PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

रेलिगेशन जोखिमका सबै टोलीको खेल एकै समयमा हुनुपर्ने खुमलटारको माग, एन्फालाई दियो चेतावनी



मुकुन्द घिमिरे

रेलिगेशन जोखिमका सबै टोलीको खेल एकै समयमा हुनुपर्ने खुमलटारको माग, एन्फालाई दियो चेतावनी

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रवार चार खेल हुँदैछन्। जसमध्ये दुई खेलले प्रत्यक्ष रेलिगेशनमा जाने टोलीका लागि निर्णायक बन्न सक्छन्।

तालिकाको पुछारमा रहेको खुमलटार एएफसीले भने एन्फालाई पत्र पठाउँदै फिफा र एएफसीको नियमअनुसार रेलिगेशन क्षेत्रमा भएका तीन टोलीको अन्तिम खेलको समय एकै हुनुपर्ने माग राखेको छ।

‘रेलिगेशन जोनमा रहेका तीन टिमहरुको खेल एएफसी फिफाको नियमअनुसार खेलाइदिनु भनेर भनेको हो’, खुमलटारका अध्यक्ष मणीराज विष्टले भने, ‘एन्फाले यो मानेन। नमानेपछि फिफाको नियम मान्नु पर्‍यो भन्ने हाम्रो कुरा हो।’

उनले रेलिगेशन क्षेत्रका तीन टोलीको खेल एकै समयमा पारिदिनु भन्ने मात्र आफ्नो कुरा भएको भन्दै फुटबलको नियम मान्दिन भन्ने छुट कसैलाई नहुने बताए।

एन्फाले यस सम्बन्धमा पहिल्यै क्लबहरुबिच सहमति भइसकेको भनेर तर्क गरेको उनको दाबी छ। तर त्यस्तो भए ‘माइन्युट’ देखाउन उनले चुनौती दिए।

‘महासचिव र अध्यक्षसँग कुरा गरिरहेका छौं। उहाँहरुले यसमा क्लब-क्लब बसेर गरेको सहमति छ भन्नु भएको छ’, उनले भने, ‘सहमति भएको भए माइन्युट देखाइदेउ न त भन्ने हाम्रो कुरा हो। माइन्युट केही भएको छैन।’

एन्फाले माग सम्बोधन नगरे पनि शुक्रवारको खेल खेल्ने तर यो विषयलाई फिफा र एएफसीसम्मै लैजाने उनले चेतावनी दिएका छन्।

‘हामी फिफा र एएफसीमा पनि यो पत्र पठाउछौं। रेलिगेशनमा जोसुकै जावस् तर नियमलाई त पालना गर्नुपर्छ। सबैकुरा क्लियर त हुनु पर्‍यो। हामीले कुरा गर्ने संस्थाले वास्ता नगरे अरु प्रक्रिया छ,’ उनले भने।

एन्फाका महासचिव किरण राईलाई सम्पर्क गर्दा यो विषयमा आफू बेखबर रहेको प्रतिक्रिया दिए।

शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रवार हुने खेलबाट रेलिगेशनमा जाने कम्तीमा एक टोलीको या रेलिगेशनमा जाने दुवै टोलीको समेत टुंगो लाग्न सक्छ। शुक्रवारको खेलमा खुमलटार र फ्रेन्ड्स क्लब दुवै पराजित भए या बराबरीमा रोकिए रेलिगेशनमा जाने टोली यी दुई नै बन्नेछन्।

तर यी दुवै टोलीले जित निकालेको खण्डमा रेलिगेशनमा जाने दुवै टोलीको टुंगो लाग्न शनिवारको थ्री स्टार क्लबको नतिजा कुर्नुपर्ने हुन्छ।

शुक्रवार ३ बजे एन्फा कम्प्लेक्समा हुने खेलमा तालिकाको शीर्ष स्थानमा रहेको चर्च ब्वाइज र तालिकाको पुछारमा रहेको खुमलटारबिच प्रतिस्पर्धा हुनेछ। चर्च ब्वाइज अन्तिम खेलमा पनि जित निकालेर उपाधि उचाल्न चाहन्छ।

अर्कोतर्फ रेलिगेशनको चर्को दबाबमा रहेको खुमलटार जितको दबाबमा हुनेछ। रेलिगेशनबाट जोगिन खुमलटारलाई जितसँगै फ्रेन्ड्स र थ्रीस्टारको पनि पराजयको कामना गर्नुपर्नेछ।

त्यस्तै, च्यासल मैदानमा सोही समयमा हुने खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्नेछन्। सातदोबाटोका लागि शीर्ष ३ मा पुग्ने अवसर रहनेछ भने पुलिसलाई शीर्ष ३ मा बलियो बन्ने अवसर।

सोही समयमा दशरथ रंगशालामा फ्रेन्ड्स क्लब र एपीएफ क्लब भिड्नेछन्। रेलिगेशन ब्याटलमा महत्वपूर्ण रहेको यो खेलमा फ्रेन्ड्स क्लबलाई रेलिगेशनबाट बच्न जित आवश्यक हुनेछ भने एपीएफलाई बराबरी काफी हुनेछन। फ्रेन्ड्स क्लबको २७ अंक छ भने एपीएफको ३० अंक छ।

शुक्रवार दशरथ रंगशालामा हुने अन्तिम खेल साँझ ६ बजे हुनेछ। जसमा त्रिभुवन आर्मी र हिमालयन शेर्पाबिच प्रतिस्पर्धा हुनेछ। यो खेल दुवै टोलीका लागि मिडटेबलमा स्थान सुधार गर्ने अवसरका रुपमा रहनेछ। रेलिगेशनमा जाने सम्भावनामा रहेको थ्रीस्टारको खेल भने शुक्रवार छैन।

अंकतालिकामा को कहाँ?

लिगको २५औँ चरणमा थ्री स्टार क्लबसँग बराबरी खेलेको चर्च ब्वाइज युनाइटेडले उपाधि च्याम्पियन सुनिश्चित गरिसकेको छ। सोही चरणमा हिमालयन शेर्पालाई हराएको मछिन्द्र क्लब लिगको उपविजेता हुने पक्कापक्की भयो। यसबाहेका अन्य स्थान भने यो चरणको समाप्तीपछि मात्र टुंगो लाग्नेछ।

२५औँ चरणमा तेस्रो स्थानमा ३८ अंक जोडेको नेपाल पुलिस क्लब छ भने चौथो स्थानमा ३७ अंक जोडेको जावलाखेल युथ क्लब रहेको छ। त्यस्तै ३५ अंक जोडेको सातदोबाटो युथ क्लब तालिकाको पाँचौं स्थानमा रहँदा ३३ अंक जोडेको न्युरोड छैटौं तथा ३२ अंक जोडेको मनाङ मर्स्याङदी सातौं स्थानमा छन्।

समान ३१ अंक जोडेका त्रिभुवन आर्मी क्लब, संकटा क्लब र हिमालयन शेर्पा क्लब क्रमश ८, ९ र १०औँ स्थानमा रहँदा चार टोली रेलिगेशनको भयमा छन्। जसमा ३० अंक जोडेको एपीएफ, २९ अंक जोडेको थ्री स्टार तथा समान २७ अंक जोडेको फ्रेन्ड्स क्लब र खुमलटार युथ क्लब रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell