काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू कांग्रेस सुधार्न लागिपर्ने बताएका छन्। चितवनमा डेमोक्रेटिक लयर्स एसोसिएसनको एघारौं महाधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले उक्त भनाइ राखेका हुन्। विश्वभर अहिले राजनीतिक नेतृत्व आलोचित भएरहेको अवस्थामा नागरिकको कठघरामा उभिएर आफ्नो औचित्य प्रमाणित गर्न हम्मे भएको अवस्थामा सबैले आत्मसमीक्षा गर्नुपर्नेसमेत उनले बताए। 'राजनीति र राजनीतिज्ञ यतिखेर नेपालमा मात्र होइन विश्वभरी नै आलोचित भईरहेका छन्। राजनीतिकर्मीलाई आम नागरिकको कठघरामा उभिएर आफ्नो औचित्य प्रमाणित गर्न हम्मे हम्मे परेको अवस्था छ ,' डा शेखरले भने, 'हामी जो यस मञ्चमा छौं, अपवाद छैनौं होला। किन र के कारणले यस्तो अवस्था आयो? म चाहन्छु एकपटक हामी सबै राजनीतिकर्मीले आत्मसमिक्षा र चिन्तन गर्नुपर्ने भएको छ।'
यसका लागि जिल्लाका नेताहरुले पनि कांग्रेसको अवस्थाबारे बुझ्नुपर्ने र आफू पनि सुध्रिन तयार रहेको उनले बताए। 'तपाइँहरु एकपटक चितवन कांग्रेसको अवस्थाबारे पनि बुझ्नुहोस्। कहाँ कसरी के सुधार गर्नुपर्छ भनी साथीहरुसंग बृहत छलफल, बहस र अन्तकृया गरेर हामीलाई जानकारी दिनुहोस्। हामी सुध्रिन तयार छौं। हामी कांग्रेस सुधार्न लागि पर्छौ। यो मेरो प्रतिबद्धता भयो,' कोइरालाले भने।
जनतासँग जोडिन नसक्नु दु:खद्
नेता कोइरालाले पछिल्ला समय कांग्रेस जनतासँग जोडिन नसकेको उल्लेख गर्दै यो दु:खद् विषय भएको बताए। पार्टी विधानअनुरुप नचल्दा यस्तो भएको उनको भनाइ थियो। 'विधिको शासनप्रति समर्पित यो समुह देशको संविधान र लोकतन्त्रको रक्षक पनि हो भन्ने कुरामा संशय छैन। लोकतन्त्रमा जनताद्धारा बनाएको संविधान र कानुनद्वारा शासन गरिन्छ। तपाईहरुको संगठन र हामी जो प्रत्यक्ष नेपाली कांग्रेससँग आवद्ध छौं, हामी पनि हाम्रो पार्टी विधान अनुरुप चल्न चाहन्छौं,' कोइरालाले भने, 'यसरी नै एउटा “लोकतान्त्रिक इको– सिस्टमको” सभ्यता र संस्कृतिलाई हामीले अगाडि बढाउने हो। यो कार्य सामान्य छैन, तर असंभव पनि छैन।'
कांग्रेसमा कतिपय समयमा व्यवहारिक राजनीतिको नाममा आँखा चिम्लने कामसमेत भएको उनले बताए। 'म आफू बसेको संस्थाको कुरा गर्न चाहन्छु। हाम्रो संस्था नेपाली कांग्रेस यस मुलुकको अग्रणी राजनैतिक पार्टी हो। यसको ऐतिहासिक विरासत र रोमांचित यात्राको गाथा कसैबाट लुकेको छैन। हरेक सार्वजनिक संस्था जस्तै राजनैतिक दल किन र कसका लागी भन्ने औचित्य पुष्टी गर्नु पर्ने बेला भएको छ,' कोइरालाले भने, 'समय–समयमा राजनैतिक दलहरुको औचित्य परिक्षण पनि भएको छ। राजनैतिक संकट तथा निरंकुशताका समयमा हामी खरो रुपमा उत्रेका छौँ तर यसको सुरक्षा र सम्बर्धनमा कहिलेकाही चुकेका पनि छौँ। व्यवहारिक राजनीतिका नाममा कतिपय बिषयमा आँखा चिम्लेका छौँ र पार्टीको विधान, नीति र नियमलाई मिचेर अगाडी बढेको छौँ । समष्टिमा भन्नु पर्दा हाम्रो यात्राको मिश्रित अनुभव छ।'