काठमाडौँः सर्वोच्च अदालतमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि उजुरी दिने कानुन व्यवसायीको लर्को लागेको छ। संसदीय सुनुवाइ समितिमा दर्जनभन्दा बढी कानुन व्यवसायीले उजुरी दर्ता गरेका हुन्।
कार्कीमाथि उजुरी दिने समयसीमा शुक्रबार सकिएको छ। समितिले दश दिनको समय दिएर जेठ १७ गतेबाट उजुरी आह्वान गरेको थियो।
कार्कीमाथि बहालवाला जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले पनि सुनुवाइ समितिमा उजुरी दिएका छन्।
कार्कीमाथि अधिवक्ता उत्तमबहादुर श्रेष्ठ, युवराज कोइराला, ओमप्रसाद रेग्मी सुभाष ढकाल, गोकर्ण आचार्यले उजुरी दिएका छन्। यस्तै, अमृत खरेल, ध्रुवलाल श्रेष्ठले पनि उजुरी दिएका छन्।
कार्कीमाथि कूल २९ जनाको उजुरी दर्ता भएका छन्।
अधिकांश उजुरी संवैधानिक परिषद्सम्बन्धी कानुन रिक्तता भइरहेका बेला सिफारिस गरिएकाले त्रुटिपूर्ण भएको उल्लेख छ। उक्त सिफारिस कार्यान्वयन नगर्न तथा कार्कीको नाम सुनुवाइबाट अस्वीकृत गर्न पनि माग गरिएको छ।
यस्तै, कार्की प्रधानन्यायाधीशका लागि योग्य नरहेको, कार्यक्षमता नभएको, गुटगत राजनीतिमा अदालतमा क्रियाशील रहेको पनि आरोप उजुरीमा छ।