PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

लिगको ‘अप्स एण्ड डाउन्स’ : यस्तो रह्यो अंकतालिकामा धेरै उतारचढाव व्यहोर्ने चार टिमहरुको प्रदर्शन



मुकुन्द घिमिरे

लिगको ‘अप्स एण्ड डाउन्स’ : यस्तो रह्यो अंकतालिकामा धेरै उतारचढाव व्यहोर्ने चार टिमहरुको प्रदर्शन

काठमाडौं :  शहीद स्मारक ‘ए’ डिभिजन लिगको २४ औं चरण सकिएको छ। लिग अब सकिन लाग्दा उपाधि होडमा दुई वटा क्लब छन् : चर्च ब्वाइज युनाइटेड र मछिन्द्र क्लब। त्यसमा पनि आइतवार दोस्रो स्थानको मछिन्द्र क्लबले चौथो स्थानको नेपाल पुलिस क्लबसँग हार व्यहोरेसँगै शीर्ष स्थानको चर्च ब्वाइज बलियो अवस्थामा छ।

चर्च ब्वाइजले ४४ अंक जोड्दा दोस्रो स्थानको मछिन्द्रको ३९ अंक छ। अर्थात चर्च ब्वाइजले अब एक खेल जितेमात्रै पनि उपाधि जित्नेछ। मछिन्द्रका लागि बाँकी दुई खेल त जित्नु पर्नेछ। यसको साथै मछिन्द्रले चर्च ब्वाइजको दुबै खेलमा हारको पनि कामना पनि गर्नुपर्नेछ।

अर्कोतर्फ रेलिगेशन ब्याटल पनि उत्तिकै चर्चामा छ। २४ अंक जोडेर खुमलटार तालिकाको पुछारमा छ भने त्यसभन्दा माथि २६ अंक जोडेको फ्रेन्ड्स क्लब छ। त्यो भन्दा माथि अर्थात ८ देखि १२ औं स्थानसम्म रहेका त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ क्लब, संकटा क्लब र थ्री स्टार क्लबको समान ३० अंक छ।

जारी लिगमा केही क्लबहरु 'कन्सिस्टेन्ट' देखिए पनि धेरै क्लबहरुको प्रदर्शनमा एकरुपता छैन। पहिलो लेगका खेलहरु सकिँदा अधिकांशलाई लागेको थियो : यसपाला रेलिगेशनमा जाने पहिलो टोली नेपाल पुलिस क्लब बन्नेछ।

हालसम्मका २४ चरण मध्ये १३ वटा चरणमा पुलिस १४ औं स्थानमा अर्थात तालिकाको पुछारमा थियो। त्यस्तै एउटा चरणमा १३ औं स्थानमा रहँदा तीन वटा चरणमा १२ औं स्थानमा रह्यो पुलिस। एक पटक १० औं स्थानमा रहेको पुलिस एकपटक ८ र तीन पटक तालिकाको चौथो स्थानमा रह्यो।

पुलिसका प्रशिक्षक चेतनाथ घिमिरेले पुलिसको लक्ष्य शीर्ष तीनमा रहने बताएका छन् जुन अव्यवहारिक छैन।

क्रिकेट विश्वकप लिग २ मा नेपाली क्रिकेट टोलीले अन्तिमका खेलहरुमा नाटकीय रुपमा प्रदर्शन सुधार्दै विश्वकप छनोटमा स्थान बनाएको 'प्याट्रन' पुलिसको यसपालाको लिगको 'प्याट्रन'सँग मिल्छ। लिगको १० औं चरणसम्म ७ वटा पराजय, दुईवटा बराबरी र एउटामात्र जित निकालेको पुलिसले ११ औंदेखि २४ औं चरणसम्म आइपुग्दा दुई बराबरी, दुई हारसहित १० वटा खेलमा जित निकाल्न सफल भयो। र, लिगमा सानदार पुनरागमन गर्‍यो। समर्थकहरुले पुलिसको सफलताको श्रेय विदेशी खेलाडीलाई दिए पनि प्रशिक्षक चेतनाथ घिमिरेले भने पटकपटक हात परेको सफलताको श्रृङ्खलालाई 'टिम गेम'को परिणाम भन्दै आएका छन्।

लिगमा उतारचढाव व्यहोर्ने अर्को टोली हो मछिन्द्र क्लब। यसअघिका दुई सिजनमा च्याम्पियन बनेको मछिन्द्रको यो सिजन खराब सुरुवात भएको थियो। लिगमा पहिलो जित निकाल्नकै लागि पनि मछिन्द्रले चौथो खेल कुर्नुपरेको थियो। पहिलो र दोस्रो खेलमा पराजय व्यहोरेको मछिन्द्रले तेस्रो खेल बराबरी खेलेको थियो। यसक्रममा मछिन्द्र तालिकाको पुछार अर्थात १४ औं स्थानदेखि माथि उक्लिँदै दोस्रो स्थानसम्म आइपुग्न सफल भएको छ।

मछिन्द्रले दुईवटा चरणमा १४ औं, एकएक पटक १३ औं र १२ औं तथा दुई पटक ११ औं स्थानमा 'राउन्ड' टुंग्यायो। त्यस्तै, दुईपटक नवौं स्थान, एक पटक ८ औं स्थान, तीन पटक सातौँ स्थानमा रह्यो मछिन्द्र। छैटौँमा एकपटक, पाँचौँमा एकपटक, चौथोमा दुई पटक, तेस्रोमा तीन पटक तथा दोस्रोमा सर्वाधिक ५ पटक स्थान बनायो मछिन्द्रले। उपाधिकै होडमा रहेको मछिन्द्रलाई २४ औं चरणमा पुलिससँगको पराजयले धक्का दिएको छ।

लिगमा उतारचढाव धेरै ब्यहोर्ने अर्को टोली हो मनाङ मर्स्याङदी क्लब। लिगको विभिन्न चरणमा मनाङ पहिलो स्थानदेखि ११ औं स्थानसम्म रह्यो। युवा खेलाडी लिएर उत्रिएको मनाङले सातौं चरणसम्म राम्रो प्रदर्शन गरे पनि त्यसपछि जित निकाल्न ६ वटा लगातार हार कुर्नुपर्‍यो। त्यसपछि एउटा जित निकालेको मनाङले फेरि सातवटा बराबरी खेल्दा ११ औं स्थानमा समेटियो।

त्यस्तै, उतारचढाव देखेको अर्को क्लब हो : थ्री स्टार। जारी लिगमा सबैभन्दा धेरै बराबरी खेल्ने क्लबको सूचीमा तीनवटा क्लब छन्। तीनवटै क्लबले समान १० वटा खेल बराबरी खेलेका छन। यी तीन क्लबमा थ्री स्टार क्लब, हिमालयन शेर्पा क्लब, मनाङ मर्स्याङदी क्लब छन्।

लिगको पहिलो खेलमै हार ब्यहोरेको थ्री स्टारले दोस्रो खेलमा बराबरी खेलेको थियो। त्यसपछि विस्तारै प्रदर्शन सुधारेको थ्री स्टारले ११औं चरणसम्म पुग्दा दोस्रो स्थानसम्म पुगेको थियो। ११औं, १२ औं र १३ औं चरणमा दोस्रो स्थानमा रहेको थ्रीस्टारले १४ औं चरणबाट यता जित निकाल्न सकेको छैन। त्यसयता ६ वटा बराबरी र पाँच हार व्यहोर्दा १२ औं स्थानमा रेलिगेशनको भयसँग संघर्ष गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell