कोलम्बियाका सैनिकले मे १ मा दुर्घटना परेको विमानमा सवार ४ जना नावालकलाई ४० दिनपछि फेला पारेका छन्। घना जंगलमा हराइरहेका उनीहरु १३, ९ र ४ वर्षका थिए भने एक जना १२ महिनाका।
अलजजिराका अनुसार चारैजना कोलम्बियन जंगलमा सकुशल फेला परेका हुन्। कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले उनीहरु घना जंगलमा भेटिएको जनाएका छन्।
फेला परेका नावालक सबैआदिवासी समुदायका हुन्। उनीहरु दुर्घटनामा परेको विमान नजिकै भेटिएका हुन्। जंगलको बिचमा विमान दुर्घटनामा परेको थियो। सात यात्रुलाई लिएर उडेको विमान इन्जिन खराब हुँदा मे १ मा दुर्घटनामा परेको हो। पाइलट, नावालकहरुकी आमा सहित तीन जनाको विमान दुर्घटनामा मृत्यु भएको थियो। घटनामा चार जना भने बाँच्न सफल रहे। उनीहरुलाई आज बिहान राजधानी बोगाटा ल्याइएको छ। उनीहरुको उपचार जारी छ।
आफन्त गुमाएको पीडामा रहेका नार्सिजो मुकुट्यु आफ्ना तीन नातिनी र एक नाति सकुशल भेटिँदा खुशी छन्।
'हजुरबुवाका नाताले जंगलमा गायव भएका नातिनातिना भेटिँदा म निक्कै खुशी छु,' उनले भने।
कोलम्बियन सेनाले जारी गरेको तस्बिरमा मध्य जंगलमा उनीहरु देखिएका छन्।
'उनीहरु सबै सँगै थिए। निक्कै कमजोर देखिएका छन्। हेरौं चिकित्सकहरुले परीक्षण गरेपछि के आउँछ,' राष्ट्रपति पेट्रोले भनेका छन्। उनले नावालकहरु जंगलमा नै रहेको ट्विट केही दिन अघि गरेका थिए। पत्रकारहरुलाई उनले कलिला नानीहरुले जंगलमा बाँच्न संघर्ष गरेको समेत सुनाएका थिए।
यसअघि विमान दुर्घटनाको क्षेत्र पहिचान भएको थियो। कुकुर सहित सुरक्षा निकाय खोजीका लागि निस्किएको थियो। खोजीका क्रममा उनीहरुले जंगलमा सेल्टर लिनका लागि ठाउँ बनाएको समेत जनाइएको छ।