काठमाडौं: बोली जस्तो होस, विरोध गर्ने सांसदले आरोप लगाइहाल्छन् - असंसदीय। शब्द अनुकूल भए समर्थन र प्रतिकूल भए विरोध। यो नौलो भएन, प्रतिनिधि सभाका सांसदका लागि। सांसदको बोली रेकर्डबाटै हट्नु सामान्य भइसक्यो राजनीतिक प्रतिशोधमा।
नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालको बोली जेठ १२ मा हट्यो संसद्को रेकर्डबाट। जेठ १० मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई दाहालले आरोप लगाएका थिए - पशुपतिमा सुनको लगाउने भनेर पित्तल लगाइदिएर भ्रष्टाचार गरेका प्रकरण छन्। ओली प्रधानमन्त्री हुँदा पशुपतिमा लगाइएको जलहरी विवादलाई संसदमा प्रवेश गराएका थिए दाहालले।
दाहालको अभिव्यक्ति रेकर्डबाट नहटाउन्जेल एमाले यति आक्रामक बन्यो कि सत्ता गठबन्धन दबाबमा आएर हटाउन बाध्य नै हुनुपर्यो। जेठ १३ मा दाहालको बोली रेकर्डबाट हटाउन निर्देशन दिए सभामुख देवराज घिमिरेले।
यी दुई उदाहरणसँगै असंसदीय भन्दै रेकर्डबाटै सांसदको अभिव्यक्ति हटाउने क्रम यसमै सीमित छैन। जेठ ७ को प्रतिनिधि सभाको बैठकमा एमालेका सांसद दयालबहादुर शाही पनि विवादमा परे। ‘कांग्रेसले गहतको झोलमा जात फालेको’ भन्दै बिपीको सिद्धान्त छोड्न सङ्कोच लागेन? भन्दै कांग्रेसका नेताको नाम लिएपछि कांग्रेसले नियमापत्ति गर्यो। उपसभामुख इन्दिरा रानामगरले सचिवालयलाई शाहीका बोली रेकर्डबाट हटाउन निर्देशन दिइन्।
सोमबार पनि असंसदीय भन्दै रेकर्डबाट हटाउन राजनीतिक प्रतिशोधको बाटोमा माओवादी सांसद पुगे। प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालको बोली असंसदीय भएको भन्दै माओवादीले आक्रोश व्यक्त गर्यो। ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भैँसी चढेर आएको’ खनालको आरोपमा माओवादीले असंसदीय भएको दाबी माओवादीको थियो। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद्को रेकर्डबाट खनालको आरोप हटाउन माग गरे - यो असंसदीय भाषा संसद्को रेकर्डबाटै हटाइयोस्। प्रचण्डको भ्रमणका क्रममा भारतबाट १५ मुर्रा राँगा नेपाल भित्रिएको विषयलाई प्रधानमन्त्रीको भ्रमणसँग जोडेका थिए खनालले।
खनालको अभिव्यक्तिले संसद् तनावपूर्ण बन्यो। प्रतिपक्षी खनालको बचाउमा र सत्तापक्ष प्रचण्डको बचाउमा उत्रिए। ‘यो हटाउने भए स्वयम प्रधानमन्त्रीले भनेको पनि हटाऊ हामीलाई केही आपत्ति छैन,’ रास्वपाका सभापति रवि लामिछाने खनालको बचाउमा उत्रिए।
आरोप प्रत्यारोपको क्रम नरोकिएपछि सभामुख देवराज घिमिरेले संसद् सचिवालयलाई निर्देशन दिए - जसले भनेको भए पनि संसद्को रेकर्डबाट हटाउन निर्देशन दिन्छु। भारत भ्रमणबारे प्रचण्डले प्रष्टीकरण दिँदा भैँसीमा चढाएर आफ्नो आलोचना भएको प्रसङ्ग कोट्याए।
‘भैँसीको कुरा अहिले भएको कुरा होइन। आजभन्दा ७ वर्ष अगाडि भएको रहेछ। आएको मात्रै अहिले हो। राँगा हो राँगा, मुर्रा,’ भैँसी/राँगाबारे प्रचण्डको प्रष्टीकरण थियो। प्रचण्डकै बोली पनि संसदकै रेकर्डबाट हट्यो। कारण- राँगा/ भैँसी। कतिसम्म राँगा भैँसीले प्राथमिकता पाए भने प्रतिपक्षी दलको नेता ओलीले समेत छुटाएनन् भैँसी चढ्ने प्रसङ्ग।
‘ल्याएको १५ वटा राँगा नै हो चढेर आए पनि डोर्याएर ल्याए पनि,’ ओलीले प्रचण्डको भारत भ्रमणलाई राँगोसँग तुलना गरेर प्रश्न गरे। तर ओलीले राँगो भैँसी प्रसङ्ग बहसका लागि लायक नै नभएको तर्क गरे। उनले सामान्य विषयमा अल्झिने समय नै नभएको भन्दै विषयान्तर गराउन खोजेको आरोप लगाएका थिए सत्तापक्षलाई।
यसरी राँगो/भैँसी बहसमा भाग लिने सांसदको संख्या कम्ती थिएन। एमालेकै अर्का सांसद रघुजी पन्तले पनि राँगो भैँसीबारे बोल्न भ्याए। ‘जब अर्को पक्षले भैँसी चढेर भनेको हटाइन्छ प्रधानमन्त्रीले प्रयोग गरेको शब्द पनि हटाइयोस्,’ पन्तको माग रह्यो।
संसदमा भैँसी/राँगोको विषयले चर्काचर्की नै भयो। विपक्षीले आलोचना लागि र सत्ता पक्षले बचाउका लागि ‘राँगा/भैँसी चढेको’ प्रसङ्ग दोहोर्याइ रहे। हुन त विपक्षीले प्रचण्ड भारत भ्रमण गएकै दिन जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरणलाई लिएर प्रश्न नउठाएको होइननन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २ पटक रोकेको नागरिकता विधेयकलाई पौडेलले प्रमाणीकरण गरेपछि आमनेसामने छन् सत्ता र प्रतिपक्ष।
प्रचण्डले सरकारको अनुरोधमा राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको र पूर्वराष्ट्रपति भण्डारीले गरेको संविधान डिरेल सही ठाउँमा आएको बताएपछि विपक्षीले रोष्ट्रममा रहेका प्रचण्डलाई अप्ठेरोमा पारेका थिए। लगतै सभामुख घिमिरेले एमालेका सांसद रघुजी पन्त र सूर्य थापालाई बोल्न दिए। ‘अदालतको अन्तरिम आदेशले पुष्टि गर्छ। प्रधानमन्त्रीले यहाँ व्याख्या गर्ने होइन,’ पन्तले भने। सर्वोच्च अदालतले आइतबार नागरिकता विधेयक यथास्थितिमा राख्न अन्तरकालीन अन्तरिम आदेश दिएको छ।
एउटा विषयका लागि समय मागेर राँगा-भैँसीका लागि समय खर्चिने सांसदको बानी नयाँ भने होइन। यसअघि नीति तथा कार्यक्रममाथिको बहस पनि प्रचण्ड- ओलीको छायामा परेको थियो। सत्तापक्ष ओलीको विरोधमा र ओली प्रचण्डको विरोधमा उत्रिएपछि विषय केन्द्रित हुन सकेको थिएन त्यतिबेला पनि। यसरी विषयान्तर गर्ने सांसदलाई सभामुखले ‘ब्रेक’ लगाइदिन भने सक्छन्।
प्रतिनिधि सभा नियमावली २०७९ को नियमलाई सम्झाएर विषयमा केन्द्रित हुन सभामुखले ध्यानाकर्षण गर्न सक्ने भए पनि घिमिरेले त्यसो गरेको भने देखिन्न। बरु विवाद भएपछि मात्रै घिमिरे सांसदलाई संयमित रहन आग्रह गर्छन्। सोमबारै सभामुख घिमिरेलाई नै सांसदहरूले आरोप प्रत्यारोप गरेर अप्ठेरोमा पारेका थिए।
‘माननीय सदस्यहरू पालोपालो बोल्नुपर्छ। बसौँ। यहाँले आसनग्रहण गरौँ। समय लिएर प्रणाली अन्तर्गत हामी अगाडि बढ्छौँ,’ सभामुखले आफैँलाई सांसदले अप्ठेरोमा पारेपछि भनेका थिए, ‘ सबै बोलेर सुनिँदैन पनि। यो प्रणाली हुँदैन पनि।’