PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

‘रेस्लिङ’मा उत्रँदा पनि खुमलटार ‘रेलिगेसन’मा, जितपछि चर्च ब्वाइजको ‘सेलिब्रेसन’ यस्तो

‘रेस्लिङ’मा उत्रँदा पनि खुमलटार ‘रेलिगेसन’मा, जितपछि चर्च ब्वाइजको ‘सेलिब्रेसन’ यस्तो

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटार रेलिगेसनमा पर्ने पहिलो टोली बनेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा च्याम्पियन चर्च ब्वाइजसँग २-० गोलअन्तरले पराजित भएसँगै खुमलटार ‘ए’ डिभिजन लिगमा सहभागिता जनाएको वर्ष नै ‘रेलिगेसन’मा परेको हो।

चर्च ब्वाइज यो खेलअघि नै ‘च्याम्पियन’ बनिसकेको छ। यद्यपि, ‘रेलिगेसन’बाट जोगिन संघर्षरत खुमलटारलाई कुनै मौका नदिई चर्च ब्वाइज विजयी बनेको हो।

सातदोबाटोमा शुक्रवार सम्पन्न खेलको २१औँ मिनेटमा एरिक बिष्टको फ्रिकिकमा सुनिल साहले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए। राजीव लोप्चनले अञ्जन बिष्टलाई खराब ट्याकल गर्दा चर्चले फ्रिकिक पाएको थियो।

२६औं मिनेटमा मेसुके ओलोमोउले पेनाल्टीमा पाएको अवसरमा गोल गर्न सकेनन्। पहिलो हाफको अतिरिक्त समयमा भने मैदानको अवस्था थप तात्यो। इन्ज्युरी समयमा खुमलटारका ‘अफिसियल’हरु झगडामा उत्रिए। दुई पटक ह्याण्डबल हुनुपर्नेमा नदिएको भन्दै खुमलटारका मेनेजर अञ्जन राना क्षेत्रीलगायतले रेफ्री प्रज्जवल क्षेत्रीमाथि हातपात गरे।

त्यसपछि रेफ्रीले तीनजना अफिसियललाई रेडकार्ड दिए। त्यसपछि अझ उग्र बनेका अफिसियल र बेन्चका खेलाडी रेफ्रीमाथि खनिए। उनीहरुलाई सम्हाल्न एन्फा अधिकृतहरुलाई हम्मेहम्मे परेको थियो।

लफडा परेपछि तीस मिनेटभन्दा बढी समय खेल प्रभावित बनेको थियो। दोस्रो गोल अतिरिक्त समयमा चर्चका जोसेफ बेम्पाले गरे।

यसक्रममा खुमलटारका अफिसियलको मुक्का खाएका रेफ्री प्रज्वल क्षेत्रीले सुरक्षा प्रत्याभूत नभई खेल सुरु नगराउने अड्डी कसे। जसले खेल प्रभावित बनेको थियो।

५१ औँ मिनेटमा चर्च ब्वाइजका गोलकिपर प्रिसो रेडकार्ड खाँदै बाहिरिँदा चर्च १० खेलाडीमा समेटियो। सुरुबाटै आक्रामक बनिरहेका उनले गोल गर्न लागेका फ्रिकिकमा हेडिङ हान्न पुगेका विपक्षी खेलाडीसँग हातपातमा उत्रिँदा गर्दा रेडकार्ड ब्यहोरे। त्यहीबेला दर्शकले खेलाडीमाथि बोतलसमेत फालेर विरोध जनाएका थिए।

योसँगै खुमलटार रेलिगेसनमा जाने पहिलो टोली बनेको छ। शुक्रवार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा फ्रेन्ड्स क्लबले एपीएफलाई ४-० गोलअन्तरले हराउँदै रेलिगेसन टारेको छ। रेलिगेसनमा जाने दोस्रो टोलीको टुंगो भने शनिवार थ्री स्टार क्लबको खेलपछिमात्र लाग्नेछ।

रेलिगेसनमा गएको खुमलटार २७ अंकमा समेटिँदा रेलिगेसनको जोखिममा रहेका थ्री स्टार क्लबको २९ तथा एपीएफ र फ्रेन्ड्स क्लबको समान ३० अंक छ।



ट्रेन्डिङ पोस्ट

Ncell