दाङको क्षेत्र नम्बर १ मा कसले टिकट पाउने भन्दा काठमाडौंमा बस्ने र दाङको कुनै गुटको मान्छेले गर्ने,' थापाले भने, 'यो हुँदैन। टिकट पाउन दाइ दाइ हैन अब भाइ भाइ भन्नुपर्छ। पार्टी पुरै माथितिर हेर्नुपर्छ। यसलाई उल्टाइदिउँ। सबै तलबाट आउनुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell