PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

‘स्कूप’ खोज्दा प्रहरीको ‘स्क्यापगोट’ : डनहरूको समाचार लेख्‍ने क्राइम रिपोर्टरको कथा



सहयोग रञ्जित

‘स्कूप’ खोज्दा प्रहरीको ‘स्क्यापगोट’ : डनहरूको समाचार लेख्‍ने क्राइम रिपोर्टरको कथा

सन् २०११। अन्डरवर्ल्ड र माफियाको आतंकले ग्रस्त थियो मुम्बई। शहरमा ग्याङ वार र सुटआउट सामान्य झै लाग्छ। दाउदले छोटा राजन समूहलाई निशाना बनाउँदा प्रहरी ग्याङ्स्टरको पछि। व्यापारी र बलिउडमा पनि उत्तिकै आतंक। यिनै रस्साकस्सीमा ‘स्कूप’ खोज्न हिँड्थे पत्रकार।

ग्याङ वार र डनका कथा अत्याधिक बिक्ने पत्रिकामा। हिन्दीमात्रै होइन अंग्रेजी पत्रिकामा पनि उत्तिकै माग। त्यसैले क्राइम रिपोर्टरहरूको ‘चार्म’ नै बेग्लै। सेलिब्रिटीकै पोस्चर। प्रहरी, नेतादेखि डनसम्म ‘कनेक्सन’ हुन्थ्यो उनीहरूको। पत्रिकाको पहिलो पृष्ठमा पनि प्राय उनीहरूकै कथा, उनीहरूकै बाइलाइन। क्राइम रिपोर्टिङ पेशा कम प्यासन बढी थियो। तर, यही ‘थ्रिलिङ जव’ले सन् २०११ मा मुम्बईको पत्रकारिता क्षेत्रमा एकाएक सन्नाटा छायो।

सो वर्ष जुन ११ मा मिड डे अङ्ग्रेजी पत्रिकामा क्राइम रिपोर्टिङ गर्ने ज्योतिर्मय डेको गोली हानी हत्या गरियो। उनको रिपोर्टहरू विशेषगरि मुम्बईमा दाउड इब्राहिम र छोटा राजन समूहको ‘नेक्सस’बारे हुन्थ्यो। छोटा राजन समूहले नै ज्योतिर्मयको हत्या गरेको अनुसन्धानमा देखियो। ज्योतिर्मयको हत्या आरोपमा छोटा राजनसँग मिलेको अभियोगमा प्रहरीले अर्का क्राइम रिपोर्टर जिग्ना वोरालाई पक्राउ गर्‍यो।

जिग्नाले ज्योतिर्मयको हत्या हुनु केही हप्ता अघिमात्रै अन्डरवर्ल्ड डन छोटा राजनसँग अन्तर्वार्ता लिएकी थिइन्। त्यही अन्तर्वाता लिनका लागि जिग्नाले छोटा राजनलाई जोतिर्मोयको सूचना दिएको आरोप प्रहरीले लगाएको थियो। आफ्नो रिपोर्टिङ करियरमा प्रहरीसँग राम्रो ‘कनेक्सन’ बनाएकी जिग्ना यही मुद्दाका कारण ६ वर्ष अदालत ओहरदोहर गर्न पर्‍यो। २०११ नोभेम्बर देखि २०१२ जुलाईसम्म ९ महिना जेल परेर धरौटीमा निस्किएकी हुन् उनी। उनले मुद्दा चालु नै थियो र सम्पूर्ण आरोपबाट सफाइ चैं २०१८ मा पाएकी हुन्।

जेलबाट रिहा भएपछि उनले ‘बिहाइन्ड द बार्स इन बाइकुल्ला माइ डेज इन प्रिजन’ टाइटलमा किताब लेखिन्। त्यही किताबमा आधारित भएर बनेको वेब सिरिज ‘स्कूप’ नेटफ्लिक्समा रिलिज भएको छ। तत्कालीन रिपोर्टिङ परिवेश, पत्रकारको प्रहरी र डनसँगको सम्बन्ध, रिपोर्टरबिच स्कूप पाउने होडबाजी र पत्रकार बिचको इर्श्याका प्लटहरु सिरिजमा देखाइएको छ।

'दाउदको घर नजिकै गोली हानाहान्, प्रहरीलाई ग्याङ वारको डर'

'बुलेट अन्डरवर्ल्ड भित्र हुने विवादहरूको जवाफ हो'

'छोटा राजनले लिए थाने सुटआउटमा जिम्मा'

'माफिया र बलिउडको सम्बन्ध खोज्दै प्रहरी'

त्यस समय पत्रिकाहरूको फ्रन्ट पेज यस्तै हेडलाइनले भरिन्थे। क्राइम रिपोर्टरहरू यिनै ग्याङहरूको पछि लाग्थे। प्रहरीसँग समाचार बनाउन ‘टिप’ लिन्थे। सम्पादक त्यसमा मसला भर्थे र छापिन्थ्यो अन्डरवर्ल्ड बारे सनसनीखेज खुलासाहरू। त्यही ‘रेस’मा थिए ज्योतिर्मय र जिग्ना पनि। प्रहरी र ग्याङबाट आउने सूचना कतिपय अवस्थामा त सही नै हुन्थ्यो। सुट आउट हुनुअघि पत्रकार लोकेसनमा पुग्थे। कतिपयले भने पत्रकारको ‘युज’ गर्थे। गलत सूचना दिएर आफू अनुकूल परिवेश बनाउँथे।

भारतमा प्रिन्ट मिडियाको दबदबा कायमै थियो त्यसबेला। विस्तारै टेलिभिजनको उदयले ‘ब्रेकिङ न्यूज’को संस्कार विकास भयो। प्रिन्टको ‘स्कूप’ र टेलिभिजनको ‘ब्रेकिङ’ दिने होडले पत्रकारिताले कसरी संवेदनशीलता गुमाउँछ भनेर सिरिजले प्रष्ट पारेको छ।

वर्तमान समयमा भारतीय सत्ताले भारतीय मिडियालाई आफू अनुकूल प्रयोग गरिरहेको छ। र, मिडिया पनि पत्रकारिताको धर्म बिर्सिँदै आर्थिक र राजनीतिक फाइदा खोजिरहेको छ। पत्रकार ‘म्यानेजमेन्ट’बाट गाइडेड छन्। पत्रकारितामाथि मनोरञ्जन हाबी भएको छ। म्यानेजमेन्टले भनेजस्तै पत्रकारले समाचारबाट मनोरञ्जन दिन सक्दैनन् भने उसलाई ‘फायर’ गरिन्छ भारतमा। कन्हैया कुमारले सन् २०२० मा मिडियालाई मनोरञ्जनसँग जोडेर गरेको यो टिप्पणी सिरिज हेर्दै गर्दा ‘लिङ्क’ गर्न सकिन्छ।

‘स्कूप’ वोराकै जीवनीमा आधारित भए पनि निर्देशक हन्सल मेहताले सिरिज बनाउन धेरै अनुसन्धान गरेको देखिन्छ। उनले त्यसबेलाको मिडिया, प्रहरी र अन्डरवर्ल्डको चित्रलाई दुरुस्तै उतारेका छन्। पत्रकारहरूले प्रहरी र गुण्डाहरूबाट कसरी ‘फ्रन्ट पेज’मा समाचार प्रकाशन गर्न ‘टिप’ पाउँछन् र यसले उनीहरूको जीवनमा कसरी प्रभाव पार्छ भनेर देखाइएको छ। यस्तै, महिला रिपोर्टरले कसरी धेरै संघर्षको सामना गर्छन, ‘स्कूप’ पाएर पनि समाचार सम्पादकले नछाप्दा पत्रकारले कसरी मिडिया हाउस फेर्छन्। पत्रकारिता क्षेत्रका यिनै सदावहार चलनलाई पनि देखाइएको छ सिरिजमा। ‘टिप’ पाउन आफ्नो स्रोतसँग हिँड्दा महिला पत्रकारको नाम जोड्ने पित्तसत्तात्मक सोचमाथि पनि सिरिजमा प्रश्न उठाइएको छ।

वेब सिरिजको कास्टिङमा कुनै प्रश्न उठाउने ठाउँ छैन। ‍स्कूपमा करिश्मा तन्नाको अभिनय दमदार छ। करिश्माले जागृति बनेर अभिनय क्षेत्रमा पाएको अवसरलाई खेर फालेकी छैनन्। हरमन बवेजा, प्रोसेनजीत चटर्जी,र इनायत सूद लगायतले आ-आफ्नो भूमिकामा राम्रो काम गरेका छन्।

६ एपिसोडको सिरिज। सबै ५० मिनेट माथि। कथाले दर्शकलाई तानिरहन्छ। तर, पाँचौं र छैटौं एपिसोड भने एक घण्टाभन्दा लामा। आखिरी एपिसोडतिर अलि फितलो बनेको छ सिरिज। अन्तिम दुई एपिसोडको लम्बाइका कारण कथा सुस्त लाग्न सक्छ। तर, यसले कथालाई कमजोर भने बनाउँदैन। अपराधका कथामा चासो हुने र क्राइम रिपोर्टिङ गर्नेहरूका लागि सिरज 'मोस्ट वाच' हो।

अहिले पनि भारतमा जिग्नाको खोजी भइरहेको छ। उनीसँग जोडिएका कथा मिडियाले छाप्दैछ।

सिरिजले प्रश्न उठाउँछ : प्रहरीले जिग्ना वोरालाई ‘स्क्यापगोट’ किन बनायो? उनलाई नै प्रहरीले किन ‘टार्गेट’ गर्‍यो? यी प्रश्नको जवाफ जिग्नाले अहिले पनि खोज्दैछिन्। उनी सोधिरहेकी छिन् : ह्वाई मी? अर्थात् म नै किन?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell