PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गर्मीमा कस्ता स्वास्थ्य समस्या देखिन्छन्? बच्न के गर्ने?



पहिलोपोस्ट

गर्मीमा कस्ता स्वास्थ्य समस्या देखिन्छन्? बच्न के गर्ने?

यसपटक देशभरका धेरै क्षेत्रमा तापक्रम वृद्धिले ‘रेकर्ड ब्रेक’ गरेको मौसमविद्हरु बताउँछन्। पछिल्ला केही दिनहरुमा तापक्रम बढ्दा देशभरको जनजीवन प्रभावित बनेको छ।

तराईका जिल्लाहरुमा तातो हावा (हिट वेभ) बढ्न थालेको छ। तराई क्षेत्रको तापक्रम अहिले ४० डिग्रीभन्दा माथि पुगेको छ।

चर्को घाम लागेका कारण मानिसलाई बाहिर हिँड्न हम्मे छ। गर्मीको मार दैनिक ज्याला मजदुरी गर्नेहरुलाई अझ बढी छ, जो कामको लागि बाहिरी वातावरणमा डिँड्डुल गर्नुपर्ने हुन्छ।

लामो समय गर्मीमा ‘एक्सपोज’ हुनु धेरै मानिसहरुको लागि घातक बन्न सक्छ। अत्याधिक गर्मीका कारण मांसपेसी बाउँडिने, थकाइ लाग्ने तथा ‘हिट स्ट्रोक’सम्म पनि निम्तिन सक्छ।

गर्मीबाट बच्ने एउटा सजिलो उपाय भनेको प्रशस्त तरल पदार्थ पिउने र शितल स्थानमा बस्नु नै हो। गर्मीको जोखिममा रहेका परिवारका सदस्य, आफन्त, साथीभाइ तथा छिमेकीको ख्याल गर्नुपर्छ।

यस्तो अवस्थामा कुनै आपतकालिन अवस्थाको लागि पनि तयारी अवस्थामा रहनु पर्छ। गर्मीमा एसी, पंखाजस्ता कुरा धेरै चलाइने हुँदा बिजुलीको लोड बढ्न गई ‘लाइन’ जान सक्ने हुँदा त्यसको लागि पनि पूर्वतयारी गर्नुपर्छ।

सञ्चार माध्यमा मौसम पूर्वानुमानसम्बन्धी जानकारी पनि लिइरहनपर्छ। जसले गर्दा गर्मीबाट बच्न विभिन्न तयारी गर्न सकियोस्।

गर्मीबाट बच्न अपनाउनुहोस् यी उपाय

प्रशस्त चिसो तरल पदार्थ पिउनु नै गर्मीबाट बच्ने उत्तम उपाय हो। तिर्खा नलागे पनि चिसो तरल पदार्थ पिउँदा शरीरलाई शितल बनाउँछ। बच्चा तथा बुढापाकाहरुले प्रशस्त तरल पदार्थ सेवन गरेका छन् या छैनन् भन्ने कुरामा पनि ख्याल गर्नुपर्छ।

गर्मीमा क्याफेन तथा रक्सीजन्य पदार्थबाट टाढै रहेको बेश हुन्छ। किनकी यसले शरीरमा ‘डिहाइड्रेसन’ निम्त्याउन सक्छ। यसले तापक्रम व्यवस्थित राख्ने शरीरको प्रक्रियामा पनि असर पुर्‍याउँछ।

सबैभन्दा धेरै गर्मी हुने दिउँसोको समय (विशेषगरी बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म) बाहिर घाममा हिँड्नु हुँदैन। हिँड्नै परे छाता ओढ्ने तथा टोपी लगाउन भने भुल्नु हुँदैन भने सकेसम्म ‘सन्स्क्रिन’ लगाउनु राम्रो हुन्छ।

गर्मीको समयमा हलुका तथा खुकुलो कपडा लगाउनु पर्छ। ताकि शरीरमा हावा पसोस् र तातोपना बाहिर जाओस्।

गर्मी बढ्दै जाँदा घरबाहिर गर्ने कामहरु कम गर्नुपर्छ। धेरैजसो समय घरभित्रै बस्ने र घरबाहिर लामो समय काम गर्नु हुँदैन।

बाहिर काम गर्नेहरुले बेला-बेला शितलमा विश्राम लिने गर्नुपर्छ भने एक्लै काम गर्नुको साटो साथीहरुसँग मिलेर गर्नु उपयुक्त हुन्छ।

त्यस्तै, घरमा आफ्ना घर पालुवा जनावरहरुको पनि हेरचाह गर्नुपर्छ। उनीहरुलाई पनि बेलाबेलामा पानी दिनुका साथै शितल ठाउँ बस्ने व्यवस्था मिलाउनुपर्छ। ‘हिट वेभ’को बेलामा ताजा हावा घरभित्र खेल्ने गरी झ्यालहरू र पर्दाहरू खोल्न पर्छ।

गर्मीको समयमा बालबच्चाहरू तथा घरपालुवा जनावरहरूलाई पूर्ण रुपमा बन्द गरिएको गाडीहरूमा एक्लै छोड्नु हुँदैन। गर्मीले शरीरमा असर गर्न थालेको महसुस भए घामबाट शितल ठाउँमा जानुपर्छ र बाँकी समय अतिरिक्त तरल पदार्थ सेवन गर्नुपर्छ। चर्को घाममा काम गर्दा बिबिराहरु देखिने, अनुहार सुन्निने, वाकवाकी लाग्ने, ज्वरो आउने वा शरीर चिसो हुने, मुटु धड्कन बढ्न तथा सास फुल्ने भएमा तत्काल स्वास्थ्यकर्मीलाई देखाउनुपर्छ।

गर्मीका कारण देखिन सक्छ यस्ता समस्या

चर्को घाम वा अत्यधिक गर्मीमा बस्ने जोकोहीलाई पनि मांसपेशी बाउँडिने, थकाइ लाग्ने तथा ‘हिट स्ट्रोक’सम्मको समस्या निम्तिन सक्छ। गर्मीका कारण देखिने यी लक्षणहरूको ख्याल गर्नुपर्छ :

  • चक्कर लाग्नु वा बेहोस हुनु
  • वाकवाकी वा उल्टी हुनु
  • टाउको दुख्नु
  • सास फुल्नु र मुटुको धड्कन बढ्नु
  • अत्यधिक तिर्खा लाग्नु
  • असामान्य रूपमा गाढा पहेंलो पिसाब हुनु तथा कम पिसाब लाग्नु
  • बच्चाहरुको व्यवहारमा अकस्मात् परिवर्तन आउनु

‘हिट स्ट्रोक’ एक आपत्कालीन अवस्था हो। यदि कसैलाई यस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्था लैजानु पर्छ :

  • बेहोस भए
  • चेत हराए
  • पसिना रोकिए



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell