PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रवि लामिछानेलाई जित्ने होडमा उत्रिएका सुजन जसलाई प्रहरीले खोजिरहेछ...



सविन ढकाल

रवि लामिछानेलाई जित्ने होडमा उत्रिएका सुजन जसलाई प्रहरीले खोजिरहेछ...

काठमाडौं : पाँच वर्षअघि रेडियो सेट (वाकीटकी) बोकेर १८ वर्षीय किशोर सडकमा खटिन्थे। उनका गतिविधिलाई क्यामराले कैद गर्नेहरु निक्कैजना हुन्थे।

सार्वजनिक बिदाका दिन गुड्ने संस्थान र सरकारी निकायको गाडी रोक्थे र चेक गर्थे – बिदामा चलाउने अनुमति छ कि छैन? नलिई कुदाएको भेटेपछि र्‍याखर्‍याख्ती पार्थे चालकलाई। सरकारी सम्पत्तिको दुरुपयोग भइरहेको भन्दै आवाज उठाइरहने उनी थिए सुजन आचार्य।

उनको कामलाई धेरैले तारिफ गर्थे। केही समय त उनले एबीसी टेलिभिजनामा कामसमेत गरे। उनको कामको चर्चा हुनेक्रम बढ्यो। कतिपयले त रवि लामिछानेसँग तुलना गर्थे उनको।

उनी पनि के कम? रवि लामिछानेले जस्तै लामो अवधिको टेलिभिजन टक शो चलाउन सुरु गर्ने घोषणा समेत गर्न भ्याउथे। रविको रेकर्ड तोड्ने उनको लक्ष्य पूरा चाहिँ भएन।

एकाएक उनको मिडियाको यात्रा टुङ्गिन पुग्यो। यद्यपि, उनको चर्चा सेलाएन। ‘नाम होस् या बदनाम तर नहुनु गुमनाम’भने झै उनी उदाए।

गुमनामको सट्टा बदनामको बाटो रोजे उनले। १८ वर्षको उमेरदेखि किशोरले जेलनेल पनि भोगे। पाँच वर्षको अवधिमा लुट धन्दाको ट्र्याक रेकर्ड नै बन्यो उनको नाममा।

सिंगापुरमा रहेका भनिएका सुजन अहिले २२ वर्षका भए। तर उनीसँग उमेरभन्दा ठूलो अपराधको खाता छ। पछिल्लो समय मानव तस्करीको आरोप छ उनीमाथि। सिंगापुरमा काम दिलाउने नाममा लाखौं ठगी भयो भन्दै उनीविरुद्ध उजुरी परेको छ।

एस ग्रुप ग्लोबल सिंगापुरका निर्देशकका रुपमा उनले फेसबुकमा आफ्नो पहिचान राखेका छन्। केही समयदेखि सिंगापुरमा नै बस्दै आएका छन् उनी। उनले तीस जनाभन्दा धेरै मानिसलाई रोजगारीमा लैजाने भन्दै रकम ठगी गरेको खुलेको छ।

आफ्नो धन्दालाई सोसल मिडियाबाट प्रवर्द्धन गर्न हुनुपर्छ - सुजनले आफ्नो सुरक्षामा बाउन्सर खटिएको फोटो सामाजिक सञ्जालमा अपलोड गरेको पाइन्छ।

त्यसो त  २०७६ मा उनको पहिलो अपराधको पर्दा खुलेको थियो। प्रहरीसँग मिलेर लाखौंको हिरा लुट्ने अपराध! उनी मकवानपुरबाट समातिए।

उनीसँगै तात्कालीन महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) सुरेन्द्र बहादुर बसेल, प्रहरी जवानहरु हेमाकान्त पुनमगर र वीरबहादुर बस्नेत समातिएका थिए।

उनीहरु मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५ चौकीटार गोगने बस्ने ७० वर्षीया धनलक्ष्मी गुरुङको हीरा किन्न भनेर पुगेका थिए। हिरा हेरेपछि लिएर फरार भएका थिए।

किन्न भनेर आएका व्यक्तिले हिरा लुटेको खबर गुरुङले प्रहरीलाई दिइन्। त्यसपछि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक विकास कुमार तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजी गर्न थाल्यो।

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ स्थित थाना बजारमा ३-०१-०१-००२२ च ३३६२ नम्बरको कारसहित उनीहरु पक्राउ परे। लुटिएको हीरा पनि फेला पर्‍यो। दरबारमार्गमा खटिएका प्रहरी आफ्नो ड्युटी सकाएर ‘लुट्ने ड्युटी’का लागि मकवानपुर पुगेका थिए।

प्रहरीले पेस्तोलसहित पूरै समूहलाई पक्राउ गर्‍यो। घटनाको ‘मास्टरमाइन्ड’ सुजन थिए। त्यही प्रकरणले उनलाई जेलको बास बसायो। केही वर्ष कारागारमा रहेपछि उनी रिहा भए। तर उनको अपराधको यात्रा भने रोकिएन।

२०७९ जेठ १३ गते सुजन फेरि समातिए- डर-धम्की देखाएर ७ करोड रकम बार्गेनिङको आरोपमा। तत्कालीन महानगरीय अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको थियो उनीसहितको टोलीलाई।

उदयपुरको त्रियुगा नगरपालिका-१० स्थायी ठेगाना हो सुजनको। उनी त्यतिखेर काठमाडौंको गोठाटार बस्थे। उनीसँगै कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका-८ घर भई हाल बुढानीलकण्ठ बस्ने २९ वर्षीय टेक विक, बझाङको खप्तडछान्ना गाउँपालिका-७ घर भइ कोटेश्वर बस्ने २९ वर्षीय धर्मराज थापा पनि पक्राउ परे।

त्यसैगरी, काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-२ घर भई काँडाघारी बस्ने ३३ वर्षीय उमेश भण्डारी, गुल्मी धुर्कोट -२ घर भई हाल रातोपुल बस्ने २९ वर्षीय वसन्ता खनाल, चितवन भरतपुर महानगरपालिका-११ घर भइ सिनामंगल बस्ने ३२ वर्षीय सुरज शर्मा र सिनामंगलका ३३ वर्षीय श्रवण कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको थियो।

उनीहरुले योजनावद्ध तरिकाले पीडितलाई पटक-पटक फोन गरी तथा प्रत्यक्ष भेटी डर, धम्की तथा त्रास देखाएर ७ करोड रुपैयाँ माग गरेको प्रहरीको दाबी थियो। घटनामा सुजनको मुख्य भूमिका देखिएको थियो। उनी केही समय कैद बसेर छुटे। त्यसपछि पनि उनको अपराधको श्रृंखला नरोकिएको पछिल्लो घटनाक्रमले देखाएको छ।

उनी हिरासतबाट छुटेपछि विभिन्न राजनीतिक दलका नेतासँग फोटो समेत खिच्न भ्याएको देखिन्छ। त्यतिमात्र होइन उनले आफ्नो फेसबुकमा इडिट गरेर भारतीय प्रधानमन्त्री मोदीसँग बसकेको फोटो समेत हालेका छन्।

नेपाल प्रहरीका उच्च प्रहरी अधिकृतसँगै बसेको फोटो त जताततै भेटिन्छ उनको। कुनै बेला सडकमा रेडियो सेट बोकेर वाह वाही कमाएका सुजन यतिखेर प्रहरीको खोजीको सूचीमा छन्। किनकी उनको अपराधको यात्रा जारी नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell