PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सीआईबीले थाल्यो ‘हाई-प्रोफाइल’ केस, सहकारी संचालकको ठगी धन्दाका खुल्दै फाइल



सविन ढकाल

सीआईबीले थाल्यो ‘हाई-प्रोफाइल’ केस, सहकारी संचालकको ठगी धन्दाका खुल्दै फाइल

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पछिल्लो समय ‘हाई-प्रोफाइल’ जोडिएका र करौडौं ठगी भएको सहकारीको अनुसन्धानमा जुटेको छ। गम्भीर र विशेष प्रकृतिको अनुसन्धानका लागि खडा भएको सीआईबीले आर्थिक अपराधसँग जोडिएका घटनाको पनि अनुसन्धान गर्छ। पछिल्ला समय सहकारी ठगीमा सीआईबीले धेरै समय खर्चिएको छ।

अहिले पनि सीआईबीमा ‘हाई-प्रोफाइल’ सहकारी ठगीका फाइलहरू पुगेका छन्। जसमा केहीको अनुसन्धान भइरहेको छ भने केही सहकारीको फाइल खोल्ने तयारीमा रहेको छ। केही दिनअघि मात्र सहकारी विभागबाट अनुसन्धान गर्न भन्दै पुगेको पत्रको आधारमा अनुसन्धान बढ्न थालेको हो।

हालै ललितपुरको कुमारीपाटीमा रहेको पशुपति बचत तथा ऋण सहकारी संस्थाको फाइल सीआईबीमा पुगेको छ। सहकारीका सञ्चालक सीबी लामा हुन्। लामाको परिचयमा नेपाली कांग्रेसका नेता समेत जोडिन्छ। लगानीकर्ताको लाखौँ रुपैयाँ जोखिममा परेर सम्पर्कविहीन भएपछि सेवाग्राहीले सहकारी विभागमा उजुरी परेको थियो। विभागले कागजपत्र माग गर्दा समयमा नै सहकारीले पेश गर्न सकेन। त्यसपछि विभागले अनुसन्धानको लागि सीआईबीलाई गुहारेको हो।

सञ्चालक लामा अहिले प्रहरीको सम्पर्कमा छैनन्। सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यले ठगीको फाइल ब्युरोमा आएकाले अनुसन्धान भइरहेको बताइन्।

‘अब हामी कानुनी प्रक्रियामा अगाडि बढ्छौं,’ बज्राचार्यले भनिन्।

पशुपति सहकारीले कानुनले दिएको अधिकार बाहिर गएर लगानी गरेको देखिएको छ। सहकारीको नाममा रहेको अचल सम्पत्तिबाट मात्र सेवाग्राहीको रकम तिर्ने अवस्था नदेखिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानपछि सहकारीका सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने तयारी गरेको छ।

त्यस्तै, करिब १३ सय जना सेवाग्राही ठगिएको शिव शिखर सहकारीको पहिलो चरणको अनुसन्धान सीआईबीले पूरा गरेको छ। रायसहितको प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालय भक्तपुरमा पठाएको छ। यसमा १ हजार २ सय ९२ जना पीडितले उजुरी दिएका थिए। जसमा ६६ करोड ३१ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ।

भक्तपुरको कौशलटारमा सहकारीको मुख्य कार्यालय रहेको छ। सहकारीमा ९ जना सञ्चालक सदस्य रहेकोमा बाँकी फरार छन्। उनीहरू सबैको ठगी प्रकरणमा खोजी भइरहेको छ। सहकारीको ३५ वटा जिल्लामा शाखा रहेको छ।

सीआईबीको टोलीले बैशाख २७ गते सहकारीका दुई सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा बाँके कोहलपुर घर भएकी गीता शर्मा र बझाङ घर भएका पुष्कर मल्ल छन्। गीता शिखर अर्गनाइजेसनका निर्देशक हुन्। सहकारीका पूर्व अध्यक्ष केदारनाथ शर्माकी श्रीमती हुन् गीता। केदार भने फरार छन्। त्यस्तै सहकारीका सीईओ लीलानाथ गौतम पनि प्रहरीको खोजी सूचीमा छन्।

शर्मा जोडीले विलासी बस्तुको खरिददेखि भारतमा रहेको कम्पनीमा समेत लगानी गरेको खुलेको छ। त्यस्तै, सहकारीको करिब १४ अर्ब रुपैयाँ जोखिममा परेको देखिएको छ। सहकारीको अन्य जिल्लामा रहेका शाखामा पनि प्रहरीले सोही जिल्लाबाट अनुसन्धान गरिरहेको छ। सीआईबीले दोस्रो चरणको अनुसन्धान पनि थाल्ने भएको छ।

‘हामीले भक्तपुरको मात्र उजुरीको आधारमा अनुसन्धान सकेर फायल बुझाएका हौँ,’ सीआईबीका प्रवक्ता एसपी सञ्जयसिंह थापाले भने।

त्यस्तै, बुढानीकण्ठमा रहेको एकता बुद्ध बचत तथा ऋण सहकारी संस्थाको फाइल पनि सीआईबीले हेरिरहेको छ। गत चैत ९ गते सहकारी विभागले अनुसन्धानको लागि सीआईबीलाई प्रचार गरेको थियो। अहिलेसम्मको अनुसन्धानमा १ सय ७७ जना निक्षेपकर्ताले सहरकारीविरुद्ध उजुरी दिएका छन्।

सहकारीले घरजग्गामा लगानी, व्यक्तिगत धितोपत्रमा लगानी गरेको भेटिएको छ। अहिलेसम्म ८ करोड १८ लाख रुपैयाँको ठगी भएको उजुरी परिसकेको छ। ब्युरोको टोलीले गत बुधवारमात्र सहकारीका कार्यकारी अध्यक्ष भानुकुमार शर्मा, उपाध्यक्ष प्रमोद कुमार न्यौपाने, सचिव सोमलाल श्रेष्ठ, कोषाध्याक्ष रामकुमार श्रेष्ठ, ऋण संयोजक वीरबहादुर तामाङ र व्यवस्थापक शम्भु कार्कीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

चालु आर्थिक वर्षको ६ महिनामा मात्र सहकारी विभागमा ४ सय ५१ वटा उजुरी दर्ता भएका छन्। यी व्यक्ति र संस्था दुवैको नाममा दर्ता भएको उजुरीको सङ्ख्या हो। त्यसमध्ये धेरै ठगी र अन्य अपराधसँग जेलिएका केसलाई विभागले सीआईबीलाई सुम्पिएको थियो।

काठमाडौं महानगरपालिका-१४ कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था, सिभिल सहकारी ठगी लगायतको अनुसन्धान सीआईबीबाट नै भएको थियो। सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ पूर्व सांसद समेत हुन्। नेकपा (एमाले)बाट सांसद भएका तामाङ लगायत ४२ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो।

जिल्ला अदालत काठमाडौंमा उनीहरूविरुद्ध ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँ बिगोसहित ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता गरेको थियो। तामाङ अहिले पुर्पक्षको लागि थुनामा छन्। विभिन्न जिल्लामा भएका सहकारी ठगीका अनुसन्धानमा पनि सीआईबीले सहयोग गर्दै आएको छ।

त्यस्तै, सीआईबीले अन्य ६ वटा सहकारीको ठगीको फाइल पनि हेर्न थालेको छ। जसमा लालीगुँरास सहकारी सस्था पनि रहेको छ। बुढानीलकण्ठमा रहेको रियल गोर्खा ऋण तथा बचत सहकारी सस्थाको पनि अनुसन्धान गर्ने सहकारी विभागमाबाट पत्रचार भएको छ। बानेश्वरमा रहेको सन्ध्या ऋण तथा बचत सहकारी सस्था, हरितकृषि सहकारी र चुच्चेपाटीमा रहेको इभर ट्रस्ट सहकारी संस्था माथि पनि उजुरी परेकामा सीआईबीले अनुसन्धान गरिरहेको छ।

 

बढ्यो ठगी

काठमाडौंलगायत देशका विभिन्न जिल्लाहरुमा सहकारी ठगीको घटना बढ्दै गएको छ। प्रहरीकहाँ आर्थिक वर्ष २०७४/७५ मा ५ वटा मुद्दा दर्ता भएका थिए जसमा सात जना समातिएका थिए। चालु आर्थिक वर्षको आँकडा हेर्ने हो भने डरलाग्दो गरी ठगी बढेको देखिन्छ।

चालु आर्थिक वर्षको ९ महिनामा ३८ वटा मुद्दा अदालतमा पुगिसकेका छन्। त्यस्तै यस्ता घटनामा समातिनेको सङ्ख्या पनि ह्वातै बढेर गएको छ। १० जना महिला सहित ५० जनालाई प्रहरीले पक्राउ गरेको छ। बाँकी तीन महिनामा अझैं यो सङ्ख्या बढ्ने प्रहरीको अनुमान गरिएको छ।

चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब ४७ करोड ७० लाख रुपैयाँको बिगो दाबी गरिएको छ। जबकि पाँच वर्ष अगाडि सहकारी ठगीमा बिगो दाबीको रकम ११ करोड २६ लाख मात्र थियो।

आर्थिक वर्ष २०७८/७९ मा प्रहरीले १५ वटा सहकारीविरुद्ध मुद्दा दायर गरेको थियो। जसमा सहकारीका सञ्चालक र कर्मचारी गरेर ४७ जना समातिएका थिए। बिगो रकम दाबी भने ७ अर्ब ३९ लाख रुपैयाँ थियो। यस आर्थिक वर्षमा सिभिल सहकारीको घटना बाहिरिएको थियो।

आर्थिक वर्ष २०७७/७८ मा २० वटा मुद्दा प्रहरीले सरकारी वकिल हुँदै अदालत पुगेको थियो। ६२ पुरुष र १५ जना महिला समातिएका थिए। बिगो रकम भने १ अर्ब ११ करोड रहेको थियो। यसरी हेर्दा पछिल्ला वर्षहरुमा सहकारी ठगी बढेको छ। चाँडो नाफा कमाउने हेतुले घरजग्गा लगायत चल सम्पत्तिमा लगानी गर्दा सहकारीहरुमा समस्या आएको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell