
काठमाडौँ: नेपाली यू २० महिला फुटबल टोली चीनसँग पराजित भएको छ। एएफसी यू २० एसिया कप छनोट अन्तर्गतको दोस्रो चरणको खेलमा नेपाली टोली चीनसँग ५-० गोलले पराजित भएको हो।
खेलको १६ औँ मिनेटमा ओयुयाङ युहयानको गोलमा चीनले अग्रता बनाएको थियो। दोस्रो गोल २६ औँ मिनेटमा हुवो युएसिनले गोल थपिन्। त्यस्तै पहिलो हाफको इन्ज्युरी समयमा यिन लिहोङ र लु जुअयूले गोल थप्दा पहिलो हाफमै नेपाल चार गोलले पछि रह्यो। पाँचौँ गोल ८९ औँ मिनेटमा यू जिआक्वीले गोल थप्दा चीनले खेल ५-० ले आफ्नो पक्षमा पार्यो।
नेपालको यो लगातार दोस्रो हार हो भने चीनको लगातार दोस्रो जित हो। पहिलो खेलमा नेपाल म्यानमारसँग पराजित हुँदा चीनले चाइनिज ताइपेलाई हराएको थियो।