काठमाडौं : सुदूरपश्चिम प्रदेश पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोधारा चादनी सुख्खा बन्दरगाह निर्माणको विषय उठाएका छन्। प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल गङ्गा दशहरा मेला उद्घाटन गर्न मंगलवार खप्तड पुगेका प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।
उनले पहिलेभन्दा फरक ढङ्गले आफू सुदूरपश्चिमको आर्थिक विकासमा लागेको बताए।
उनले भने, ‘स्वास्थ्य विज्ञान विश्वविधालय, दोधारा चादनीको सुख्खा बन्दरगाह, सीमापुल निर्माण लगायतका थुप्रै विकास आयोजनामार्फत सुदूरपश्चिम प्रदेशको विकासमा नेपाल सरकार विशेष ढङ्गले लागेको छु।’
प्रधानमन्त्री दाहाल सुर्खेतको वीरेन्द्रनगरबाट नेपाली सेनाको हेलिकप्टरबाट खप्तड पुगेको हुन्। गङ्गा दशहरा मेला खप्तड राष्ट्रिय निकुञ्जमा आयोजना गरिएको छ। निकुञ्जले बझाङ, बाजुरा, अछाम र डोटी जिल्लालाई ओगटेको छ।
प्रधानमन्त्री दाहालसँगै पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पराराष्ट्रमन्त्री एनपी साउद, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकलगायत पनि खप्तड पुगेका छन्। यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेशका मन्त्रीलगायत खप्तड पुगिसकेका छन्।