सेतो पर्दामा मुसाहरु दौडन थाल्छन्- खुरखुर खुरखुर गर्दै।
‘सुन, सुन, सुन, कथा सुन्ने हो…!’ पर्दामा टक्क अडिएर मुसा ठुलो स्वरमा कराउन थाल्छ।
‘सुन्ने हो’ धेरै मुसाको आवाज सुनिन्छ।
‘कथा सुन्ने भए चौतारीमा आउँ है,’ ठूलै स्वरमा अघिकै मुसाले बोलाउँछ।
सेतो पर्दामा मुसाहरु कथा सुन्न जम्मा हुन्छन्। कुनै बेला नेपाल टेलिभिजनमा प्रसारण हुन्थ्यो- मुमिन। मुमिनका पात्रहरु निकै रोचक लाग्थ्यो। पर्दामा मुसाको दौडधुपले मुमिन हेर्दाको क्षण याद आयो।
‘एकादेशमा एउटा भिखारी थियो। उ मागेर खाने गर्थ्यो,’ बुढो मुसाले कथा सुरु गरिहाल्छन्।
‘एकादेशमा एउटा…’ आवाज गुञ्जिएसँगै बाल्यकालको ‘नोस्टाल्जिक’ पो भइयो। बाजेबज्यै र आमाबुवाले यही शैलीमा कथा सुनाउनुहुन्थ्यो।
यतिबेला भने मण्डला थिएटरको नाटक हलमा। दर्शक कथा सुन्न कान ठाडा पार्दै चुपचाप छन्।
ची मुसी ची आज कता जाउँ
खानाखाजा सकिएछ के के खोजी खाउँ
अब खानाखाजा खोजी खाने, आफ्नै आफ्नै सुरले
आफूआफू बाटो लागौँ, केही हुँदैन करले
म लुकी बस्दिनँ है बिरालोको डरले
गीत गाउँदै मुसा भिखारीको घर पुग्छन्। अनि धमाधम चपाउन थाल्छन् चामल। भिखारी मागेर ल्याउँछन्। बचेको चामल सिध्याउन मुसाहरु पुगिहाल्छन्।
भिखारीले मुसा आए-गएको पत्तो पाउँदैनन्। जब चामल रित्तिएको थाहा पाउँछन्, भिखारी मुसासँग मुर्मिरिन्छन्।
‘एकदिन त कसो नभेटिएला चोर मुसालाई?’ नाटक हेर्दै गर्दा यस्तै लाग्छ। नभन्दै चामल खाँदै गर्दा मुसा भेट्टाउँछ भिखारीले।
‘तलाई अरुको घरमा चोरेर खान लाज लाग्दैन? जा धनी मानिसको घर,’ भिखारीले हप्काउँछ मुसालाई।
‘हेर मैले मेरो भाग्यमा जे छ नि, त्यही खान पाउँछु,’ कस्तो अटेरी मुसा। भिखारीसँगै मुखमुखै गर्न पो उत्रिन्छ।
‘कसले भनेको हो?’ भिखारीको रिसको पारो बढ्छ।
‘मेरो कुरा विश्वास लाग्दैन भने बुद्धलाई गएर सोध,’ चुनौती पो दिन्छ मुसाले। भिखारी पनि के कम! चुनौती सामना गर्न तयार हुन्छ।
त्यसपछि सुरु हुन्छ भिखारीको बुद्ध खोज्ने यात्रा। यात्राको क्रममा भिखारीले शुरुमा धनी व्यक्ति भेट्छन्। जसले भिखारीको यात्राबारे सोध्छन्। धनी व्यक्तिको आफ्नै प्रश्न। यो प्रश्नको जवाफ बुद्धसँग माग्न उनले आग्रह गर्छन्।
त्यसपछि बाटोमा भेट हुन्छ जादुगरसँग। जादुगरको आफ्नै समस्या। जाँदाजाँदा कछुवाले पनि आफ्नो आकंक्षा सुनाउँछन्। भिखारीले चारवटा प्रश्नको जवाफ बुद्धबाट लिनुपर्ने भयो।
के भिखारीले बुद्धबाट सबै प्रश्नको जवाफ पाउलान् त? र, बुद्धलाई भेटेपछि मुसाले भनेको कुरा प्रमाणित होला त?
त्यो थाहा पाउन भने ‘बुद्ध र भिखारी’ नाटक हेर्नैपर्छ।
नाटकमा ‘पपेट स्याडो’को प्रयोग
‘बुद्ध र भिखारी’मा ‘पपेट स्याडो’ थिएटरको प्रयोग गरिएको छ। जहाँ स्याडो प्लेमा पपेटको चरित्रबाट नाटकको कथा भनिएको छ।
नाटकमा मुसा, कछुवा, कुखुरा, चरा हिँड्छन् अनि बोल्न थाल्छन्। पपेटको प्रयोगले नाटकलाई रोचकता थपेको छ।
अहिले कलाकारहरुको प्रस्तुतिसहितको ‘लाइभ प्ले’ हेर्ने दर्शकलाई स्याडो पपेट्रीको स्वाद नौलो लाग्न सक्छ।
लोककथामा आधारित ‘बुद्ध र भिखारी’ले बुद्धको दर्शनलाई अघि सारेको छ। जहाँ एक भिखारीको यात्रामार्फत बुद्धको विचार र ज्ञानलाई समेटिएको छ। अरुलाई सच्चा मनले सहयोग गर्दा मिल्ने सन्तृष्टि र लाभको विषयवस्तु नाटकको मूल कथा हो।
पपेटहरुको प्रस्तुति, कोरस कलाकारहरुको कथा वाचन शैली र गीतसंगीतको संयोजनले नाटकलाई बलियो बनाएको छ। पर्दा पछाडिबाट पपेटलाई चलाउने कलाकारको मिहिनेत नाटकमा झल्किन्छ।
त्यसैगरि, नाटकमा प्रयोग गरिएको पूर्वेली लवज र सटिक संवादले दर्शकलाई बाँधिराख्छ।
‘ओ, दिदी यो बाटो कहाँसम्म जान्छ हो,’ भिखारीले बाटो सोध्छन्।
‘उ...पल्लो बाटोसम्म पुग्छ होला! होइ’ महिलाको जवाफ सुनिन्छ।
यो संवादले दर्शकदीर्घामा खित्का सुनिन्छ। यस्तै रमाइला संवाद र किस्सा पनि बेलाबेला सुनिन्छ नाटकमा।
पपेट शैलीको प्रस्तुतिले नाटक बालबालिकामात्रै भन्ने लाग्ला! तर, यो सबै उमेर समूहका लागि तयार पारिएको नाटक हो।
‘पपेट स्याडो प्ले’ विश्व रंगमञ्चमा पुरानै भएपनि नेपालमा भने खासै प्रयोगमा छैन। तर निर्देशक अनिल सुब्बाले यसपटक पपेटमा रिस्क मोलेका छन्।
त्यस्तै, सुब्बाले नै तयार पारेका गीतहरुले पात्रहरुको मुड र भावनालाई देखाउन सकेको छ।
अनिलको परिकल्पनामा बनेको ‘बुद्ध र भिखारी’लाई चेतन आङथुपोले नाट्य रुपान्तरण गरेका छन्। यस नाटकमा सौजन सेनेहाङ लिम्बू, रुपेश लामा, वेदना राई, प्रतिमा राई, सुनिल तामाङ, रमिता राई, नबिन चन्द्र अर्याल, मनिश मगर, मोहन राई, गणेश प्रसाद पौडेल लगायतका कलाकारहरुको अभिनय छ।
कसरी आँटे अनिलले?
२०७८ सालको फागुनतिर। बुद्ध थिएटर फेस्टिभलको लागि नाटक आव्हान गरिएको थियो। इलाममा रहेका अनिललाई फेस्टिभलमा सहभागी हुन मन लाग्यो।
बुद्धको दर्शनमा टेकेर नाटक गर्नुपर्ने। जसकारण बुद्धबारे अध्ययन गर्न थाले सुब्बाले।
‘बुद्ध इमान्दार र दार्शनिक हुन् भन्नेबाहेक अरु थाहा थिएन। बुद्धको कथालाई लिएर नाटक तयार गर्नुपर्ने भएकाले कथाहरु खोज्न थाले। बुद्धको जीवनीमा नाटक गर्नु गाह्रो थियो। सजिलो खोज्ने क्रममा ‘बुद्ध र भिखारी’को कथालाई नै नाटकको लागि चुने,’ उनले भने।
नाटक ‘फिक्स’ भएसँगै अनिलले गाउँमै भएका कलाकारसँग छलफल गरे। नाट्य रुपान्तरणको जिम्मा दिए चेतन आङ्थुपोलाई। नाटक तयार भएपछि चरित्र निर्माणको काम अघि बढ्यो।
सुरुमा कलाकारलाई लिएर नाटक रिहर्सल गराए। तर कुनै पनि कलाकारमा न त बुद्ध देखे न भिखारी।
त्यसपछि स्याडोबाट ‘फ्ल्यासब्याक’ स्टोरी देखाउने पनि सोचे। तर त्यो पनि चित्त बुझेन अनिललाई।
‘अन्त्यमा, सजिलो तरिका खोज्दै जाने क्रममा स्याडो पपेट्रीबाट नाटक गर्ने सोच आएको हो,’ उनले भने।
विश्वमा स्याडो पपेट्री पुरानो भएपनि नेपालमा भने पहिलोपटक प्रयोग गरिएको दाबी गर्छन् सुब्बा।
उनले भने, ‘विश्वमा यो शैली पुरानै भएता पनि नेपालमा भने पहिलोपटक हो। कम बजेट लाग्ने हुँदा चलिरहेको ट्रेन्डभन्दा नयाँ ट्राइ गरौँ न भनेर गरेको हुँ। मैले रिसर्च गर्दा जति भेटेँ र सिकेँ। त्यहीअनुसार गरेको हुँ। मान्छे नदेखिने, पपेटले काम गर्ने र संवाद बोले हुने। नाटकमा सबै नौलो कुराहरु देख्दा कलाकारले पनि रमाइलो मान्नुभयो। तर पछि त पपेट चलाउन गाह्रो भएर रुनुसमेत भएको थियो।’
नाटक ‘बुद्ध र भिखारी’लाई सुरुमा इलामको चुलाचुली-३ स्थित मिलन क्लबको सभाहलमा मञ्चन गरिएको थियो। त्यसपछि २०७९ बैशाखमा बुद्ध थिएटर फेस्टिभल र मंसिरमा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा समेत मञ्चन भएको थियो। चुलाचुली थिएटरको प्रस्तुति रहेको नाटक मण्डला थिएटरमा ३२ गतेसम्म जारी रहनेछ।