PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

च्याम्पियन तर ट्रफी उचाल्न अझै बाँकी, अन्तिम खेलको 'रेस्लिङ'बारे टिप्पणी: रेफ्रीको त भविष्य नै देखिन



मुकुन्द घिमिरे

च्याम्पियन तर ट्रफी उचाल्न अझै बाँकी, अन्तिम खेलको 'रेस्लिङ'बारे टिप्पणी: रेफ्रीको त भविष्य नै देखिन

काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत शुक्रबार 'रेलिगेसनको ब्याटल' दुईटा खेल महत्वपूर्ण थिए। जसमध्येमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा प्रतिस्पर्धा गर्दै थिए च्याम्पियन बनिसकेको र तालिकाको पुछारमा रहेको खुमलटार एफसी। च्याम्पियन चर्चका लागि यो अन्तिम खेल पनि जित्ने च्याम्पियनको प्रतिष्ठा थियो भने खुमलटारका लागि गर या मरको अवस्था।

खेलमा अग्रता चर्च ब्वाइजले लियो। खेलको २१औँ मिनेटमा एरिक बिष्टको फ्रि-किकमा सुनिल साहले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए। राजीव लोप्चनले अञ्जन विष्टलाई खराब ट्याकल गर्दा चर्च ब्वाइजले फ्रिकिक पाएको थियो।

त्यसपछि दबाबमा रहेका खुमलटारका अफिसियलहरु रेफ्री प्रज्वल क्षेत्रीको निर्णयमा आपत्ति जनाइरहेका थिए। ४५औँ मिनेटमा त अत्ति नै भयो, जुन शीर्ष डिभिजन लिगमा नहुनु पने भयो।

इन्ज्युरी समयमा खुमलटारका अफिसियल झगडामा उत्रिए। खुमलटारका मेनेजर अञ्जन राना क्षेत्रीलगायतले दुई पटक ह्याण्डबल हुनुपर्नेमा नदिएको भन्दै रेफ्री प्रज्जवल क्षेत्रीमाथि हातपातमा उत्रिए। प्लेयर बक्सबाट दौडिएर गएर रेफ्री क्षेत्रीको मुखमा मुक्का हानिहाले।

त्यसपछी रेफ्रीले तीन जना अफिसियललाई रेडकार्ड दिए। रेडकार्ड पाएपछि अझ उग्र बनेका अफिसियल र बेन्चका खेलाडीहरु रेफ्रीमाथि खनिए। यस क्रममा कुल ४ जना अफिसियलले रेडकार्ड ब्यहोरे। जसमा मनीष थापा, बुद्धिबहादुर गुरुङ, हरिबोल राउत र अञ्जन राना क्षेत्री रहेका छन्।

उनीहरुलाई सम्हाल्न हम्मेहम्मे परेको थियो। लफडा परेपछि खेल झन्डै आधा घन्टा प्रभावित बनेको थियो। दोस्रो हाफमा पनि खेलाडीबीच लफडा पर्‍यो। दर्शक दीर्घाबाट मैदानमा बोतल प्रहार भयो। यसपटक भने चर्च ब्वाइजका गोलकिपर प्रिसो रेडकार्ड खाँदै बाहिरिए।

खेलपछि चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जनले अन्तिम खेलमा सोचेजस्तो नतिजा आएको भन्दै सुरुबाटै कन्फिडेन्ट भएर खेले पनि दोस्रो हाफमा चाहिँ धैर्य गुमाएको बताए।

'प्रिसोको रेडकार्ड पछि हामीलाई अलिकति प्रेसर भयो। १० जनामा समेटिँदा। फुटबल हो त्यस्तो भइरहन्छ।' उनले भने।

खेलमा लफडाका कारण समय धेरै लागेको भन्दै सुरक्षामा कमजोरी भएको बताए।

'टिम, खेलाडी, रेफ्री, अफिसियल कसैका लागि पनि सुरक्षा महसुस भएन,' चर्च ब्वाइजका प्रशिक्षक महर्जनले भने, '४५ मिनेटमा खेल रोकेर सेक्युरिटी बोलाएर खेलाउनु पर्ने अवस्था आयो। यस्तो अवस्था ए डिभिजनको अन्तिम खेलमा नहुनुपर्ने हो जस्तो लाग्छ।'

खेल अघि खुमलटारले अन्तिम खेल खेल्ने या नखेल्नेबारे अन्योल थियो। खुमलटारले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र पठाउँदै रेलिगेसनको जोखिममा रहेका सबै टोलीको एकै समयमा फिफाको नियमअनुसार खेल खेलाउनु पर्ने माग राखेको थियो। चर्च ब्वाइजका प्रशिक्षक महर्जनले आफूहरुले यो विषय मिडियाबाट थाहा पाएको भए पनि खेल्ने मानसिकतामा आफूहरु आएको बताए।

खेलका क्रममा भएको उदण्डतालाई भने उनले आयोजकको कमजोरी भएको बताए।

'यो आयोजकको कमजोरी हो। उहाँहरु त भर्खर ए डिभिजनमा आउनुभएको कति अफिसियलहरु नयाँ होलान्,' प्रशिक्षक महर्जनले भने, 'कुनै पनि प्रोफेसनल क्लब सिनियर होस्, जुनियर होस या कुनै क्लब होस्, कसैले पनि यस्तो ब्यवाहार गर्नु हुँदैन। नियमसंगत हुनुपर्छ।'

रेफ्रीमाथि आक्रमण भएको सन्दर्भमा आफूले रेफ्रीको भविष्य नदेखेको बताए।

'मैले रेफ्रीको त भविष्य नै देखिन। आज कसैले हतियार लिएर गइदिएको भए ठूलो दुर्घटना हुन सक्थ्यो,' उनले भने, 'त्यत्रो हातापाइ हुँदा एकजना सेक्युरेटी त्यहाँ मैले देखिरहेको थिएँ। यसमा कसैको पनि सुरक्षा देखिएन। यसमा आयोजकको कमजोरी छ।'

च्याम्पियन तर छैन ट्रफी

२५ औँ चरणमा दशरथ रंगशालामा चर्च ब्वाइजले थ्री स्टार क्लबसँग बराबरी खेलेसँग च्याम्पियन बन्ने पक्का गरेको थियो। त्यतिबेलै दर्शकहरुको ठूलो उपस्थितिमा च्याम्पियन ट्रफी उचाल्न चर्चले सक्थ्यो। या, शुक्रबारको अन्तिम खेलमा। तर, शुक्रबार एउटा सूचना निकाल्दै च्याम्पियन ट्रफी शनिबार नै वितरण गरिने आयोजकले जनाएको छ। जबकि शनिबार चर्च ब्वाइजको खेल नै छैन।

यसलाई पनि ब्यवस्थापकीय कमजोरीकै अर्को उदाहरणका रुपमा लिन्छन् महर्जन। यस्तो कमैमात्र हुन भन्दै आजको खेल दशरथ रंगशालामा गराएर ५/१० हजार दर्शकको माझमा ट्रफी दिएको भए राम्रो हुने उनको बुझाइ छ।

'त्यो उपस्थितिमा ट्रफी दिएको भए के जान्थ्यो? हामीले अस्ति पनि जित्यौँ, आज पनि जित्यौँ तर हामी ट्रफी बेगरको छौँ।' महर्जनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell