PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

ए डिभिजनमा उक्लिएको चर्च ब्वाइज पहिलो सिजनमै बन्यो च्याम्पियन



मुकुन्द घिमिरे

ए डिभिजनमा उक्लिएको चर्च ब्वाइज पहिलो सिजनमै बन्यो च्याम्पियन

काठमाडौं : चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ए डिभिजन लिगको च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलवार सम्पन्न २५ औं चरणको खेलमा थ्री स्टार क्लबलाई हराउँदै चर्च ब्वाइज च्याम्पियन बनेको हो।

बराबरीमा रोकिएको पहिलो हाफमा दुबै टोलीले केही अवसर बनाए पनि गोल हुन सकेन। खेलको ३८ औं मिनेटमा एरिक विष्टले प्रहार गरेको कर्नर बललाई ६ यार्डभित्र रहेका अनन्त तामाङले हेड गरेका थिए। उक्त बललाई थ्री स्टारका गोलकिपर अरुण ब्लोनले पञ्च गर्दै जोगाएका थिए।

दोस्रो हाफमा खेल आक्रामक बन्दै गयो। तर, गोल भने हुन सकेन।

दोहोरियो मनाङको कीर्तिमान

च्याम्पियन बनेको चर्च ब्वाइजले यसअघि मनाङ मर्स्याङदी क्लबले बनाएको दुर्लभ कीर्तिमानलाई दोहोर्‍याएको छ। विसं २०४० सालमा डी डिभिजन जितेको मनाङले ४१ सालमा 'सी' डिभिजन, २०४२ सालमा 'बी' डिभिजन जितेर लिग पिरामिडको शीर्ष डिभिजनमा पुगेको थियो।

२०४३ सालमा पहिलो पटक 'ए' डिभिजन लिग खेलेको मनाङले उपाधि नै जित्यो आफ्नो पहिलो सिजनमा नै। तर, मनाङ यतिमै रोकिएन। २०४४ र २०४६ मा पनि लगातार च्याम्पियन बन्दै नेपाली फुटबलमा आफ्नो दबदबा बनाउन सफल भयो। त्यसयता मनाङले २०५७, २०६०, २०६२, २०७० र २०७५ को लिग जित्न सफल भयो।

मनाङ जस्तै लगातार 'सी' डिभिजन, 'बी' डिभिजन र 'ए' डिभिजन जित्ने सफलता चर्च ब्वाइजले पायो। २०६६ सालमा स्थापना भएको चर्च ब्वाइजले सी डिभिजन क्वालिफायर्समा भने धेरै मेहेनत गर्नुपरेको थियो।

रेलिगेशनको दवाबमा थ्री स्टार

चर्चसँगको बराबरीले शीर्ष लिगमा चर्चित क्लब मध्येको थ्री स्टार क्लबलाई भने रेलिगेशनको दबाब बढेको छ। २४ खेलबाट २४ अंक जोड्दै खुमलटार पुछारमा छ भने २६ अंक जोडेको फ्रेन्ड्स तालिकाको १३ औँ स्थानमा छ। त्यसको ठीकमाथि छ थ्री स्टार क्लब। फ्रेन्ड्सले बाँकी दुई खेल जितेको खण्डमा थ्री स्टार रेलिगेशनमा जाने देखिन्छ।

खुमलटारलाई अर्को अवसर

रेलिगेशनको नजिकमा रहेको खुमलटार युथ क्लबले विभागीय टोली एपीएफलाई हराउँदै एक खेल अगावै हुनसक्ने रेलिगेशनलाई टारेको छ। च्यासल मैदानमा सम्पन्न खेलमा खुमलटारले एपीएफमाथि ३-१ गोलअन्तरले हराउँदै ए डिभिजन लिगमा अडिने सम्भावना बलियो बलियो बनाएको हो।

बराबरीमा रोकिए पुलिस र आर्मी

त्यस्तै सातदोबाटोस्थित एन्फा कम्पेक्समा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बराबरीमा रोकिए। खेलको दोस्रो मिनेटमा नै दिनेश हेन्जनले गोल गर्दा आर्मीले खेलमा अग्रता बनाएको थियो। तर, ३८ औँ मिनेटमा हिजाजीले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। त्यसपछि दुबै टोलीले गोल फर्काउन नसक्दा खेल १-१ गोलको बराबरीमा रोकियो। योसँगै पुलिस ३८ अंक जोडेर तेस्रो स्थानमा उक्लिँदा आर्मीले ३१ अंक जोडेर सातौँ स्थानमा उक्लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell