PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

ए डिभिजन लिगमा आज चार खेल : लाग्ला रेलिगेसनमा लाग्ने दुबै टोलीको टुंगो, अंकतालिकामा को कहाँ?



पहिलोपोस्ट

ए डिभिजन लिगमा आज चार खेल : लाग्ला रेलिगेसनमा लाग्ने दुबै टोलीको टुंगो, अंकतालिकामा को कहाँ?

काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिगमा आज ४ खेल हुँदैछन्। आज हुने खेलबाट रेलिगेसनमा जाने कम्तीमा एक टोलीको या रेलिगेसनमा जाने दुबै टोलीको समेत टुंगो लाग्न सक्छ। आजको खेलमा खुमलटार र फ्रेन्ड्स क्लब दुबै पराजित भए या बराबरीमा रोकिए रेलिगेसनमा जाने टोली यी दुई नै बन्नेछन्। तर, यी दुबै टोलीले जित निकालेको खण्डमा रेलिगेसनमा जाने दुबै टोलीको टुंगो लाग्न शनिवारको थ्री स्टार क्लबको नतिजा कुर्नुपर्ने हुन्छ।

आज ३ बजे एन्फा कम्प्लेक्समा हुने खेलमा तालिकाको शीर्ष स्थानमा रहेको चर्च ब्वाइज र तालिकाको पुछारमा रहेको खुमलटारबीच प्रतिस्पर्धा हुनेछ। चर्च ब्वाइज अन्तिम खेलमा पनि जित निकालेर उपाधि उचाल्न चाहन्छ। अर्कोतर्फ रेलिगेसनको चर्को दबावमा रहेको खुमलटार जितको दबावमा हुनेछ। लिगमा जोगिन खुमलटारलाई जितसँगै फ्रेन्ड्स र थ्रीस्टारको पनि पराजयको कामना गर्नेछ।

त्यस्तै च्यासल मैदानमा सोही समय हुने खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्नेछन्। सातदोबाटोका लागि शीर्ष तीनमा पुग्ने अवसर रहनेछ भने पुलिसलाई शीर्ष तीनमा बलियो बन्ने अवसर।

सोही समयमा दशरथ रंगशालामा फ्रेन्ड्स क्लब र एपीएफ क्लब भिड्नेछन्। रेलिगेसन ब्याटलमा महत्वपूर्ण रहेको यो खेलमा फ्रेन्ड्स क्लबलाई रेलिगेसनबाट बच्न जित आवश्यक हुनेछ भने एपीएफलाई बराबरी काफी हुनेछन। फ्रेन्ड्स क्लबको २७ अंक छ भने एपीएफको ३० अंक छ।

आज हुने अन्तिम खेलमा दशरथ रंगशालामा साँझ ६ बजे त्रिभुवन आर्मी र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल दुबै टोलीका लागि मिडटेबलमा स्थान सुधार गर्ने अवसरका रुपमा रहनेछ।

अंकतालिकामा को कहाँ?

लिगको २५ औँ चरणमा थ्री स्टार क्लबसँग बराबरी खेलेको चर्च ब्वाइज युनाइटेडले उपाधि च्याम्पियन सुनिश्चित गरिसकेको छ। सोही चरणमा हिमालयन शेर्पालाई हराएको मछिन्द्र क्लब लिगको उपविजेता हुने पक्कापक्की भयो। यसबाहेका अन्य स्थान भन्ने यो चरणको समाप्तिपछि मात्र टुंगो लाग्नेछ।

२५ औँ चरणमा तेस्रो स्थानमा ३८ अंक जोडेको नेपाल पुलिस क्लब छ भने चौथो स्थानमा ३७ अंक जोडेको जावलाखेल युथ क्लब रहेको छ। त्यस्तै ३५ अंक जोडेको सातदोबाटो युथ क्लब तालिकाको पाँचौँ स्थानमा रहँदा ३३ अंक जोडेको न्युरोड छैटौँ तथा ३२ अंक जोडेको मनाङ मर्स्याङदी सातौँ स्थानमा छन्।

समान ३१ अंक जोडेका त्रिभुवन आर्मी क्लब, संकटा क्लब र हिमालयन शेर्पा क्लब क्रमश ८, ९ र १० औँ स्थानमा रहँदा चार टोली रेलिगेसनको भयमा छन्। जसमा ३० अंक जोडेको एपीएफ, २९ अंक जोडेको थ्री स्टार तथा समान २७ अंक जोडेको फ्रेन्ड्स क्लब र खुमलटार युथ क्लब रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell