भारतको मुम्बईमा एक प्रेमीले आफ्नै प्रेमिकाको हत्या गरेको घटना अहिले चर्चामा छ। ५७ वर्षीय मनोज साधेले ३२ वर्षीया सरस्वती वैद्यको हत्या गरि उनको शरीर टुक्राटुक्रा पारेको प्रहरीको दाबी छ। बुधवार गीता आकाशदीप सोसाइटीका बासिन्दाले फ्ल्याट नम्बर ७०४ बाट गन्ध आइरहेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले सो फ्ल्याटबाट महिलाको टुक्रा टुक्रा पारिएको शव भेट्टायो। मनोज र सरस्वती ‘लिभ इन रिलेसन्सिप’ मा थिए।
अनुसन्धानमा खटिएका डिएसपी जयंत बजबले भने, ‘उनीहरु दुईजना ३ वर्षदेखि लिभ इन रिलेशनसिपमा थिए। हत्या गरेपछि मनोजले सरस्वतीको शवलाई टुक्राटुक्रा पारेको अनुसन्धानमा देखिएको छ।’
मुम्बई प्रहरीले मनोजलाई घटनास्थलबाटै पक्राउ गरिसकेको छ। हत्याको कारणबारे अहिले अनुसन्धान भइरहेको बजबले बताएका छन्।
तर, अहिले भने यस घटनामा नयाँ ‘ट्वीस्ट’आएको छ। पक्राउ परेका मनोजले प्रहरीसँगको बयानमा आफूले सरस्वतीको हत्या नगरेको बताएका छन्। मनोजले सरस्वतीले आत्महत्या गरेको र त्यसको आरोप आफूमाथि लाग्ने भन्दै शव व्यवस्थापन गर्नतर्फ लागेको बताएका छन्।
‘सरस्वतीले जुन ३ मा नै आत्महत्या गरेकी थिइन्। मलाई डर थियो कि त्यसको आरोप ममाथि नै लाग्नेछ। त्यसैले उनको शव व्यवस्थापन गर्ने निधो गरेँ। शव टुक्रा टुक्रा गरेँ। अनि गन्ध आउनबाट रोक्न ती शवका टुक्रालाई प्रेसर कुकरमा उमालेँ,’ मनोजले प्रहरीलाई दिएको बयान भारतीय मिडियाले प्रकाशन गरेको छ।
प्रहरी अनुसन्धानमा सरस्वतीको मृत्यु चार दिन अघि भएको र मनोजले दुई –तीन दिन अघि शवको टुक्रा टुक्रा गरेको खुलेको छ। सोसाइटीका बासिन्दाहरुले प्रहरीलाई बयान दिँदै भनेका छन्, ‘मनोजले पछिल्लो केही दिनदेखि भुस्याहा कुकुरलाई खाना दिँदै गरेको देखेका छौं।’
प्रहरीले घरको विभिन्न स्थानमा शवको टुक्रा भेटेको थियो। प्लास्टिकमा शवको टुक्रा राखेर ठाउँठाउँमा लुकाएर राखेको भेटिएको हो। मनोजले भने सो घटनापछि आफूले पनि आत्महत्याको प्रयास गरेको र जे गरे त्यसमा कुनै पछुतो नभएको समेत बयानमा भनेका छन्।
मनोजको यो बयान पछिप्रहरीले ‘मर्डर मिस्ट्री’ लाई आत्महत्याको दृष्टिकोणबाट पनि अनुसन्धान गर्ने तयारी गरेको छ। फ्ल्याटबाट फेला परेको शवको टुक्रालाई पोस्टमर्टमका लागि जेजे अस्पताल पठाइएको छ।
भारतमा पछिल्लो समय लिभ इन रिलेसनशिप बढ्दो छ। यससँगै अपराधका ग्राफ पनि बढेको पाइएको छ।
भारतको राष्ट्रिय महिला आयोगका प्रमुख रेखा शर्माले भनिन्, ‘पछिल्लो केही समयदेखि लिभ इन पार्टनरको विरुद्ध यस प्रकारका अपराध बढिरहेको छ। विगतमा भएका यसप्रकारका घटनाहरु देखेर उनीहरु अपराध गरिरहेका छन् जुन निकै डरलाग्दो छ। त्यसैले यस प्रकारका अपराध कम गराउन के गर्नुपर्छ भनेर समाजले सोच्ने बेला भइसकेको छ।’
फ्ल्याट नम्बर ७०४ मा भएको यो घटनाले पुरै सोसाइटीका बासिन्दालाई ठूलो झट्का लागेको छ।
‘सुरुमा हामीलाई उनीहरु विवाहित हो भन्ने लाग्थ्यो। किनभने उनीहरुको सम्बन्धबारे हामीलाई थाहा थिएन। जब गन्ध आयो तब हामीले जनावर मरेको होला भनेर सोचेका थियौं। भवनको सबै घर खुल्लै थिए। मात्र त्यो घरमा ढोकामा ताला लगाइएको थियो,’ सोही भवनको फ्ल्याट नम्बर ७०१ मा बस्ने व्यक्ति मराठी समाचार ‘एबीपी माझ’सँगको कुराकानीमा भने, ’ त्यसअघि मेरो छोराले उनीहरुको फ्ल्याटको ढोका ढकढकाउँदा मनोजले बेलुकासम्म सबै ठिक हुने जवाफ दिएका थिए। त्यसपछि उनले रुम फ्रेनसनर छर्के र ढोका बन्द गरेर हिँडे।’
गन्ध निकै आएपछि सोसाइटीका बासिन्दले प्रहरीलाई खबर गरेका थिए। मनोज घर आउनु अघि नै प्रहरी फ्ल्याटमा पुगिसकेको थियो। प्रहरीले फ्ल्याटभित्र अनुसन्धान गरिरहँदा मनोज आइपुगेका थिए। त्यहीँबाटै प्रहरीले मनोजलाई पक्राउ गरेको थियो।