वीरगंज : अत्यधिक गर्मीका कारण पर्साको जनजीवन प्रभावित भएको छ। गर्मीकै कारण दिउँसो बजारमा चहलपहल पातलिएको छ। मानिसहरू गर्मीका कारण बाहिर निस्कन कम गरेका छन्।
महानगरलगायत जिल्लाका १४ वटै पालिकामा जेठ २६ गतेसम्मको लागि शैक्षिक संस्थाहरू बन्द गरिएको थियो। आज वीरगंज महानगरले पुनः सूचना जारी गर्दै गर्मी बिदालाई असार १ गतेसम्म निरन्तरता दिएको बताएको छ।
मौसम पूर्वानुमान महाशाखाले अझै पाँच दिन गर्मी बढ्ने जानकारी गराएको छ। पर्साका विभिन्न स्थानमा लगाइएका हरियो तरकारी खेतमै सुक्न थालेका छन्।
बहुदरमाई नगरपालिका-५ गम्हरियामा लगाइएको तरकारीखेती अत्यधिक गर्मीका कारण खेतमै सुकेको छ। जसले गर्दा अहिले बजारमा हरियो तरकारी महँगो भएको छ।
गर्मीको कारण बजारमा चहलपहल कम हुँदा व्यापार पनि घटेको छ। दैनिक ज्यालादारी गर्नेले दुई छाक खान पनि समस्या भइरहेको बताएका छन्।
असार १ देखि नदीजन्य पदार्थको उत्खनन् भदौ मसान्तसम्मको लागि तीन महिना बन्द हुन्छ। यस क्रममा नदीजन्य पदार्थको उत्खननमा काम गर्ने मजदूरहरूलाई झनै समस्या भएको छ।
भलुही खोला उत्खननमा कार्यरत चारजना मजदूर गर्मीका कारण बेहोस भए। नदीजन्य पदार्थको उत्खनन् गर्दा छहारीको अभाव, रूख नभएर ओत लाग्न नसकिने तथा पानीको पनि अभाव हुँदा गर्मीमा मजदूरहरू बेहोस भएको स्वास्थ्यकर्मीले बताए।
अहिले ग्रामीण क्षेत्रका बजारहरू पनि दिनभरि सुनसान छन्। घाम कम भएर तापक्रम घटेपछि मात्र बजार क्षेत्रमा मानिसहरूको चहलपहल बढ्ने गरेको छ।
चिकित्सकले गर्मीबाट जोगिन अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सुझाव दिएको छन्। घरबाट बाहिर निस्किँदा टाउकोमा कपडा राख्ने अथवा छाता ओढ्ने, सक्दो सुतीको पातलो कपडा लगाउने, नियमित पानी पिउने, मदिरा सेवन नगर्ने, चिया-कफी र चीसो पेय पदार्थको सेवन धेरै नगर्न पनि चिकित्सकको सुझाव छ।