
वीरगंज : वीरगंज महानगरपालिकामा खानेपानीको समस्या विकराल हुँदै गएको छ। विभिन्न व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत खानेपानीको समस्या समाधान गर्न आग्रह समेत गरिरहेका छन्।
वर्षायाममा डुबानमा पर्ने गरेको वीरगंज यतिखेर खानेपानीको चरम संकटबाट गुज्रिरहेको छ। चर्को गर्मीमा चापाकलको पानी पनि सुकेपछि टोलटोलका धारामा पानी लिनेहरूको लामो लाइन छ।
चापाकल सुकेपछि केही ठोकुवा चापाकल गाडेर पानीको समस्या समाधान गर्दैछन् भने केहीले जारको पानी किनेर उपभोग गर्न थालेका छन्। रातभरि मानिसहरू पानीको जोहोको लागि अनेकौँ प्रयास गरिरहेका हुन्छन्।
बुद्धिजीवी डा सुष्मा तिवारीले फेसबुकमा केही फोटो पोस्ट गर्दै छपकैयामा खानेपानीको समस्या बिकराल बनेको बताएकी छन्। फोटोमा बच्चादेखि पाकासम्म हातमा बोतल, बालटिनलगायत भाँडाहरू लिएर छरछिमेकका घर-घरमा पानी आएको छ भन्दै सोधखोज गर्दै हिँडिरहेको देखिन्छ।
तत्काल खानेपानीको समस्या समाधान गर्न ट्याङ्करबाट टोलटोलमा पानी पुर्याउन डा तिवारीले महानगरलाई आग्रह गरेकी छन्।
उनको पोस्टमा प्रतिक्रिया जनाउँदै अनिल कुमार कर्णले लेखेका छन्- चुरे क्षेत्र तथा चुरे नदीको अत्यधिक दोहनले पानीको विकराल समस्या आएको छ।
वीरगंजमा खुला ठाउँ र पानी जम्मा हुने स्थान नरहेको र वर्षाको पानी सबै बगेर जाने गरेको कारण पनि यस प्रकारको समस्या देखिएको विज्ञहरू बताउँछन्। वर्षाको पानी ‘रिजार्च’ भएर जमिनमुनि जान नपाउँदा प्रचण्ड गर्मीमा पानीको सतह निकै तल गएकोले पानीको हाहाकार भएको बताइन्छ।
वीरगंज-१३ का पत्रकार दीपक कुशवाहाले आफू बस्ने घरमा पनि धारा सुकेको बताए। उनले तीन दिनदेखि धाराबाट मोटरले पानी तान्न छाडेपछि आफूले अन्य ठाउँबाट पानीको जोहो गरेको बताए।
त्यसैगरी, वीरगंज-१२ मुर्ली टोलका धाराहरु पनि सुखेको स्थानीय कामेश्वर प्रसाद बताउँछन्। उनले हरेक वर्ष जेठको गर्मी याममा पानीको लागि स्थानीयले समस्या भोग्नु परेको बताए।
खानेपानीको समस्या देखिएपछि वीरगंज महानगरपालिकाले चार हजार धारा जडान गर्ने तयारी गरिरहेको नगरप्रमुख राजेशमान सिंहले फेसबुकमा लेखेका छन्। नेपाल खानेपानी संस्थानले महानगरको सीमित ठाउँमा खानेपानी पाइपलाइन विस्तार गरेको छ। जसअन्तर्गत अधिकांश ठाउँमा चापाकल जडान भएपनि हाल आएर चापाकल पनि सुक्दा वीरगंजवासी काकाकुल बन्न पुगेका छन्।
वीरगंजमा अधिकांश मानिसले खानेपानी संस्थानको पाइप जोड्नुको साटो चापाकलकै भर पर्दा पनि यो अवस्था आएको बताइएको छ।