PahiloPost

Oct 22, 2024 | ६ कात्तिक २०८१

क्यानडामा इन्दिरा गान्धीको हत्याको उत्सव मनाइएपछि भारत सरकारले जनायो विरोध



पहिलोपोस्ट

क्यानडामा इन्दिरा गान्धीको हत्याको उत्सव मनाइएपछि भारत सरकारले जनायो विरोध
क्यानडामा निकालिएको झांकीको दृश्य

क्यानडामा भारतका पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको मृत्युमा उत्सव मनाइएपछि भारत सरकारले विरोध जनाएको छ।

जुन ४ मा क्यानडाको ब्रैंपटन शहरमा खालिस्तान समर्थक शिख समुदायका व्यक्तिहरुले पाँच किलोमिटर लामो पदयात्रा निकालेका थिए। त्यस क्रममा रातो सारीमा रगतले लतपत इन्दिरा गान्धीको तस्विर देख्न सकिन्छ। सो तस्विरमा दुईजना शिख सैनिकले गोली हानिरहेको अर्को तस्विरलाई झाँकी नै बनाएर गाडीमा राखेर परेड गरिएको थियो। सो परेडको तस्विर र भिडियो सार्वजनिक भएपछि भारत सरकारले क्यानडा सरकारको ध्यानकर्षण गराएको हो।

अपरेसन ब्लू स्टारको ३९ वर्ष पूरा भएको (६ जुन) अघि सो परेड आयोजना गरिएको थियो। ३९ वर्ष अघि यो अपरेशन अन्तर्गत भारतीय सुरक्षाकर्मी अमृतसरमा रहेको गोल्डेन टेम्पलमा प्रवेश गरेका थिए। गोल्डेन टेम्पलमा शरण लिइरहेकमा खालिस्तान नेता जरनाली सिंह भिन्ड्रवाला र उनको समर्थक विरुद्ध सो कदम चालिएको थियो।  सरकारको उक्त कदमको विरोधमा भारतभर आन्दोलन समेत भयो। सोही अपरेशनको जिम्मेवार गान्धीलाई ठहर गर्दै दुई शिख सैनिकले उनको हत्या गरेका थिए। सन् १९८४ अक्टोबर ३१ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको ती शिख सुरक्षाकर्मीले गोली हानी हत्या गरेका थिए। परेडमा त्यसैको चित्रण हुने गरि झाँकी निकालिएको थियो।

क्यानडामा भएको परेडमा 'दरबार साहिबमा आक्रमणको बदला' लेखिएको ब्यानरसमेत राखिएको थियो। भारतीय राष्ट्रिय कांग्रेसले सो परेडको विरोध गरेको थियो। भारतीय विदेशमन्त्री एस जयशंकरले पनि सो परेडको विरोध गर्दै क्यानडा सरकारसँग जवाफ खोजेका छन्।

'क्यानडा लगातार अलगावादी, चरमपन्थी र हिंसाको समर्थन गर्नेहरुलाई फूल्ने अवसर दिइरहेको छ। हामीले त्यसपछिको कारण बुझिरहेका छैनौं। लाग्छ यो भोट बैंकको आवश्यकता हो। मलाई लाग्छ आपसी सम्बन्ध र क्यानडाको लागि यो ठिक होइन,' जयशंकरले भनेका छन्।

क्यानडामा शिख समुदायको जनसंख्या धेरै छ। भारतको पंजाबपछि शिख समुदायको ठूलो संख्या क्यानडामा छ। खालिस्तान अभियान क्यानडामा निर्वाध रुपमा चल्दा भारतले पटकपटक त्यसलाई रोक्न आग्रह गर्दै आएको छ।

एस जयशंकरको प्रतिक्रियाको भारतीय कांग्रेसले पनि स्वागत गरेको छ। कांग्रेस नेता मिलिन्द देवडाले यस्तो अवस्थामा दलगत राजनीतिभन्दा माथि उठेर एक देशको हिसाबमा खडा भए भारत जित्ने बताए। कांग्रेसले भारत सरकारसँग यो घटनाको विषयमा क्यानडाका अधिकारीहरु समक्ष उठाउन मागसमेत गरेको छ।

भारतमा रहेको क्यानडाको उच्चआयोगले भने सो घटनाको विरोध गर्दै क्यानडामा घृणा र हिंसाको महिमागान गाउन छुट नभएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell