PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

संसद् र सरकारबारे ‘सापकोटा सूत्र’ : बोल्ने, फलो अप गर्ने, काम लिने



प्रकाश भण्डारी

संसद् र सरकारबारे ‘सापकोटा सूत्र’ : बोल्ने, फलो अप गर्ने, काम लिने

काठमाडौँ: सांसदलाई बाझाबाझ गर्न आजकाल ठूलो विषय चाहिँदैन। भैँसी/राँगा जस्ता प्रसंगले नै तताइदिन सक्छन् माहोल। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्किएपछि प्रतिनिधि सभामा ‘ब्याटल’ नै चल्यो। ‘प्रचण्डले ल्याएको भनेको त १५ वटा राँग मात्रै हो,’ राँगा बहसकै बिच प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले यसै भने। जल्दाबल्दा विषयमा टिप्पणी गर्न ओली माहिर नै छन्। जेठ २२ मा बहस हुनुपर्ने थियो बजेटबारे। तर, तरङ्ग ल्याइदियो राँगाको विषयले।

सांसद माधव सापकोटा भने कन्फ्युजनमा परेछन्, जुहारी देखेर।

‘पञ्चायत फटाएको, बहुदल फटाएको र अहिले गणतन्त्रमा अभ्यास गरिरहेको अग्रजहरूको कार्यशैली एकातिर, नियमावली हेर्दा अर्कोतिर। कन्फ्युजन हुने खालको,’ उनको भनाई थियो। सापकोटा कन्फ्युजनमा पर्नु स्वाभाविकै थियो। संसदका लागि नौलो अनि युवा पुस्ताको प्रतिनिधित्व गर्छन् उनी।

सिन्धुपाल्चोक १ मा एमालेका सरेश नेपाललाई हराएका उनले टिकटमा काका अग्नि सापकोटालाई पछ्याएका हुन्। अग्नि अघिल्लो पटक सभामुख नै बने। यसपाला भने बाटो खाली गरिदिए- नयाँ पुस्ताका लागि।

स्तरहीन बहसको जड के?

२७५ जनाको प्रतिनिधि सभा रंगिविरंगी नै छ। नयाँ र पुरानो पुस्ता मिसमास मात्रै होइन, एजेन्डामा पनि बाला चतुर्दशीमा पशुपतिमा छरिने सतविजझैँ। ‘भैँसी’ बहस मात्रै होइन, गहन मुद्दाले प्रवेश पाए पनि छिनछिनमै विषयान्तर भइहाल्छन् सांसद। एउटै मुद्दामा केन्द्रित हुन न सांसदलाई नै चासो छ न त सभामुखलाई नै।

‘संसद् त बहुरङ्गी नै छ। एउटै पार्टीले बहुमत नपाउने मात्रै होइन एउटै पार्टीका पनि विभिन्न खालका सांसद छन्,’ संसदमा हुने जुहारीको कारणबारे सापकोटाको तर्क छ, ‘सभामुखको पनि हात रहन्छ। उहाँको रुलिङ हुन्छ। विषयान्तर हुनलागे रुलिङ गरेर विषयमा फर्काउने जिम्मेवारी सभामुखको हुन्छ। कार्यव्यवस्था परामर्श समिति छ। कार्यव्यवस्था परामर्श समितिले यति विषय मात्रै बोल्ने भनेपछि त्यही विषयमा केन्द्रित हुनुपर्थ्यो।’

संसदमा मात्रै होइन चुनावकै बेलामा पनि एजेन्डा अनायास उठ्ने र ओझेलमा परिरहन्छन् यहाँ। फण्डाले ठाउँ पाउनु सामान्य भइसक्यो। युवा पुस्ता भनेर मात्रै धर पाउने स्थिति छैन। युवा उम्मेदवार नै पराजित भएका काफी उदाहरण छन्।

‘हाम्रो समाज धेरै विकेन्द्रित भएको छ। इस्यू बेसमा, जेनेरेसन बेसमा। शहरी एरियाबाहेक रिमोट एरियामा मैले पाएको छैन। डाइरेक्ट उसँग एप्रोच हुन्छ कि हुँदैन भन्ने समूह र प्रोफिट बेनिफेसियरसँग कुरा गर्ने समूह छन्। यसरी हेर्दा पुरानो जेनेरेसन र नयाँ जेनेरेसन सबैलाई राजनीतिमा चुनौती थपिएको छ - अहिलेको चुनावको प्रणाली र चुनावको भड्किलो पारा हेर्दा,’ चुनावबारे सापकोटाले सुनाए।

सापकोटा सूत्र !

विषयान्तर गराउने र राजनीतिक नाफा नोक्सानका लागि मात्रै जुहारीमा उत्रिने सांसदको बाहुल्यता छ संसदमा। त्यसो त तयारी गरेर मुद्दामा केन्द्रित हुने सांसद पनि नभएका भने होइनन्। पुराना र नयाँ केही सदस्यहरु विषयमा तयारी गरेर नै आउँछन्।

संसदमा प्रस्ट रूपमा विचार राख्नेमा पर्छन् सापकोटा पनि। तयारी गरेर मात्रै बोल्ने गरेका छन् उनले।

‘मसँग घोषित प्रकारको टिम त बनिसकेको छैन। अनौपचारिक रूपमा र व्यक्तिगत सम्बन्ध भएका सम्बन्धित विषयका नलेज भएका साथीहरूको मद्दत लिइरहेको छु। म पूर्वतयारी नै गर्छु,’ आफ्नो प्रस्तुतिबारे सापकोटाले भने।

संसदमा बोलेर केही हुन्न भन्ने मानक नै स्थापित होला भन्ने भइसकेको छ अहिले। किनभने सयौँ विषयमा सरकारलाई प्रश्न गरिरहेका हुन्छन् सांसदले। तिनको कार्यान्वयन त टाढाको कुरा, जवाफ पनि दिन कन्जुस्याइँ गर्ने सत्ताको रोग बनिसकेको छ।

सत्ताकालाई काम गर्न बाध्य पार्न सकिने अनुभव चाहिँ सापकोटाले सेयर गरे।

‘संसदमा बोलेर छोडदिएर पनि काम नहुँदो रहेछ। केही पनि हुँदैन भन्ने पनि होइन। संसदमा सशक्त रूपमा आफ्ना कुरा पनि राख्ने। सम्बन्धित निकायमा आफैँले फलोअप पनि गर्ने,’ सापकोटाले सूत्र सुझाए।

सापकोटा लगातार मन्त्रालय धाएरै भए पनि आफ्नो निर्वाचन क्षेत्रको काम गराएको दाबी गर्छन्।

‘मैले जुरे पहिरोको ८ वर्षदेखि डेडलक भएर बसेको पैसा फुकाएँ। तातोपानी नाकाको कुरा गरेँ। तातोपानीमा अध्यागमन कार्यालय थिएन। सदनमा दुई/तीन पटक उठाएँ। गृह मन्त्रालयमा गएर फलोअप गरेँ। त्यहाँ अफिसरसहित ८ जना कर्मचारीको कार्यालय खडा पनि गरिसकेँ। एउटा गाउँमा बत्ती पनि पुगेको थिएन। त्यसको कुरा मैले सदनमा उठाएँ। विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयमा फलोअप गरेँ। त्यहाँ काम भयो,’ कामको फेहरिस्त सुनाए सापकोटाले।

‘जनता र सरकार जोड्ने पुल’

चर्को आलोचनाका बाबजुद अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्वाचन क्षेत्र विकास कोषका लागि रकम छुट्याए। त्यसो त यसखाले रकमको अपचलन भएको भनेर तत्कालीन केपी ओली सरकारले निरन्तरता दिएको थिएन। भूमिकाका हिसाबले त सांसद विधायकमात्र हुन्। तर, सांसद नै सरकार हुन् भन्ने बुझाइ मतदातामा नभएको होइन। अर्थात्, गाउँमा जाँदा सांसदले नै हो जनताको आक्रोश सामना गर्नुपर्ने। सापकोटा यसमा सहमत सुनिए। त्यसैले उनको तर्क छ - सांसद भनेको सत्ता र जनता जोड्ने पुल।

‘संसदको कुरा गर्दा म सदस्य हो। जनताले मलाई हेर्दाखेरि त म सरकार पनि हो नि। जनताले मन्त्रीकहाँ डारेक्ट पहुँच हुँदैन। सिंहदरबार छिर्न पास चाहिन्छ। हाम्रो मेकानिज्मले गर्दा नागरिकको प्रत्यक्ष पहुँच सरकारमा छैन,’ सापकोटाले भने।

राजनीतिक दल र सरकारका कारण हुने विकृतिले अहिले सांसद पद समेत 'मामुली' जस्तो भएको छ। तर सापकोटा यसमा सहमत छैनन्। राज्यले दिएकै मान सम्मानलाई हतियार बनाएर जनतालाई आशावादी बनाउन सकिने तर्क छ उनको।

‘सांसद भइसकेपछि उसलाई कतै न कतै सामाजिक मर्यादा दिएको हुन्छ। त्यो लिएर उसको प्रधानमन्त्रीसँग सहज पहुँच र प्रभाव हुन्छ। त्यो पहुँच र प्रभावलाई जाँगर लगाएर जनताका मुद्दा बोक्नु पर्‍यो,’ सापकोटाले सुझाए।

‘पार्टीबाट दृष्टिकोण, संसदमा बहस’

माओवादीको युद्धकालबाटै हो सापकोटा मूलधारको राजनीतिमा जोडिएका। अनेक तीता-मीठा अनुभव नहुने कुरा भएन उनीसँग। युद्धका बेलाका सकसका अनुभव छन् नै। सांसद भएपछि पनि पार्टीमा भूमिका कम नभएको दाबी छ उनको। पार्टीभन्दा संसद् फराकिलो क्षेत्र भएको तर्क गर्छन् सापकोटा

‘राजनीतिक दृष्टिकोण त पार्टीबाटै हुन्छ। पार्टीले राजनीतिक दृष्टिकोण बनाइदिएन भने दृष्टिकोण बिनाको बहस ठिक भएन,’ सापकोटाको मत छ, ‘पार्टीको विचार, राजनीति र दृष्टिकोण त सिद्धान्तमा मात्रै केन्द्रित हुन्छ। यसको चाहिँ सिद्धान्तभन्दा पनि बाहिर पनि कभरेज हुने भएको हुनाले पार्टीको तुलनामा संसदको दायरा अलि फराकिलो छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell