घुम्न जाने हरेक योजनामा साथ दिनेहरुको लर्को लाग्छ। जानेको सूची देख्दा होटलमा त अटाइन्छ? प्रश्न पनि उठ्छ। अनि जब यात्रा निस्किने दिन नजिकिन सुरु हुन्छ – फुत्तफुत्त यात्रीको सूचीबाट आफूलाई अलग गर्नेक्रम बढ्छ। मेरा साथीहरुसँग मात्र ठानेको, सबैको पारा उही। यसपटकको यात्रामा पनि यही हुँदै थियो। साथीहरु घट्दै थिए। जति कम भए म उति नै बलियो हुँदै थिएँ – एक्लै भए पनि हानिने हो। त्यो पनि अलिक फरक शैलीले जुन सधैंका लागि रहोस् स्मरणीय।
मसँग यात्रामा साथ दिए ह्यारीले। ह्यारि केनका फ्यान उनको खास नाम चाहिँ हरि। हामी ह्यारी नै भन्छौं उनलाई। यात्राका लागि कोड वर्ड बन्यो – एड्भेन्चर ४९१९ (#adventure4919)। सुरु भयो ट्राभलका लागि सपिङ। बाइकको अरेन्जमेन्ट। जति धेरै यात्राका सरसामानको जोहो भयो, त्यही रफ्तारमा बढिरह्यो कौतुहलता। अझ भनौं प्रतीक्षा। व्यग्र।
यात्राको दिन बिहान ह्यारी र मेरो भेट धादिङको गल्छीमा भयो। हो त्यही हो ह्यास ट्याग एडभेन्चर४९१९ को न्वारन भएको। नजिकका केही साथीबाहेक अरुले हामी कहाँ जाँदैछौं भन्ने थाहा नपाउन् भनेर ह्यारीले नै कोड नेम बनाए।
हामीले जुन ह्यास ट्याग बनायौं त्यसको औचित्य हाम्रो यात्रा जति अगाडि बढ्यो उत्ति नै घट्दै गयो किनकि हाम्रा सोसल मिडिया पोस्टले हाम्रो गन्तब्य बताइसकेको थियो। हो, हामी मनाङको तिलिचो जाँदैछौं डर्ट बाइकमा। हाम्रो यो यात्रामा तपाईँलाई पनि स्वागत छ।
+++
सुरुमा जति जोश भए पनि मनमा संशय उत्तिकै।
‘साच्चै हामी तिलिचो पुग्न सक्छौं त?’ मेरो प्रश्न।
ह्यारी हाँसे।
‘एड्भेन्चर भनेको के हो अब हामीलाई थाहा हुन्छ।’
ह्यारीले जवाफ फर्काए। उनी यात्रा सहज हुनेमा निश्चिन्त देखिए।
मेरो मनमा चाहिँ द्वन्द्व चर्किरहेको थियो – डर र एक्साइटमेन्टको।
हामी दुई अलग अलग बाइकमा छौं। उनी हिरोको एक्स पल्समा छन् म क्रस फायरको ट्र्याकरमा। मनाङको थ्रिलिङ अफ रोडका लागि डर्ट बाइक हाम्रो रोजाइमा पर्नु स्वभाविक थियो।
आफैँले तय गरेको आइटिनरीअनुसार लमजुङमा लन्च। रोकियौं त्यसैका लागि।
‘सर यसमा त चाबी छैन त!’
पैसा निकाल्न एटीएमतिर के लागेको थिएँ ह्यारी चिच्याए।
चाबी छैन? चाबी नभई कसरी चल्छ बाइक?
नभन्दै बाइकमा चाबी रहेनछ। मोटरसाइकल भर्खरै हो स्टार्ट अफ भएको। चाबी कता झर्यो कसरी थाहा हुनु?
अब परेन आपत? यताउता खोजियो तर भेटिएन। चाबीसँगै मेरो भोक पनि गायव भइसकेको थियो। लमजुङ बेसी शहरमा हामीले धुइँधुइँती चाबी बनाउने ठाउँ खोज्यौं। अहँ छैन।
‘कस्तो ठाँउ यार यत्रो ठूलो बजारमा एउटा सानो चाबी बनाउने ठाउँ छैन। यहाँका मानिसले चाबी हराउँदा के गर्छन होला,’ ह्यारीले प्रश्नसँग उपाय पनि सुझाए,‘हामी एउटा चाबी बनाउने पसल खोल्नु पर्यो सर।’
‘हुन्छ। तर नाफा हुन्छ कि नाई?’ मैले सोधेँ।
हामी दुवै खिस्स हाँस्यौंमात्र।
समस्याले नै समाधानको बाटो पहिल्याउँछ भनेको सुनेको हो। यहाँ त्यही भोगियो। एउटा मोटरसाइकल वर्कशपले बाइकको ट्यांकीको बिर्को फुटाएर तेल हाल्न सकिने बनाइदियो। अनि डाइरेक्ट तार जोडेर स्टार्टको उपाय पनि।
बाइक स्टार्ट भयो।
+++
चाबी गुमेकाले पहिलो दिन मनाङ पुग्ने लक्ष्य बिथोलियो। बिचमा अलपत्र पर्नुभन्दा विकल्प सुझाएँ –‘घले गाउँ जाउँ।’
‘हुन्छ,’ ह्यारीको स्वरमा थकाई सुनियो।
मनाङको यात्रामा घलेगाउँ चाहिँ हाम्रा लागि 'भ्यालु एड'। बेसी शहरबाट ५ बजे गुडेका हामी दुई घन्टामा बास बस्ने ठाउँमा पुग्यौं। लोभलाग्दो हिमालका दृश्यले हामीलाई लगातार माथितिर तानिरह्यो।
घलेगाउँको होम स्टेमा बास। लोकल खाना। आमाहरुको मीठा गफ। प्रकृति र प्रेमको अनुभूति।
भोलिपल्ट बिहानको दृश्य फरक थियो। अघिल्लो दिनको जस्तो हिमाल देखिएन। गाउँ चाहिँ सुन्दर।
बिहान कोदोको सेल रोटी र मस्याङको तरकारी। यति सफ्ट कि मुखमा हाल्दा बिलाए झै लाग्ने। ‘इट इज भेरी टेस्टी,’ ह्यारी बोले।
उनले मीठो मानेर खाएको देख्दा मलाई पनि रमाइलो लाग्यो। यहाँको बसाई र खाना निक्कै सस्तो । खाए बसेको सबै गरी २१ सय रुपैयाँ मात्र।
+++
हामी बेसी शहरबाट ९ बजे मनाङको 'जर्नी'मा होमियौं। बेसी शहरबाट तलतिर झर्ने बित्तिकै सुरु भयो अफ रोड। फिदिममा पहिलो पटक सुरुङको यात्रा हुँदै थियो। जलविद्युत आयोजनाले बनाएको मोटरेवल सुरुङमार्गमा लाइट बालेर यात्रा हुँदो रहेछ।
‘कस्तो लाग्यो?’ ह्यारीको प्रश्न।
‘डर पनि लाग्यो। तर मेरो खुशीको सीमा छैन।’
मनाङको खाङ्सार पुगेर बाइक थन्काउने अनि तिलिचो बेस क्याम्पसम्म ट्रेक भ्याउने हाम्रो लक्ष्य।
‘अब हामी एकदम राम्रोसँग बाइक चलाउनुपर्छ। अफ रोड पनि डेन्जर छ।’
‘हस।’
‘हामी आज बेस क्याम्प जसरी पनि पुग्नु पर्छ है।’ ह्यारीले घुमौरो पारामा अफ रोडमा बाइक राम्रसँग तर छिटो पनि चलाउ भनेको भेउ पाएँ मैले। त्यसपछि कहिले ह्यारी अगाडि म पछिपछि, कहिले म अघिअघि हुँदै यात्रा अगाडि बढ्यो। केही समय सबै बाटो सामान्य नै लाग्यो। यत्तिकै बाटोलाई किन अफ रोड भनेका होलान्? मनमा प्रश्न उब्जियो।
मेरो प्रश्नको जवाफ सडक आफैँ दिन तयार रहेछ केही अगाडि।
नेपाली सेनाले पहरा चोइट्याएर बनाएको बाटो देख्दा लाग्यो - घर त फर्किन्न होला।
साँघुरो बाटो। डराई डराई भित्तातिर चेपेर बाइक लग्यो, माथिबाट आएर थिच्छ कि जस्तो लाग्ने। छेउतिर लग्यो कि भिर अनि धमिलो खोला ! तल झरिन्छ कि क्याहो? फेरि म कुनातिरै लहसिन्छु।
फर्किनेहरु पनि उत्तिकै छन्। कहिले छेउ त कहिले कुनामा अडिएर बाटो दिनुपर्ने। अनि त्यही जोखिमका दृश्यलाई कैद गर्न चाहने उत्तिकै। बल्ल बल्ल पुगेको ठाउँमा हरेक हालतलाई लेन्समा कैद गर्न कसले चाहन्न?
यस्तो डर र एक्साइटमेन्टको बिचमा देखिन्छ लोभलाग्दा झरना। एकैछिन अघि डर एकैक्षण गायव। रोकेरै हेरिरहन मन लाग्ने दृश्य। यस्तो बाटोमा मेरो पहिलो अनुभव। डर, त्रास, रोमाञ्चकता सबै एकै प्याकेज। डरलाग्दो सडक, मनमोहक झरना, सेता हिमाल। मन लागेको डिलमा रोकेर यस्तो क्षणको अनुभूति गर्दा कस्तो हुन्छ? - अफरोड बाइकरलाई थाहा हुन्छ। म त्यही वर्गमा उक्लिँदै थिए।
कहिले ढलान त कहिले ढुंगा छापेको सडक। बगरमा बालुवामाथि त कहिले जंगलको बिच धुलाम्मे सडक। कतै हिलम्मे त कतै बाक्लो बस्ती।
सुरुमा ह्यारी नजोडिँदा यात्रामा म एक्लो थिएँ। पछि हामी दुई भयौं। मनाङतिर लाग्न थालेपछि त कति हो कति हामीजस्ता। बाटोमा धेरै थिए हामीजस्ता बाइकमा मनाङ जानेहरु। उनीहरु पनि म जस्तै छिनमै डराउँदै र छिनमै रमाउँदै यात्रा गरिरहेका थिए।
‘कस्तो भइरहेछ ट्राभल?’
झरनाका दृश्य कैद गर्न रोकिएकाहरु सोध्थे, ‘रमाइलो भइरहेको छ नि?’
‘दामी छ,’ मेरो जवाफ।
मलाई पनि सोध्न मन लाग्यो। बाटो देखेर डर लागेन?
‘खत्रा छ यार। डरलाग्दो। तर यस्तो दामी रमाइलो भइरा’छ नि बाइकमा आउनुको मज्जा छुट्टै।’
ह्यारी मभन्दा निक्कै अगाडि भइसकेका रहेछन्। उनलाई मैले चामे पुग्नुभन्दा अगाडिमात्रै भेटेँ। उनले त्यहाँ एकजना नर्सलाई लिफ्ट दिन पनि भ्याएछन्। म पछिपछि हुँदा उनलाई यात्रामा साथ मिलेछ।
चामे पुगेपछि बाटो आधा भयो। पेटपूजा र मोबाइल चार्ज दुवै गरियो। त्यसपछि हाम्रो कठिन यात्रा सहज बन्न थाल्यो। चामेबाट माथि सडक तलतिरजस्तो डरलाग्दो थिएन।
सेता हिमालको छेवैबाट रहेछ बाटो। अनि धुलाम्मे हुने बाटो पनि। मनाङमा पुगेपछि हिमालका टुप्पोमा सेता हिउँ देखिन थाल्यो। जंगलको बिचमा सडक। यी दृश्यहरु मेरो लागि गजबको अनुभूति गराउने थिए। सिनेमाका सिनमा मात्र देखिएका दृश्य मेरैसामु थिए। म तिनै 'सिन' सम्झिँदै रमाइरहेँ। म यस्ता ठाउँमा टक्क अडिने। भुलिहाल्ने।
ह्यारी चाहिँ छिटो जान चाहने। उनलाई थाहा थियो मेरा रोकिने रहरले बेस क्याम्पसम्म पुर्याउँदैनन्।
‘छिटो गर्नुस् न।’
उनी चिच्याउँथे। मलाई उनीसँगै पुग्नु पनि छ। आँखाभरी छाएका दृश्यमा रमाउनु पनि छ। अनि कैद गर्नुछ ती क्षणहरु। ह्यारीले झस्क्याएपछि म सतर्क भएँ। समय मेरा रहरका लागि रोकिन तयार छैन। म एक्सिलेटर बटार्छु, बाइक हुइँकिन्छ।
बेलुका ४ बजेर ३५ मा खाङसार। यहाँभन्दा माथि गाडी र बाइकलाई नो इन्ट्री।
बाइकिङको अनौठो अनुभूति बोकेर अब यात्रा सुरु भयो पैदल। हावामा अक्सिजन पातलिएको अनुभव भयो।
‘गार्लिक सुप’
ह्यारीले अर्डर गरे। हाइ अल्टिच्युडमा सक्दो झोलिलो खानुपर्छ। हामीले खाङसारको होटलमा खाजा खाएर बाइक छाड्यौं। अति आवश्यक बाहेकका ब्यागेजलाई थन्क्यायौं।
‘हामी बेस क्याम्प आज पुग्छौ त?,’ ह्यारीले होटलवालालाई सोधे।
‘पुग्न त पुगिन्छ। अब हजुरहरु कत्तिको हिँड्न सक्नुहुन्छ? रात पर्न लागिसक्यो। केही भयो भने बाटोमा कोही हुँदैन।’
होटलवालाको जवाफमा सम्भावना र त्रास दुवै सुनियो। त्यसपछि मेरो मन आत्तियो।
‘आज यतै बसेर भोलि जाउँन त,’मैले सुझाएँ।
‘हैन सकिन्छ। किन डराएको?,’ ह्यारीले भने।
+++
ह्यारीले ७ बजेसम्म माथि पुगिसक्ने बताए। तिलिचोसम्म पुग्ने जोशमा हिँडेका हामी बेसक्याम्प पुग्नमै आत्तिएर किन हुन्थ्यो? तिलिचो पुग्ने जोशले हाम्रो थकाई गायव थियो। हामी रुक्स्याक भिरेर दुवै हातमा पानीका बोतल र लौरो समाएर अघि बढ्यौं। होटेलका दाइले बेलाबेलामा पानी पिइरहन सुझाएका थिए। नत्र यात्रा जोखिमपूर्ण हुने उनको चेतावनी थियो - डिहाइड्रेसनका कारण।
बाटोमा तलतिर झर्नेहरु धेरै। उक्लिने चाहिँ हामी दुईमात्र। एक जना बङ्लादेशी माथिबाट झर्दै रहेछन्।
‘कहा तक जानेका इरादा हे?’
ह्यारीले भने, ‘हमको बेस क्याम्प पुग्नेका हे।’
उसले बेस क्याम्प पुग्न मुस्किल हुनसक्ने सुनायो। ह्यारीले ९ बजेसम्म पुगिसक्ने जवाफ फर्काए।
‘जल्दी जल्दी करके जाओ। हो सकेतो पानी बहुत पिना।’
डराउनका लागि मलाई उसका कुरा पर्याप्त थिए। डराएको थिएँ तर ह्यारीलाई भनिन्। बाटोमा एकोहोरो लागिरहेँ।
केही अघि मात्रै ग्रेग्रनसहितको बाढीले बाटो बन्द भएको ठाउँमा पुगियो। सोसल मिडियामा भाइरल भएको त्यस ठाउँको नाम थाहा भएन। त्यहाँ यति मात्र लेखिएको देखियो - दिस प्लेस इज भेरी डेन्जरस।
मनाङको सबैभन्दा जोखिम र छिनछिनमा पहिरो आइराख्ने ट्रेलमा यात्रा सुरु भयो। झिसमिसे साँझ। चराहरु गुढ फर्किरहेकाले होलान्, चर्को आवज निकालिरहेका। अनि माथितिरबाट माटो झरिरहेको आवज एउटा भित्ताबाट अर्को भित्ता ठोक्किँदै मेरा कानसम्म गुन्जिए।
‘सर कस्तो डेन्जर बाटो, कसरी जाने रात परिसक्यो?’ अति भएपछि म रोकिन सकिन् र बोलेँ।
ह्यारी हाँसे। भने, ‘कति डराको सर हाम्रो ह्यास ट्याग एडभेन्चर ४९१९ यही त हो नि।’
त्यो ढुंगा खसिरहने पहिरोको बाटो पार भयो। तर, एक ठाउँमा झन्डै मलाई ढुंगाले लागेको। ह्यारी र मकेही दुरी बनाएर हिँडेका थियौं। माथिबाट ढुंगा आएको ह्यारीले देखेछन्। मलाई सजग बनाइहाले। धन्न बचियो।
उनले भने झै हामी ९ बजे बेस क्याम्प पुग्यौं। बल्ल मलाई सास आएजस्तो भयो। थकाई कति लागेको थियो, नसोध्नुस्।
+++
तिलिचो जान यहाँ बाट ३ देखि ४ घन्टा लाग्ने रहेछ। हामी बेस क्याम्पबाट बिहान ५ बजे निस्कियौं। बिहान मोबाइलको टर्च लाइट बालेर यात्रा सुरु भयो। घाम झुल्किँदा हामी आधा बाटोमा पुगेका थियौं। घामको किरणले हिमाललाई स्पर्स गर्दाका दृश्य म यहाँ बयान गर्न सक्दिन।
आई जष्ट लब्ड इट।
बेस क्याम्पबाट सबै यात्रु एउटै समयमा हिँड्ने भएकाले अब हामी दुईजना मात्र थिएनौं। बाटोमा पर्ने २२ घुम्तीकटेपछि तिलिचोको बेस आउँदो रहेछ। सबेरै हिँडेकाहरु यहाँ पुगेर सँगै लगेको ब्रेकफास्ट लिने रहेछन्। यहाँसम्म आइपुग्दा ह्यारीमा परिवर्तन देखिन थाल्यो। उनी जतिखेर पनि हौस्याउँदै हिँडेका थिए। यहाँबाट उनलाई गाह्रो हुन थाल्यो। उनले गन्तव्यसम्म पुग्ने लक्ष्यलाई लगभग 'ड्रप' गर्ने मनस्थिति बनाइसकेका रहेछन्। तर, फेरि हिम्मत कायमै राखे। यहाँसम्म आइपुग्दा धेरैलाई लेक लाग्ने रहेछ।
+++
जसो तसो हामी तिलिचो पुग्यौं। ओहो ! कस्तो फरक दृश्य। मानौं म बेग्लै ग्रहमा पुगेँ। पहिलो पटक हिउँसँगको साक्षात्कार मेरो।
‘ओह माई गड’
चारै तिर हिउँका थुप्रा। पोखरीधरी हिउँले भरिएको। नीलो आकाश। चम्किलो घाम। घामको रापले पग्लिँदै गरेका हिउँ। चराहरुको झुन्ड हामी नजिकै उडिरहेका। लाग्यो हामी र आकाशको दुरी थोरैमात्र छ अब।
म यिनै दृश्यहरुमा रमाउँदै थिएँ। ह्यारी भने मस्त निन्द्रामा।
रातदिन भागदौडको जिन्दगी चटक्क बिर्सेर म रमाइरहेँ। यस्ता सुकुनका क्षणहरु सायदै मिलिरहने छ जीवनमा। मसँग त्यतिखेर कुनै चिन्ता छैन। केबल म यहाँ प्रकृतिसँग रमाइरहेको छु सबै भुलेर। त्यतिमात्र होइन यहाँ मलाई फोटो कैद गर्ने रहर लागेन। न भिडियो खिच्न नै। मेरो मनमा प्रकट भएका सन्तोषलाई लेन्सले कसरी कैद गर्न सक्छ? मेरो आँखाले देखेका कुराबाट मिलेको आनन्द भिडियो वा फोटोले व्यक्त गर्न सकोस कसरी?
स्वर्ग हुन्छ भने सायद यही हो – मैले ठम्याएँ। किनकि यहाँ पुगेपछि पीडाको औषधि मिल्यो। मैले भोगेका पीडा त सबै विलिन् भए यहाँ। मनमा मल्हम लगाए झै भयो। म तिलिचोमा फेरि फर्किने बाचा गरेँ।
+++
हामी तलतिर ओर्लिन थाल्यौं। माथि खुला आकाशको रमाइलो अनुभूति लिएका हामी बेस क्याम्पतिर झर्दा हिउँ फुसफुसाउन थाल्यो। ओहो खुशी वर्षिदो पो रहेछ त ! बेस क्याम्पमा पुगेर सुप खाएर आराम गर्न थालियो। मोबाइलमा दृश्यहरु हेर्दै थिएँ कतिबेला निदाएछु पत्तै भएन।
ह्यारीले झक्झक्याएपछि मात्रै ब्युझिएँ। बेलुका खाना तयार भएछ।
ला बर्बाद ! केही देखिन्न त !
मैले राम्ररी आँखा उघारेँ। तर, केही देखिन्न। म आत्तिएँ। सुत्ने बेलासम्म केही भएको थिएन उठ्दा सब अन्धकार। आँखामा भत्भती पोलिरहेको रहेछ। सामुन्ने रहेका ह्यारीलाई पनि देखिन।
‘सर केही देखिँदैन त। बत्ति छैन हो?’
‘नजिस्किनु न यार। रात नै परेको छैन। कहाँबाट बत्ती बाल्ने हो र?’
झन् तनाव। आफुलाई नियन्त्रण गर्न खोजेँ। सकिन। लाग्यो मेरो आँखा गयो। अब कसरी घर जाने? कसरी खाने? कसरी बस्ने?
चिन्ताले एकपछि अर्को गरी प्रश्न तेर्सिन थाले।
आँखाबाट लगातारआँशु आउने र पोल्ने।
‘सर मलाई यतै कतै खसाल्देर जानुस् है’ भनेछु।
त्यसपछि ह्यारी पनि आत्तिए। होटलका भाइलाई सहयोगका लागि गुहारे उनले।
‘दाइले माथि चस्मा लगाउनु भएको थिएन हो?’
ह्यारीले ‘हो’ भने।
‘दाइको आँखा हिउँले खाएको हो। अब २४ घन्टासम्म यस्तै हो। ओड्नीले मुख छोपेर सुत्नु।’
२४ घन्टामा ठीक हुन्छ भनेपछि मेरो मस्तिकले काम गर्न थाल्यो।
आँखा पोल्ने पीडा भने रातभरी चलिरह्यो। भोलिपल्ट आँखा पोले पनि देख्न सकिने भयो। हामी बेस क्याम्पबाट खाङ्सार पुग्यौं। मैले चस्मा लगाएर खाङ्सारदेखि लमजुङसम्म बाइक आफैँ चलाएँ।
लमजुङ आएपछि हाइवेमा बाइक चलाउने आँट मलाई आएन। लमजुङ मै एक रात बसेँ। ह्यारी काठमाडौं फर्किए।
आँखा अलि निको भएको जस्तै हुँदै गयो। आफ्नो अनुहार हेर्दा चिन्न गाह्रो। पूरै राता आँखा। अनुहारका छाला उप्किँदै गरेका। जोखिमको यात्रा, मस्ती र आँखामाथिको मार सबै खेप्दै मेरो एड्भेच्नर ट्रिपले विश्राम लियो।
काठमाडौं आएर यी शब्दहरु उतारिरहँदा ती रोमाञ्चक र सकसपूर्ण क्षणहरु मेरा लागि कहिल्यै नहराउने सुखद् स्मृतिमा रुपान्तरित भइसकेका छन्। मेरो यात्राकथा पढ्दै यहाँसम्म आइपुग्नुभयो भने मेरो सुझाव - हिमालतिर जाँदा मैलेजस्तै गल्ती नगर्नुस् है। हिउँको रिफ्लेक्सनबाट आँखा जोगाउनुस्।
(फोटोहरु : हरि गजुरेल)