PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

च्याम्पियन बन्यो चर्च ब्वाइज, एएफसीमा खेल्न भने मछिन्द्र जाने



मुकुन्द घिमिरे

च्याम्पियन बन्यो चर्च ब्वाइज, एएफसीमा खेल्न भने मछिन्द्र जाने
जारी लिगमा मछिन्द्रको टोली। फोटो : ANFA

काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिगमा यो सिजनको च्याम्पियन बन्यो - चर्च ब्वाइज युनाइटेड। उपविजेता मछिन्द्र क्लब। लिग जितेपछिको फस्ट एटेम्प्ट गर्ने माथिल्लो खेल हो, एएफसीमा छनोट खेल। लिग च्याम्पियन स्वत: छनोट खेलमा भिड्न पाउँछन्।

तर, यसपटकको च्याम्पियन बनेको चर्च ब्वाइज भने यो अवसरबाट बञ्चित हुने भएको छ। उसको साटो प्रतियोगितामा लिग उपविजेता बनेको मछिन्द्रले नै सहभागिता जनाउँदै छ। एएफसी छनोट खेल्न पाइन्छ भनेर मरिमेटेर लिग जित्दैगर्दा मात्र यसबारे थाह पाउँदा दु:ख लागेको चर्च ब्वाइजका स्टार खेलाडी अन्जन विष्टले बताए।

शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन - २०२३ टोली चर्च ब्वाइज।


'यो कुरा हामीलाई अलि पछि थाहा भयो। एएफसी खेल्ने नै हो भनेर हामी सोचिरहेका थियौँ। मेहेनत गरेर टिमलाई जिताएका छौँ। तर, खेल्न जानेचाहीँ अर्को टोली हुँदा पक्कै नराम्रो लाग्छ,' विस्टले भने, 'जे होस् नेपाललाई प्रतिनिधित्व गरेर जाने हो। मछिन्द्र जाने भन्ने सुनेको छु। मेरो तर्फबाट शुभकामना।'

विस्टको कुरा ठ्याक्कै मिल्छ चर्च ब्वाइजका कप्तान अनन्त तामाङसँग।

'मैले पनि पछि थाहा पाए। चर्च ब्वाइजलाई अन्तर्राष्ट्रिय स्तरमा लिएर जान नपाउँदा दु:ख लागेको छ। यसबाट चर्च ब्वाइजको व्यवस्थापन टिमले पाठ सिक्नुहुनेछ भन्ने मलाई लागेको छ, 'कप्तान तामाङले भने, 'हामीले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो टोलीलाई चिनाउने अवसर गुमायौँ।'

अघिल्लो सिजन लिग च्याम्पियन बनेको मछिन्द्रले श्रीलंकाको ब्लुस्टारसँग काठमाडौँमा खेलेको थियो। तर, पहिलो खेलमै पराजित हुन पुग्दा मछिन्द्र घरेलु मैदानबाटै बाहिरिएको थियो।

त्यसभन्दा अघिको सिजन त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कपको प्रारम्भिक छनोट खेलेको थियो। उक्त खेलमा आर्मीले घरेलु मैदानमा सम्पन्न खेलमा श्रीलंका पुलिसलाई हराएको थियो भने भारतमा बेङ्ग्लुरु एएफसीसँग पराजित भएको थियो। मछिन्द्रले नेपालको प्रतिनिधित्व गर्दै एएफसी खेल्न जान पाउँदा खुशी लागेको सामाजिक सञ्जालमा उल्लेख गरेको छ।

किन गुमाउँदैछ चर्च ब्वाइजले यो अवसर? कारण चर्च ब्वाइजसँग एएफसीको लाइसेन्स नहुनु। एएफसीको प्रतियोगिता खेल्न क्लबलाई एएफसी लाइसेन्स चाहिन्छ। दुई सिजनअघि मछिन्द्र च्याम्पियन बन्दा पनि आर्मीले लिग खेल्नुको कारण त्यही थियो। दोस्रो स्थानको आर्मीसँग लाइसेन्स थियो। शीर्षस्थानको मछिन्द्रसँग लाइसेन्स थिएन। अहिले ठ्याक्कै उस्तै भएको छ। दोस्रो स्थानको मछिन्द्रसँग लाइसेन्स छ, शीर्षस्थानको चर्च ब्वाइजसँग छैन। यसपाला जम्मा तीनवटा क्लबसँग लाइसेन्स छ। मछिन्द्र, आर्मी र एपीएफ। त्यसमा मछिन्द्र सबैभन्दा शीर्षस्थानमा छ। एएफसीले लाइसेन्स भएका क्लबमध्ये शीर्ष टोलीलाई छनोट खेलमा भिड्ने मौका दिन्छ।

'क्लब लाइसेन्स भएका टिम मध्येमा मछिन्द्र शीर्षस्थानमा छ। च्याम्पियन बनेको टोलीसँग लाइसेन्स नभएकाले एएफसीमा मछिन्द्रले खेल्छ,' एन्फा प्रवक्ता शुरेश शाहले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell