काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिगमा मंगलवार चार खेल हुँदैछन्। मंगलवारकै खेलमा नतिजा अनुकुल भएको खण्डमा लिगको च्याम्पियन र रेलिगेशनमा जाने पहिलो टोलीको टुंगो लाग्ने सम्भावना रहन्छ।
मंगलवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा खुमलटार एफसी र एपीएफ क्लब भिड्दैछन्। २४ खेलबाट २४ अंक जोडेको खुमलटार तालिकाको पुछारमा रहेको टोली हो भने समान खेलबाट ३० अंक जोडेको एपीएफ ९औँ स्थानमा रहेको टोली हो।
मंगलवारको खेलमा जित निकाले एपीएफले आफूलाई रेलिगेशनको भयबाट माथि उठाउने छ। खुमलटारका लागि भने आजको खेल 'गर या मर'को अवस्थाको हुनेछ।
अर्थात जित्नै पर्ने दबाब खुमलटारलाई रहनेछ। खेलमा पराजय ब्यहोरे जारी सिजन लिगबाट रेलिगेशनमा पर्ने खुमलटार पहिलो टोली बन्नेछ।
त्यस्तै, मंगलवार नै दशरथ रंगशालामा हुने खेलमा लिगले च्याम्पियन पाउने सम्भावना पनि छ। मंगलवार चर्च ब्वाइज र थ्री स्टार पनि प्रतिस्पर्धामा उत्रिदैँछन।
शीर्षस्थानको चर्च ब्वाइजले थ्री स्टारलाई हराए एक खेल अगावै चर्च ब्वाइज लिग च्याम्पियन बन्नेछ। थ्री स्टारले जित निकाले रेलिगेशन ब्याटलमा राहत महसुस गर्नेछ तर हार ब्यहोरे रेलिगेशनको दबाब चर्को पर्नेछ।
यो खेल दिउँसो ३ बजे सुरु हुनेछ। अंकतालिकामा चर्च ब्वाइज ४४ अंक जोडेर शीर्ष स्थानमा छ भने थ्री स्टार २८ अंक जोडेर तालिकाको १२ औँ स्थानमा छ।
तेस्रो खेलमा च्यासल स्टेडियममा विभागीय डर्बीको खेल हुनेछ। जसमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब खेल्नेछन्। आर्मीका लागि यो खेल चौथो स्थानमा उक्लने र पुलिसका लागि दोस्रो स्थानमा उक्लने अवसर हुनेछ। पुलिस ३७ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ भने आर्मी ३० अंक जोड्दै तालिकाको ८औँ स्थानमा छ।
मंगलवारको अन्तिम खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब दशरथ रंगशालामा साँझ ६ बजे भिड्नेछन्। ३७ अंक जोडेको जावलाखेल ३९ अंक जोडेको मछिन्द्र क्लबलाई पछि पार्दै दोस्रो स्थानमा उक्लने लक्ष्यमा हुनेछ भने ३२ अंक जोडेर पाँचौँ स्थानमा रहेको सातदोबाटो ३ अंक थपेर पाँचौँ स्थानमा आफूलाई बलियो बनाउने लक्ष्यमा रहनेछ।
चर्च ब्वाइज र खुमलटार एफसी यसै सिजन बी डिभिजनको क्रमशः विजेता र उपविजेता बन्दै ए डिभिजनमा उक्लिएका थिए।