PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

अब धुलिखेल पुग्नेछ रविन्द्रको डुङ्गा चिया घर



लक्ष्मी बलायर

अब धुलिखेल पुग्नेछ रविन्द्रको डुङ्गा चिया घर

काठमाडौं : नक्सालमा रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा केहीदिन यता भिड बढेको छ। विभिन्न कलाकारले बनाएर कलाकृति हेर्न हरेकदिन सयौंको संख्यामा दर्शक पुगिरहेका छन्।

परिसरकै एक कुनामा भने युवायुवतीहरु डुङ्गामा चिया पिउँदै गरेका देखिन्छन्। कोही भने सोही डुङ्गामा किताब पढिरहेका भेटिन्छन्। गफगाफको केन्द्र बनेको छ डुङ्गा चिया घर।

कलाकार रविन्द्र श्रेष्ठले डुङ्गालाई प्रतिस्थापन कला (इन्स्टलेसन आर्ट) को रुपमा प्रयोग गरेर यहाँ राखेका हुन्। डुङ्गाको माध्यमबाट साहित्य,कला र संगीतलाई एकै ठाउँमा समिश्रण गर्न खोजेका छन् श्रेष्ठले।

‘यो इन्स्टलेसन आर्ट मात्रै नभई आर्टिस्टिक ठाउँ पनि हो। जहाँ चियाको साथमा भाषा, साहित्य, कला र संगितका बारेमा भलाकुसारी गर्न पाइन्छ। धेरै कलाकारहरु आएर गफ पनि गर्नुहुन्छ। स्कुले विद्यार्थीहरु पनि निकै रमाउनुहुन्छ,’ श्रेष्ठ प्रदर्शनीमा डुङ्गाप्रति दर्शकको आकर्षणबारे सुनाउँछन्।

रविन्द्रका लागि यो केबल डुङ्गा होइन, समाधान र समानताको प्रतिक हो।। जसमा हरेक वर्ग, जात र धर्मका मानिसहरु सवार हुन्छ सक्छन्।

‘डुङ्गामा सबै मानिसहरुको पहुँच हुन्छ। धनी-गरिब केही भन्दैन। समानतापूर्वक सबैलाई वारपार गर्न सघाउँछ। डुङ्गालाई मेटाफोरको रुपमा प्रयोग गरेको छु,’ उनले भने।

सानो छँदा उनी डुङ्गामा निकै खेले। खोला वारपार गर्थे। दोलालघाटमा ‘पिकनिक’ जाँदा पनि डुङ्गामा बसेको स्मरण छ उनलाई। त्यही बाल्यकालको याद र कलाप्रतिको मोहले उनलाई डुङ्गासम्म दोहोर्‍यायो।

रविन्द्रले इन्स्टलेसन आर्ट बनाएको यो पहिलोपटक भने हैन। यसअघि पनि रविन्द्रले म्यानमारमा प्रजातन्त्रकै लागि मारिएका सयौँ नागरिकप्रति श्रद्धाञ्जलि दिन उनले डुङ्गाकै प्रयोग गरेका थिए।

दुई वर्षअघि म्यानमारमा युद्धमा मारिएका मृतकलाई श्रद्धाञ्जली दिन रविन्द्रले डुङ्गामार्फत कला पस्किने सोच बनाए। धेरै ठाउँमा डुङ्गा खोजे भेटेनन्। अन्तत: ललितपुरको धापखेलमा रहेको नागदलमा बेवारिसे डुङ्गा भेटे। र, त्यसैलाई नै कला पस्कने ठाउँ बनाए।

‘यो नागदहबाट ल्याएको डुङ्गा हो। डेढ दशकअघि पोखराबाट ल्याइएको यो डुङ्गा नागदहमा कृष्ण माली दाईले धेरै वर्ष चलाउनभयो। पछि काम नलाग्ने भएर उत्तिकै नागदहछेउमा थन्किरहेको थियो। त्यही डुङ्गालाई ल्याएर मैले इन्स्टलेसन आर्ट गरेको हुँ,’ उनले भने।

बाल्यकालमा डुङ्गासँग छुट्टै कनेक्सन भएकाले डुङ्गालाई प्रतिस्थापन कलाको रुपमा प्रयोग गरेको उनी सुनाउँछन्।

इन्डोर ग्यालरी र आउटडोर फ्युजनका रुपमा यो इन्सटलेसन आर्टलाई प्रस्तुत गर्न खोजेका रविन्द्र सुनाउँछन्।

‘इन्डोर ग्यालरीमा पढ्न, चिया खान र गितार बजाउन पनि पाइन्छ। साथै बाहिरबाट सार्वजनिक ठाउँमा राखेको पनि देखिन्छ। साथै यो मोबाइल आर्ट पनि हो किनकी यसलाई सार्न समेत मिल्छ,’ उनले भने।

अब भने उनले यही कलालाई व्यावसायिक रुप दिने सोचेका छन्। प्रदर्शनी सकिएपछि यो डुङ्गालाई धुलिखेलमा लगेर डुङ्गा चियाघरको रुपमा संचालन गर्ने योजना छ रविन्द्रको।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell